बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय
बालकुमारी घटनामा मृत्यु भएका परिवारलाई राहतस्वरुप १०-१० लाख उपलब्ध गराउने सरकारले निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहीको परिवारलाई राहतस्वरुप जनही दस लाख दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
त्यस्तै बैठकले घाइते भएकाहरूको सम्पूर्ण उपचार सरकारले गर्ने निर्णय गरेको छ। उपचारमा लाग्ने सम्पूर्ण खर्च गृह मन्त्रालय र अर्थ मन्त्रालयले निकासा गर्ने उनले बताइन्। घटनामा दर्जन जनाभन्दा बढी घाइते भएका थिए।
त्यस्तै सरकारले बालकुमारी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएको छ। प्रवक्ता शर्माका अनुसार गृह मन्त्रालयले बनाएको समितले निष्पक्ष छानबिन गर्ने र दोषीलाई कारबाही गरिने बताइन्। उनले यसखालका घटना घटना नदिन सम्बन्धित निकायलाई संयमता अपनाउन निर्देशन गरिएको बताइन्। त्यस्तै मृतक परिवारप्रति सरकारले संवेदनासमेत प्रकट गरेको छ।