झापामा किर्ते नागरिकता र ज्यान मुद्दाका फरार तीन प्रतिवादी पक्राउ
किर्ते नागरिकता, सवारी ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका तीन प्रतिवादी पक्राउ परेका छन् । झुटा विवरण पेस गरी नेपाली नागरिकता बनाई दिए/दिलाएको मुद्दामा दमक नगरपालिका-५ घर भई हाल मेचीनगर नगरपालिका-१ बस्ने ३८ वर्षीय पुष्पलाल भन्ने पुष्प अधिकारी बिहीबार पक्राउ परेका हुन् । उनलाई २०७८ मङ्सिर १३ गतेको फैसला अनुसार २ वर्ष कैद र रु १ लाख जरिवाना फैसला भएकोमा सो फैसलालाई उच्च अदालत विराटनगर इलाम इजलासबाट समेत २०८० जेठ २४ मा सदर भएको थियो ।
त्यस्तै सवारी ज्यान मुद्दामा कचनकवल गाउँपालिका-४ बस्ने ४७ वर्षीय साजनलाल भन्ने अर्जुनलाल राजवंशी पनि बिहीबार नै पक्राउ परेका छन् । उनलाई २०७९ पुस २५ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा ४ वर्ष कैद र रु. ५२ हजार जरिवाना सुनाइएको थियो ।
त्यस्तै ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका दमक नगरपालिका-३ घर भई हाल सोही नगरपालिकाको-२ बस्ने २३ वर्षीय शम्भु लिम्बू बुधवार पक्राउ परेका छन् । उनलाई २०८० असार २९ गतेको फैसला अनुसार ज्यान मार्ने उद्योग मुद्दामा ३ वर्ष कैद र रु ३० हजार जरिवाना सुनाइएको थियो । तीनै जनालाई पक्राउ गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।