२०८३ बैशाख १९ गते , शनिबार
अमेरिका पठाइदिन्छु भन्दै १४ लाख ९० हजार ठग्ने महिला पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै १४ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेका छन् । काभ्रेपलान्चोक बनेपा नगरपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-२६ सामाखुसी बस्ने ४६ वर्षीया पार्वती थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
थापाले एक जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक ३ लाख ५० हजार रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम लिई सम्पर्क विहीन भइन् । उनको बारेमा वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ समाखुसीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।