झापामा चोरी र डाँका मुद्दाका तीन फरार प्रतिवादी पक्राउ
झापा । झापामा चोरी र डाँका मुद्दाका तीन फरार प्रतिवादी पक्राउ परेका छन् । डाँका मुद्दामा सजाय तोकिएर फरार रहेका मेचीनगर नगरपालिका- १४ बस्ने २९ वर्षीय प्रकाश राजवंशी र सोही ठाउँका ३२ वर्षीय मानिक राजवंशी पक्राउ परेका हुन् । उनीहरूलाई झापा जिल्ला अदालतको २०७९ फागुन १० गतेको फैसला अनुसार डाँका मुद्दामा जनही १ वर्ष कैद, रु १० हजार जरिवाना तथा पीडित राहत कोषमा २०० जम्मा गर्नुपर्ने सजाय सुनाइएको थियो । उनीहरू दुवैलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो ।
त्यस्तै चोरी मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका- १४ बस्ने २० वर्षीय कमल भन्ने भरत राजवंशी पनि पक्राउ परेका छन् । झापा जिल्ला अदालतको गत जेठ ३१ गतेको फैसला अनुसार चोरी मुद्दामा उनलाई १ महिना कैद, रु ५ हजार जरिवाना र पीडित राहत कोषमा २०० जम्मा गर्नु पर्ने सजाय सुनाइएको थियो । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । तीनै जनालाई झापा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।