२०८३ बैशाख १९ गते , शनिबार

पत्रकार महासंघ झापाको स्थापना दिवस : संस्थापकहरूलाई सम्मान, उपचार कोषमा ९ लाख संकलन

sajilo news
झापा
२०८० पौष ९ गते , सोमबार
पत्रकार महासंघ झापाको स्थापना दिवस : संस्थापकहरूलाई सम्मान, उपचार कोषमा ९ लाख संकलन

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवस सोमबार बिर्तामोडमा मनाइएको छ । कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेको कार्यक्रममा महासंघ झापाको संस्थापक कार्यसमितिलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा विभिन्न दाताहरूले महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई नगद तथा चेक हस्तान्तरण गरेका थिए । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका संस्थापक समितिका सचिव तथा पूर्व अध्यक्ष तारा बराल, संस्थापक समितिका सदस्य तथा पूर्व अध्यक्ष गोविन्द चन्द क्षेत्री र संस्थापक कार्यसमिति सदस्य मोहन ढुङ्गानालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । ढुङ्गानाको सम्मान उनका छोरा पूर्व पत्रकार देवेन्द्रकिशोर ढुङ्गानाले ग्रहण गरेका थिए ।  सहभागी सबैले सामूहिक रुपमा दीप प्रज्ज्वलन गरी महासंघको ३५औं स्थापना दिवसको उत्सव मनाएका थिए ।

कार्यक्रममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवम् मुलुकमा परिवर्तनका लागि पत्रकार महासंघ झापाले निर्वाह गरेको भूमिकाको चर्चा गरिएको थियो । कार्यक्रमका वक्ताले नेपाली पत्रकारिताको इतिहासमा झापाली पत्रकारिताको स्थान र गरिमा उच्च रहेको भन्दै  पत्रकारहरूको छाता संस्था महासंघलाई कमजोर बनाउने खेल कतैबाट हुनु नहुने कुरामा जोड दिए ।

प्रमुख अतिथि उपसभामुख राना, पूर्व अध्यक्षहरुको तर्फबाट संस्थापक समितिका सचिव समेत रहेका बराल र सामाजिक संघ–संस्थाका तर्फबाट एकका लागि एक अभियानका सहसंयोजक तथा झापा गोल्डकपमा अध्यक्ष विनोद बस्नेतले शुभकामना व्यक्त गरेका थिए ।

उपाध्यक्ष केशव भट्टराईले औचित्यमाथि प्रकाश, उपाध्यक्ष सुशीला सङ्ग्रौलाले स्वागत गरेको कार्यक्रम सचिव डिकेश लामाले सञ्चालन गरेका थिए । सम्मानित व्यक्तित्वको सम्मान पत्र कार्यसमिति सदस्य स्वस्तिका आचार्यले वाचन गरेकी थिइन् । पत्रकार सहारा उपचार कोषका लागि उक्त कार्यक्रममा नौ लाख ११ हजार एक सय ११ रुपैयाँ जुटेको छ । छ लाख ३३ हजार एक सय ११ रुपैयाँ नगद तथा चेकबाट प्राप्त भएको छ भने विभिन्न दाताले कोषलाई दुई लाख ७८ हजार रुपैयाँ प्रदान गर्ने दाताले घोषणा गरेका छन् ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरू चिन्तामणि दाहाल, मोहन काजी, भीम नेम्वाङ, तारामणि सापकोटा, महासंघ तेह्रथुम शाखाका अध्यक्ष अमृत बास्तोला लगायत पत्रकारका संघ–संगठनका प्रमुख–प्रतिनिधि, सामाजिक तथा व्यावसायिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको आतिथ्य रहेको थियो ।

पत्रकार सहारा उपचार कोषमा एकै दिन जुट्यो ९ लाख बढी

पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा सोमबार एकैदिन नौ लाख रुपैयाँभन्दा बढी रकम जुटेको छ । सोमबार बिर्तामोडमा महासंघ झापाको ३५औं स्थापना दिवसको अवसर पारेर सामाजिक तथा व्यावसायिक क्षेत्रका दाताहरूले पत्रकारको सामाजिक सुरक्षाका लागि स्थापित उक्त कोषमा नगद तथा चेक प्रदान गरेका हुन् ।  कोषलाई एक करोड रुपैयाँ पुर्‍याउने लक्ष्यसहित महासंघले दाताहरूबाट सहयोग जुटाइरहेको छ । कोषको रकम लक्ष्यको नजिक पुगेको सो अवसरमा जानकारी दिइयो ।

उक्त कार्यक्रममा सामाजिक क्षेत्रमा क्रियाशील चारपानेका डिल्लीराम सिटौला, माया सिटौला र ध्रुव सिटौलाले परिवारको तर्फबाट एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरे । त्यस्तै चारपानेका सामाजिक व्यक्तित्व नारायण राजवंशीले एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् ।

सामाजिक अभियन्ता तथा व्यावसायिक क्षेत्रमा सक्रिय विनोद बस्नेतले एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ कोशीका उपाध्यक्ष कुमारमणि पोखरेलले एक लाख, वीरता जेसीजका पूर्व अध्यक्ष तथा हिमालय मेडिसिन सेन्टरका सञ्चालक यामकुमार खड्काले एक लाख, युवा व्यवसायी रौनक वंशलले एक लाख रुपैयाँ प्रदान गरेका छन् ।

चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमलीले ५० हजार रुपैयाँ प्रदान गरेका छन् । उनले यसअघि पनि कोषलाई ५० हजार रुपैयाँ प्रदान गरेका थिए ।

त्यस्तै मेची पेट्रोलियम डिलर्स एसोसिएसनका तर्फबाट अध्यक्ष नवीन कोइरालाले २५ हजार रुपैयाँ, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष सुरेश भद्रपुरेले २५ हजार, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवालले २१ हजार रुपैयाँ प्रदान गरेका छन् । मेची पेट्रोलियमले यसअघि कोषलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको थियो ।

कोषका लागि सामाजिक सेवामा सक्रिय व्यक्तित्वहरू भरतकुमार गिरीले ५१ हजार, जलकुमार गुरुङले ५१ हजार, कुमार गिरीले ५१ हजार, केदार गिरीले २५ हजार प्रदान गर्ने घोषणा गरेका छन् । केदार गिरीले यसअघि कोषमा ७५ हजार सहयोग प्रदान गरेका थिए । महासंघले केही समयभित्रै कोषलाई एक करोड पुर्‍याएर  कोषका दाताहरूलाई संस्थापक घोषणा गरी सम्मान गर्ने तयारी गरेको अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

पत्रकारको सामाजिक सुरक्षा र दिगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोग जुट्ने क्रम जारी छ । नागरिकलाई सुसूचित गराउन अहोरात्र खटिने  पत्रकारहरूलाई घाइते र बिरामी हुँदा उपचार खर्च दिने पत्रकार उपचार कोषको दाताहरूले प्रशंसा गरेका छन् । कोषको व्याजबाट पत्रकारहरू बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषलाई १ करोड पुर्‍याउन सहयोगका निम्ति महासंघले सबैमा अपिल गरेको छ । 

सम्बन्धित समाचार