बिर्तामोड उद्योग वाणिज्य संघको सदस्यमा खत्री उठ्ने
बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा ढुवानी व्यवसायी निर्मल खत्रीले उम्मेदवारी दिने भएका छन् । निर्वाचनको मिति नजिकिँदै गइरहेका बेला व्यवसायी खत्रीले सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् । व्यवसायी खत्रीले स्वतन्त्र रुपमा सदस्यमा उम्मेदवारी दिने बताए । आफूले बिर्तामोडमा वर्षौँदेखि ढुवानी व्यवसाय सञ्चालन गर्दै आएको भन्दै उनले यस क्षेत्रको प्रतिनिधित्व हुने गरी वाणिज्य संघको निर्वाचनमा उठ्न लागेको जानकारी दिए ।
सदस्यमा आफ्नो जीत सुनिश्चित रहेको भन्दै खत्रीले यस पटक व्यवसायी र बजारको हित हुने गरी काम गर्न सक्ने क्षमतावान् उम्मेदवारलाई भोट दिन सबैलाई आग्रह गरेका छन् ।यसअघि वाणिज्य संघमा चुनाव जितेर नेतृत्वमा आउनेहरूले व्यवसायीको हितमा कुनै पनि काम नगरेको व्यवसायी खत्रीको गुनासो छ ।
ढुवानी क्षेत्रका अर्का व्यवसायी हेमराज अधिकारीले वाणिज्य संघको निर्वाचनमा खत्रीलाई सबैको साथ सहयोग रहेको बताए । उनले ढुवानी व्यवसायीको प्रतिनिधिका रुपमा खत्रीलाई अघि बढाइएको बताए । व्यवसायी खत्री व्यावसायिकसँगै सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन मिति घोषणा भएसँगै चुनावी गतिविधि बढेको छ । संघका वर्तमान महासचिव अर्जुनकुमार मैनाली अध्यक्ष पदमा औपचारिक उम्मेदवार घोषणा भएपछि चुनावी मैदानमा छन् । त्यस्तै संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले पनि अध्यक्षमा उठ्ने तयारी गरिरहेका छन् । वाणिज्य संघको निर्वाचन फागुन १४ गते तय गरिएको छ ।