रुसी सेनामा गएका थप एक नेपालीको मृत्यु, चार जना युक्रेनमा बन्दी
रुसी सेनामा भर्ती भएका थप एक नेपाली युवाको मृत्यु भएको छ भने ४ नेपाली युक्रेनमा बन्दी भएका छन्। रुसी सेनामा कार्यरत कुन्दनसिंह नागलको मृत्यु भएको हो। नागलको मृत्युसँगै रुसी सेनामा भर्ती भएका नेपालीमध्ये मृत्यु हुनेको संख्या ७ पुगेको छ। साथै युक्रेनमा ४ जना नेपालीलाई बन्दी बनाइएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ।
युक्रेनमा बन्दी बनाइएकाहरुमा बर्दिया राजापुर-१ का विवेक खत्री, काभ्रेपलाञ्चोक मन्डनदेउपुर-६ का सिद्धार्थ ढकाल, मोरङ लेटाङ-२ का विकास राई र रोल्पा रुन्टीगढी-८ का प्रतीक पुन रहेका मन्त्रालयले बताएको छ।
बन्दी बनाइएका आफ्ना नागरिकलाई रिहा गरी नेपाल फिर्ता पठाउन सरकारले युक्रेनी सरकारसँग अनुरोध गरेको छ। बन्दीहरुको रिहाइ र नेपाल फिर्तीका लागि अन्तरराष्ट्रिय रेडक्रस सोसाइटीलगायत अन्य माध्यमबाट कूटनीतिक पहल भइरहेको परराष्ट्र मन्त्रालयले दावी गरेको छ।
हमास-इजरायल युद्धका क्रममा हमासले बन्दी बनाएका कञ्चनपुरका विपिन जोशीको उद्धार गर्ने सरकारको प्रयास सफल नहुँदै फेरि अर्को युद्धग्रस्त मुलुकमा ४ नेपाली बन्दी बनाइएको सार्वजनिक भएको हो।
केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक कार्यक्रममै रुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती भएका र युक्रेनमा केही नेपाली बन्दी बनाइएका सूचना आएको भन्दै तथ्यांक संकलन भइरहेको बताएका थिए।
परराष्ट्र मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ती भइ मृत्यु भएका नेपालीको शव छिटोभन्दा छिटो नेपाल पठाउन अनुरोध गरिएको बताएको छ।
घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनसमेत अनुरोध गरेको सरकारले नेपाली नागरिकलाई सेनामा भर्ती नगर्न र भर्ना गरिएकालाई समेत नेपाल फर्काउन रुस सरकारलाई आग्रह गरेको छ।
परम्परागत रुपमा रहेका सम्झौताअन्तर्गत केही मित्रराष्ट्रको सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपालको नीति नरहेको स्पष्ट पार्दै मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपालीको संख्या, घाइते नेपालीको संख्या र उनीहरुको अवस्था बारेमा रुसी सरकारसँग आधिकारिक जानकारी उपलब्ध गराउन माग गरेको छ।