२०८१ बैशाख ३ गते , सोमबार

एकपटक पुग्नैपर्ने झापाका धार्मिक तथा पर्यटकीय स्थलहरु

sajilo news
पार्थ मण्डल
२०८० पौष १६ गते , सोमबार
एकपटक पुग्नैपर्ने झापाका धार्मिक तथा पर्यटकीय स्थलहरु

झापा । आजदेखि अंग्रेजी नयाँ बर्ष २०२४ सुरुवात भएको छ । जाडोयाममा अंग्रेजी नयाँ बर्षमा सुरु भएसँगै वनभोज (पिकनिक) जानेहरुको पनि लर्को नै लाग्छ । नयाँ बर्षमा पर्यटकीय र धार्मिक स्थल नै सर्वसाधारणहरुको पहिलो रोजाईमा पर्छ । कोशी प्रदेशको झापा जिल्ला पर्यटकीय र धार्मिक स्थलले देशभरमै परिचित छ । यसै सन्दर्भमा झापाका यी पर्यटकीय र धार्मिक स्थलमा एक पटक जानुपर्छ । यस्तो छ कारण र ती स्थलहरुको संक्षिप्त परिचय । 

अर्जूनधाराधाम :

पूर्वको पशुपतिनाथ भनेर परिचित झापाको अर्जुनधारा धाम अर्जुनधारा नगरपालिका- ७ मा रहेको छ । महाभारत कालमा पाण्डवलाई १२ वर्ष वनवास र एक वर्ष गुप्तवास भएका बेलामा राजा विराटका हजारौँ गाईलाई कौरवले हरण गरेर भारतको गुवाहटीमा पु¥याएका र त्यो बेला अर्जुनले अर्जुनधारा धाममा पानी निकालेर गाईलाई खुवाएको धार्मिक किंवदन्ती छ । पाँच बिघा क्षेत्रफलमा फैलिएको यस धाम परिसरमा नेपाली वास्तुकलायुक्त भएको प्यागोडाशैलीको शिवको मूल मन्दिर, अर्जुनवाण गङ्गा पोखरी, पञ्चधारा, संस्कृत वेद विद्यापीठ, पुष्पलाल स्मृति सन्त निवास, शिवकुटी विश्रामालय, श्रवण हल, धर्मशाला, किरियाशाला, छात्रावास, पुस्तकालय, गौशालालगायत विभिन्न मन्दिर छन् । यहाँ हरेक वर्ष शिवरात्रि र तीजको बेला धार्मिक मेला लाग्ने गरेको छ । 

कचनकवल स्तम्भ :

दक्षिणी झापाको कचनकवल गाउँपालिका-४ स्थित कचनकवल स्तम्भ नेपालको सबैभन्दा होचो भूभाग हो । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण कचनकवल स्तम्भ समुद्री सतहबाट ५८ मिटर उचाइमा रहेको छ । यो ठाउँ नेपाल भारत सिमानाबाट करिब ५०० मिटर दूरीमा पर्दछ । होचो पोखरीमा दलदलजस्तो देखिने जमिनलाई घेरेर तत्कालीन राजा वीरेन्द्र शाहले २०४४ मा १६ पुस कछुवाको आकृतिको जगमा स्तम्भ निर्माण गरेका थिए । अहिले गाउँपालिकाले त्यसको संरक्षण गर्दै माछा आकृति बनाएर कछुवाकोमाथि स्तम्भ ठड्याएको छ । होचो भूभागको संरक्षण र विकासका लागि गाउँपालिकाले २० करोड रुपैयाँको लागत अनुमानसहित ५ वर्षे गुरुयोजना बनाएको काम गरिरहेको छ । 

सतासीधाम :

सतासीधाम झापाको शिवसताक्षी नगरपालिकामा पर्ने एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो ।  हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान् विष्णुसँग गरिदिन आँटेपछि भागेर लुकेको ठाउँ भनी सतासीधामलाई लिने गरिन्छ । साथै पृथ्वीमा सुक्खा लागेपछि सतीदेवीले आफ्नो सय वटा आँखाबाट एकै चोटि अश्रुवर्षा गरी खोलो बगाउँदा तिनै देवीको नामबाट सतासी हुँदै सतासीधाम रहेको भन्ने धार्मिक विश्वास छ । यस स्थानमा प्राकृतिक मूर्तिका स्वरूपहरू, भित्तामा रहेका गाईका थुन आकारका प्रतीकहरू, सतासी खोलाको एक स्थानको बीच भागमा करिब २० मिटरभित्र मात्र निस्कने गन्धक–पानी, फेदीमा रहेका अन्य मूर्तिहरूले पनि यो स्थान धार्मिक र प्राकृतिक दृष्टिले रोमाञ्चकारी रहेको छ । यहाँ जाने भक्तजनहरू आफ्नो मनोकाङ्क्षा पूरा हुने विश्वासले पूजा आराधना गर्न जान्छन् । प्रत्येक वर्ष बालाचतुर्दशीको दिन शतबीज छर्नको निम्ति दर्शनार्थीहरुको घुँइचों लाग्ने गरेको छ । 

कीचकबधः

कीचकबध ऐतिहासिक धार्मिक स्थल भद्रपुर नगरपालिका ३ र ४ वडामा पर्छ । महाभारतकालीन किंवदन्ती अनुसार विराट राजाका सालो कीचक सेनापति थिए । पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूपमाथि कुदृष्टि राख्ने सेनापति कीचकलाई भीमसेनले मुड्क्याएर मारेको किंवदन्ती छ ।  सोही कथावस्तुलाई आधार मानेर यस ठाउँको नाम किचकबध राखिएको र पछि किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको नामकरण गरिएको हो । यहाँ हरेक वर्ष माघे शुल्क पूर्णिमा र स्वस्थानी व्रतका दिन किचकबध मेला लाग्दै आएको छ । यसको संरक्षणका लागि सरकारले १० वर्ष गुरुयोजना अघि बढाए पनि ओझेलमा छ ।

कनकाई धाम (कोटीहोम) :

झापाको करिब बीच भागबाट बग्ने कनकाई र माई नदी बग्नेलाई कनकाई धाम (कोटीहोम) भनेर  चिनिन्छ । यसलाई प्रसिद्ध धार्मिक नदीको रुपमा लिइन्छ । यस नदीमा पूजा गर्नेलाई आफ्नो मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । यसैको आधारमा यो नदीमा विभिन्न समुदायका मानिसहरू गई पूजा गर्ने गर्छन् । सुरुङ्गास्थित कनकाई नदी किनारमा माघे सङ्क्रान्तिको दिन वृहत् मेला लाग्ने गरेको छ । महेन्द्र राजमार्गको कनकाई पुल आसपासमा कोटीहोममा विभिन्न सम्प्रदायका हिन्दु मन्दिरहरू रहेका छन् । 

जामुनखाडी सिमसार क्षेत्र :

जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र कनकाई नगरपालिकाको डाँडागाउँमा अवस्थित छ । स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जामुनखाडी सामुदायिक वनभित्रको केही भूभागलाई सिमसार क्षेत्र घोषणा गरी पर्यटकीय स्थलको रुपमा विकास गरिएको छ । यो एउटा पर्यटकीय क्षेत्र हो ।  पूर्व–पश्चिम राजमार्गबाट उत्तर लगभग एक किलोमिटरको दूरीमा सिमसार ४ विगाह क्षेत्रको बीचमा रहेको लाम्चो आकारको पोखरी पर्यटक लोभ्याउने प्रमुख आकर्षणको विन्दु बनाइएको छ । आर्थिक आम्दानीलाई समेत मध्यनजर राख्दै पोखरीभित्र व्यावसायिक रुपमा डुङ्गा सञ्चालन गर्ने गरिएको र त्यहाँ भित्रनै माछा पालन समेत गरिएको छ । विश्वमै दुर्लभ मानिएको अजिङ्गर यहाँको अर्को आकर्षणको कारण हो । यहाँ मृग, जरायो लगायतका जीवजन्तु आदि यहाँका गहना हुन् । जुन हेर्न कै लागि पनि पर्यटकहरू आउने गरेको छन ।

कृष्ण थुम्की :

झापाको मेचीनगर नगरपालिकामा रहेको धार्मिक एंवम पर्यटकीय स्थान भनेर कृष्ण थुम्कीलाई चिनिन्छ । जिल्लाको सुदूर उत्तर पूर्वी बाहुण्डाँगीमा कृष्ण थुम्की रहेको छ । महेन्द्र राजमार्गबाट करिब १८ कि.मि उत्तर जाँदा पुगिने यस पवित्र धार्मिक स्थलको पूर्वमा तिरिङ्ग खोला र पश्चिमका करिब ६०० मिटरको दुरी जाँदा निन्दा खोला भेटिन्छन् । समुन्द्री सतहबाट ४७० मिटर उचाइमा रहेको यस थुम्की शीर्ष भागमा भगवान् श्री कृष्णको मन्दिर स्थापना गरिएको छ । जहाँ श्री कृष्ण जन्माष्टमीका दिन भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ । 

पाउँ पाथीभरा मन्दिर :

झापाको मेचीनगर नगरपालिकास्थित चारआली नजिकै पाउ पाथीभरा मन्दिरको स्थापना गरिएको छ । सैनिकको ब्यारेकको उत्तर पश्चिमपट्टि रहेको एउटा अनौठो रुखको फेदमा गएर माटो समाई मन्त्र उच्चारण गर्दा त्यही ठाउँमा मात्रै वर्षा भएपछि उक्त ठाउँ देवीको शक्ति भएको भन्दै जनविश्वासको आधारमा पाउ पाथीभरा मन्दिरको स्थापना गरिएको हो । चाराआली भएर इलामको सानो पाथीभरा र ताप्लेजुङको ठुलो पाथीभरा मन्दिर जाने गरिन्छ । भक्तजनहरूलाई पहाडी जिल्ला जान समस्या भएपछि झापामै पाथीभरा देवीको मुर्ति राखेर पाउ पाथीभरा मन्दिरको स्थापना गरिएको स्थानीयहरू बताउँछन् । यस मन्दिरमा दर्शन गर्न अहिले भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ । 

चन्द्रगढः

तत्कालीन चन्द्रगढी गाविस हाल भद्रपुर नगरपालिकास्थित चन्द्रगढ एउटा ऐतिहासिक तथा पर्यटकीय क्षेत्र हो । ६२ बिगाहा जमिनमा श्री ३ चन्द्र शमशेर आई सैनिक किल्ला कायम गरी भौतिक रुपमा गढ निर्माण गरी सानो भवन, सिसाको इनार निर्माण गरिएको र हाल उक्त इनार भग्नावशेषको रुपमा पाइन्छ । हाल उक्त स्थानमा गौशाला र लक्ष्मी नारायण मन्दिरको निर्माण गरिएको छ । जसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय पालिका लागि परेको छ । चन्द्रगढमा स्थानीय पर्यटकहरू वनभोज खान पनि त्यहाँ जाने गरेको छ ।  

भेलागुडी सिमसार क्षेत्र :

झापाको भद्रपुर र बिर्तामोड नगरपालिका तथा हल्दिबारी गाउँपालिकाको सिमाना जोडिएर भेलागुडी सिमसार क्षेत्र बनाइएको छ ।  हल्दिबारी गाउँपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पाँच वर्ष अघि भव्य मेलाको आयोजना गरी यस सिमसार क्षेत्रको उद्घाटन गरेका थिए । राजवंशी जातिको भाषामा भेलाको अर्थ भलायो प्रजातिको रुख हो । जहाँ धेरै मानिसहरू भलायोको रुखमुनि भेला हुने गर्थे कुनै समय ।  यही समुदायको भाषामा राखिएको सिमसार क्षेत्रको नाम हो भेलागुडी । भेलागुडीमा पोखरी, काठको पुल, झोलुङ्गे पुल, विभिन्न सजावट बस्तुहरू रहे पनि सबै भन्दा रमाइलो हरियाली, मनमोहक दृश्य भएकाले यस ठाउँले जो कोहीलाई घुम्न जाँदा आनन्दित तुल्याउँछ । यस क्षेत्रको विकासका लागि गाउँपालिकाले बहु वर्षीय योजना बनाएर काम गरिरहेको छ । 

सुखानी पार्क तथा सालबारी :

शहीद उड्डयन पार्कले प्रचलित अर्जुनधारा नगरपालिका ९ र ११ को बीचमा रहेको सालबारी पार्क ऐतिहासिक पर्यटकीय गन्तव्यमा पर्छ ।  पञ्चायत अवस्थामा स्वतन्त्रताको आवाज उठाउँदा माई नगरपालिका नजिक सुखानी खोलामा तत्कालीन पञ्चायती शासकले हत्या गरिएको शहीदहरूको प्रतिमा पार्कमा रहेको हुँदा सालबारी पार्कलाई शहीद उड्डयन पार्कको रुपमा अगाडि सारिएको छ । सखुवाका बहुसंख्याक बिरुवा रहेको उक्त पार्कमा आन्तरिक पर्यटकको लागि पोखरी र वनभोज खानेहरूका लागि उत्तम स्थान हो । यसै पार्कसँगै नमुना सामुदायिक वन पनि अवस्थित छ । सालबारी पार्कभित्र कछुवा अध्ययन अवलोकनको लागि छुट्टै अनुसन्धान केन्द्र रहेको छ । नेपालमा पाइने लोपोन्मुख कछुवा विरिङ र टाङटिङ नदीमा रहने भएको हुँदा ती कछुवाहरूलाई भेला गरी संरक्षणका लागि यस पार्कमा राखिएको छ । 

दोमुखा : 

झापा शिवसताक्षी नगरपालिका गैंडेस्थित माई दोमुखा खासगरी पिकनिक स्थलको रूपमा पूर्वमै प्रसिद्ध छ । पिकनिकको समयमा यहाँ दैनिक सयौँ मानिसहरू आउने गरेका छन् । यो स्थानमा वैष्णव देवीको मन्दिर छ । यहाँबाट सबैभन्दा ठुलो सिँचाइ योजना कनकाई सिँचाइ प्रणालीको नहरको हेड निर्माण गरी नहर छुट्टाएर लगिएको छ ।  विस १९९० अगाडि कनकाई माई चुरे पर्वतबाट तराई निस्कँदा साँघुरो गल्छी भएको ठाउँमा सखुवाको रुख लडेर दुई मुख परेको अर्को सखुवाको रुखमा अड्किई फड्के पुलको आकार दियो । सो फड्केको उपयोग गरी मानिसहरू आवतजावत गर्दथे र त्यही दुई मुखे सखुवाको रुखबाट यो ठाउँको नाम दुई मुखे भन्दा भन्दै दोमुखा रहन गएको जनश्रुति छ ।

विराट पोखरी :

विराट पोखरी झापाको धार्मिक तथा पर्यटकीय महत्त्व बनेको स्थानको रुपमा परिचित छ । बिर्तामोड नगरपालिकामा रहेको विराट पोखर ऐतिहासिक पृष्ठभूमिमा आधारित छ । करिब सात वटा पोखरी रहेको यो क्षेत्रलाई महाभारतकालीन कथासँग जोडेर स्थानीयले विराट पोखर नामकरण गरेको इतिहास छ ।  महाभारतकालीन राजा विराटका गाई वस्तुहरूलाई पानी खुवाउन यो पोखरीको निर्माण गरिएको हो भन्ने जनविश्वास रहेको छ । यो पोखरी बिर्तामोडबाट ४ किलोमिटर दक्षिणमा एक बिगाहा क्षेत्रफलमा फैलिएको छ । यस पोखरीलाई ऐतिहासिक र धार्मिक पृष्ठभूमिका अतिरिक्त पर्यावरणीय महत्वका दृष्टिकोणबाट समेत हेर्ने गरिएको पाइन्छ । यस स्थानमा माछा पालन गरिन्छ । 

बाँसबारी : 

झापाको मेचीनगर नगरपालिका— ११ स्थित बाँसबारी सिमसार तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ ।  यस सिमसार तथा पर्यटन क्षेत्रमा वन्यजन्तु पुनर्स्थापना केन्द्र तथा विभिन्न जीवजन्तुको अवलोकन सकिन्छ । यस सिमसारले अन्य मौसममा भ्रमण र जाडोको मौसममा वनभोजका लागि आफ्नो छुट्टै पहिचान बनाएको छ । उक्त सिमसारलाई सङ्घीय सरकारले उत्कृष्ट एक सय पर्यटकीय क्षेत्रको सूचीमा समेत समेटेको छ । ५ हेक्टर जमिनमा फैलिएको यो क्षेत्रभित्र १ विगाह क्षेत्रमा ठुलठुला पोखरी बनाइएको छ । सिमसारको पोखरीलाई व्यवस्थित गरी बोटिङ राखिएको छ । पोखरीमा ट्रस्ट ब्रिज बनाइएको छ । फाउन्टेन, शिव मूर्ति, चिडियाखाना र गार्डेनले आन्तरिक तथा बाह्य पर्यटकलाई आफूतर्फ आकर्षण गर्ने गर्दछन् ।

दमक भ्यु टावर :

नेपालकै राष्ट्रिय गौरवको परियोजनाका रुपमा झापाको दमकमा धरहराभन्दा अग्लो ‘दमक भ्यु टावर’ निर्माण हुँदैछ । पर्यटकीय तथा व्यवसायीक प्रयोजनका लागि सरकारले ‘दमक भ्यु टावर’ निर्माण गरेको हो । यस टावरको निर्माण २०७६ असार २७ गतेबाट सुरु भएको थियो । ३० महिनाभित्र कार्य सम्पन्न गर्ने सम्झौताका साथ चिनियाँ कम्पनी सीजीआईईसी र आशिष् ओम साइराम जेभीले साझेदारीमा निर्माणको ठेक्का लिएर काम अघि बढाएको छ ।  भ्यु टावरको निर्माणमा रु एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ लाग्ने सम्झौता भए पनि पछि नौ प्रतिशत लगानी बढेर कूल लागत भ्याटबाहेक रु एक अर्ब ५० करोड ६३ लाख ८५ हजार नौ सय ६४ खर्च हुने सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले जनाएको छ । 


 

सम्बन्धित समाचार