मेचीनगरमा इन्डक्सन चुल्हो वितरण सुरु
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा विद्युतीय खाना पकाउने (इन्डक्सन चुल्हो) वितरण कार्य बिहीबारदेखि सुरु भएको छ । इन्भाइरोमेन्ट प्रोडक्सन सेन्टर नेपाल (इपिसि)को सहयोगमा वितरण हुने उक्त अभियानको उद्घाटन आज एक कार्यक्रमका बिच संविधान सभा सदस्य रविन कोइरालाले गरेका हुन् ।
मेचीनगर ८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको सभा हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य कोइरालाले आफ्नै देशमा भएको स्रोत साधनको उच्चतम प्रयोग अहिलेको आवश्यकता रहेको भन्दै विद्युतीय चुल्होको प्रयोग गर्नु राम्रो कार्य रहेको बताए । साथै विद्युत् उत्पादन गर्न सक्ने क्षमता नेपालमा पर्याप्त रहेका बताउँदै उनले विद्युतीय चुल्होको प्रयोग उपयुक्त र प्रभावकारी हुने बताए ।
इपिसि नेपालले मेचीनगर क्षेत्रमा रहेका दुर्गेश्वरी कृषि सहकारी संस्था ली र संजिविनी महिला विकास संस्था मार्फत मेचीनगर ८ र ९ नं वडाका ४ सय घरलाई इन्डक्सन चुल्हो वितरण कार्य आजदेखि सुरु गरिएको दुर्गेश्वरी कृषि सहकारी संस्थाका कार्यवाहक अध्यक्ष सन्तोष मेचेले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा आएको ४ सय इन्डक्सन चुल्हो मध्ये मेचीनगर ८ मा २ सय र ९ नं मा २ सय गरेर वितरण गरिने छ ।
बजार मुल्य १३ हजार ५ सय पर्ने इन्डक्सन चुल्हो, आवश्यक कुकर, कराई र प्लक समेत २ हजार ५ सयमा वितरण गरिरहेको सहयोगी संस्था इपिसि नेपालका रामप्रवेश शाहले बताए । उनले उक्त वितरण गरिएको इन्डक्सन चुल्हो प्राप्त गर्न अनिवार्य १६ एम्पियरको विद्युत् हुनुपर्ने बताए ।
दुर्गेश्वरी कृषि सहकारी संस्थाका सचिव रेवन्तराज पोख्रेल (अर्जुन) ले सञ्चालन गरेको उद्घाटन सत्रको कार्यक्रममा प्रमुख अतिथि कोइरालासँगै मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार विकास संयोजक चित्र धिमाल, पूर्व कार्यपालिका सदस्य टीका मग्रांन्ती, काँकडभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका उपाध्यक्ष गोविन्द गिरीलगायतको आतिथ्य रहेको थियो ।