बालकुमारी घटना : प्रहरीले चलाएको गोली लागेर दुईजनाको मृत्यु, गृहले बनायो छानबिन समिति
दुईजनाको मृत्यु हुने ललितपुरको बालकुमारीमा भएको प्रदर्शन र झडप प्रकरणबारे छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) लालमणि आचार्यको संयोजकत्वमा समिति बनाइएको गृह मन्त्रालयले जनाएको छ।
उक्त समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य रहेका जनाइएको छ। समितिलाई ७ दिनभित्र सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन पेश गर्न भनिएको छ ।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको छ।
शुक्रबार ललतिपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए।
उनले आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका क्रममा निधन भएको बताए। निधन हुनेहरुमा सुर्खेतका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको बताए।
वीरेन्द्र साहको ठेगाना भने डोटी वा अछाम भन्ने स्पष्ट भइनसकेको उनको भनाइ छ। प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए। भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा२झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरुले गाडीमा आगजनीसमेत गरेका थिए।