शिवसताक्षीमा घर नक्सा किर्ते प्रकरण : छानबिन गर्न काँग्रेसको माग
नेपाली काँग्रेस शिवसताक्षीले नगर प्रमुख मेघाहाङ थोप्रालाई ज्ञापनपत्र बुझाएको छ । पार्टी सभापति अशोक बस्नेत नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
नगरको घर नक्सा शाखाबाट प्रदान गरिएको सेवामा नगरबासीले प्रश्न उठाएपछि नगर समितिले ज्ञापनपत्र बुझाएको नेपाली काँग्रेस शिवसताक्षीले जनाएको छ । नगर प्रमुख मेघाहाङ थोप्रालाई बुझाउन गएको एक टोलीले उनको र नगर उपप्रमुखको अनुपस्थितिमा छानबिन समितिका सदस्य सचिव समेत रहेका प्रशासन प्रमुख डिल्ली नेपाललाई ज्ञापन पत्र बुझाएको पाटीका सचिव होम दुलालले बताए ।
शिवसताक्षी नगरपालिका घर नाक्सा पास प्रकरणमा चरम लापरबाही भएको ज्ञापन पत्रमा उल्लेख छ । विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा शिवसताक्षी नगरपालिकाको कालो कर्तुतहरू छताछुल्ल भएपछि छानबिनका लागि गठित २०८० जेठ ७ गतेको तीन सदस्य समितिको प्रतिवेदनलाई गुपचुप राखिनुले घटनालाई अर्के तर्फ मोड्न खोजिएको आशङ्का नेपाली कांग्रेसले गरेको छ ।
‘नगरपालिकाले निर्धारण गरेको राजश्व बमोजिम सेवाग्राहीले शुल्क तिरी कागजपत्र पेस गर्दा पनि घरधनीलाई घर नक्सा प्रमाणपत्र नदिनु, दिएका कतिपय प्रमाणपत्रहरू पनि नक्कली हुनु, कार्यालयमा रेकर्ड नराखिनु जस्ता अत्यन्तै गैर जिम्मेवारी र लापरबाही पूर्ण कदम हो भन्ने हाम्रो पार्टीको ठम्याई छ,’ ज्ञापन पत्रमा उल्लेख छ ।
घर नक्सा प्रकरणको सही र सत्य कुरा के हो निष्पक्ष छानबिन गरी पीडितहरूको गुनासोलाई तत्काल सम्बोधन गर्न नेपाली कांग्रेसले जोडदार माग गरेको छ । घर नक्सा प्रकरणमा संलग्नताको आरोप लागेका जो कोहीलाई पनि तत्काल निलम्बन गरेर स्वतन्त्र रुपमा छानबिनको प्रबन्ध मिलाउन नेपाली कांग्रेसले छानबिन समितिका सदस्य सचिव समेत रहेका प्रशासन प्रमुख नेपाल मार्फत नगर प्रमुखको ध्यानाकर्षण गराएको सचिव दुलालले बताए ।
संघीय व्यवस्थामा स्थानीय सरकारको अविश्वास र असक्षमता पुष्टि हुने गरी यस्ता प्रकारका गम्भीर त्रुटिहरू शिवसताक्षी नगरपालिका विभिन्न क्षेत्रहरूमा पनि हुने गरेको आरोप नेपाली कांग्रेसले लगाएको छ । ‘यस्ता घटनाले स्थानीय तहको ओज घटेको हाम्रो पाटीको ठम्याई छ,’ ज्ञापन पत्रमा भनिएको छ ।
शिवसताक्षी नगरपालिकाबाट हाल सम्म नियमानुसार घर नक्सा पास भएकाको रेकर्ड अविलम्ब पत्रपत्रिकाबाट सार्वजनिक गरी नगरवासीलाई सुसूचित गराउन पनि नेपाली कांग्रेसले माग गरेको छ ।
स्थानीय जनताको गुनासा दिनप्रतिदिन चुलिँदै जानुले शिवसताक्षी नगरपालिका जस्तो सरकारको आधारभूत अङ्गलाई विश्वासिलो पारदर्शी र जबाफदेही बनाउनको लागि नगर प्रमुखको कार्य कौशलतामाथि प्रश्न चिन्ह खडा भएको छ । ज्ञापन पत्रमा भनिएको छ,‘ नगरको समृद्धि र सुशासनमा रचनात्मक सहयोग पुर्याउने साथै बेथिति र ज्यादतीलाई निर्मम ढंगले हस्तक्षेप गर्न पनि नेपाली काँग्रेस पछि नपर्ने नेपाली कांग्रेसले जनाएको छ ।
यसैबिच नेपाली काँग्रेस शिवसताक्षीका सभापति अशोक बस्नेतले घर नक्सा प्रकरणमा जोडिएका जो कोही पनि दोषी नछुटुन् र निर्दोष नफसुन् भन्ने सिद्धान्तलाई आत्मसात् गर्दे नगरवासीलाई चाडै न्याय दिलाई नक्सा शाखालाई आधुनिक र व्यवस्थित गर्न माग गरेका छन् ।