भारतकी मिनाक्क्षीले गरिन् नेपालबाट विश्व भ्रमण यात्राको सुरुवात
विश्व शान्तिको उद्देश्यले भारतको आसामकी मिनाक्क्षी दासले विश्वका ६७ देशको भ्रमण नेपालबाट सुरुवात गरेकी छिन् । नेपालको धार्मिक एकता र बुद्धको भूमि विश्व सामु परिचत गराउने उद्देश्यले मोटरबाइक यात्राको सुरुवात नेपालबाट गरिएको उनको भनाइ छ ।
झापाको कनकाई नगरपालिका स्थित हेप्पिल्याड पार्कको आयोजनामा एक कार्यक्रमका बिच कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेल, पार्कका प्रबन्ध निर्देशक दिनेश सिलवालले संयुक्त रुपमा दासलाई स्वागत गरेका थिए ।
पार्कले यात्रालाई सहयोग स्वरूप १६ हजार आर्थिक सहयोग समेत प्रदान गरेको छ । मोटरसाइकल यात्री दासले नेपालबाट अथाह माया मिलेको र नेपाली धर्म संस्कृतिलाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउने बताइन् । उनले हेप्पील्याण्ड फनपार्कलाई विशेष धन्यवाद दिँदै नेपाली महिलाहरूलाई अभिप्रेरणा जगाउने काममा लागिरहन आग्रह गरिन ।
उनले विश्वका ६७ देशको यात्रा रुट आफूले अध्ययन गरेकाले यात्रा सफल हुने दाबी गरिन । १८ महिनामा विश्व भ्रमण सकी भारत फर्किने जानकारी दिइन् । एक्लो महिला विश्व भ्रमण गर्छु भन्ने आत्मविश्वासले देशबाट निस्कनु भएकी दास सबै महिलाका लागि प्रेरणाकी स्रोत बन्नुभएको नगर प्रमुख राजेन्द्र पोखरेलले बताए । यात्राको सुरुवात आफ्नो छिमेकी देश नेपालबाट त्यसमाथि झापाको सुरुङ्गालाई छनोट गरेकोमा धन्यवाद दिए ।
नगर प्रमुख पोखरेलले यस किसिमका भ्रमणले पर्यटन र धर्म संस्कृति विश्वसामु पु¥र्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनलाई स्वागत गर्न विश्व हिन्दु महासंघका प्रतिनिधि लगायत भारत स्थित गोरखपुरबाट उल्लेख्य रुपमा भारतीय नागरिकहरूको उपस्थिति रहेको थियो ।