२०८१ श्रावण २ गते , बुधबार

जलथल जङ्गलमा प्राङ्गारिक मल उत्पादन: मिचाहा प्रजाति नियन्त्रणसँगै आयआर्जन

sajilo news
झापा
२०८० मंसीर २७ गते , बुधबार
जलथल जङ्गलमा प्राङ्गारिक मल उत्पादन: मिचाहा प्रजाति नियन्त्रणसँगै आयआर्जन

जैविक विविधता व्यवस्थापन कार्यक्रमअन्तर्गत प्राङ्गारिक मल उत्पादन प्रभावकारी साबित भएपछि जलथल वनका उपभोक्ताहरू मिचाहा प्रजाति नियन्त्रणमा अग्रसर देखिएका छन् ।

मिचाहा प्रजातिबाट प्राङ्गारिक मल उत्पादन गरी त्यसबाट आयआर्जन गर्न सकिने भएकाले मिचाहा प्रजाति व्यवस्थापनमा उपभोक्ताहरूको रुचि बढेको हो । त्योसँगै प्राङ्गारिक मल उत्पादनबाट अर्ग्यानिक खेतीमा प्रोत्साहन र माटो सुधार हुने भएपछि उपभोक्ताहरूमा उत्साह थपिएको हो ।

जैविक , भौगोलिक , पारिस्थितिकीय प्रणाली तथा पर्यावरणीय र स्थानीय जीविकोपार्जनका हिसाबले महत्त्वपूर्ण हुँदाहुँदै जलथल वनको उचित व्यवस्थापन हुन नसकेपछि २०७६ असारदेखि जलथल जैविक विविधता कार्यक्रम सञ्चालन गरिएको छ । त्यसअन्तर्गतको एउटा क्रियाकलाप मिचाहा प्रजाति व्यवस्थापन सुरु भएसँगै जलथल वनमा वन व्यवस्थापनमा आधारित आयआर्जनका विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् । त्यसमध्ये प्राङ्गारिक मल उत्पादन भरपर्दो साबित भएको छ ।

प्याङ्ग्री लहरा , बनमाराजस्ता मिचाहा प्रजातिलाई हटाउने , तिनको लहरा र झ्याङ्गलाई प्राङ्गारिक मल बनाउने कार्यबाट धेरै फाइदा मिलेपछि प्राङ्गारिक मल उत्पादन कार्यक्रम विस्तार हुँदै गएको छ । जलथलको दियालो , विशाल , दशरथपुर , कमलधाप रामपोखरी, पाथीभरा, पाथीभरा कालिका र हरियाली सामुदायिक वनले प्राङ्गारिक मल उत्पादन गर्दै आएका छन् । जलथल बनका पाथीभरा कालिका, त्रिवेणी, हरियाली, कमलधाप रामपोखरी सामुदायिक वनहरूमा सञ्चालित यो कार्यक्रम अन्य सामुदायिक वनहरूमा विस्तार गरिएको हो । प्राङ्गारिक मल उत्पादनका लागि सहकार्य गर्न भद्रपुर नगरपालिका पनि तयार भएको छ ।

भद्रपुर नगर क्षेत्रभित्र रहेका सामुदायिक वन उपभोक्ता समितिहरूसँग वनको दिगो पुनर्स्थापना र जैविक विविधता संरक्षणका लागि नगरपालिकाले सहकार्य गर्ने भएको हो । भद्रपुर नगरपालिकाभित्र विभिन्न सात वटा सामुदायिक वन रहेका छन् । दशरथपुर ,दियालो , विशाल , कमलधाप , मायालु , काली मन्दिर र चन्द्रगढी सामुदायिक वन रहेका छन् । ती वनहरूले करिब साढे ११ हेक्टर क्षेत्रफल ओगटेका छन् । ती वनहरूमा प्राङ्गारिक मल उत्पादनका लागि नगरपालिकाले कार्ययोजना बनाएर काम गर्ने नगर प्रमुख गणेश पोखरेलले बताए । एउटा सामुदायिक वनले एक सिजनमा १० देखि १५ टन प्राङ्गारिक मल उत्पादन गर्दै आएको फरेष्टएक्सन नेपालका फिल्ड अधिकृत रवीन्द्र पुन मगरले बताए । जुन मल प्रतिकिलो ६ देखि १० रुपैयाँसम्म बिक्री हुन्छ । मगरका अनुसार केही सामुदायिक वनले विभिन्न कृषि फर्महरूलाई उत्पादित मल बिक्री गर्ने गरेका छन् भने केहीले आफ्नै उपभोक्ताहरूलाई वितरण गर्ने गरेका छन् ।

दियालो सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देउकुमार लिम्बू वर्षमा करिब ७ लाख रुपैयाँ तरकारी बेच्छन् । आफ्नै वनमा उत्पादित प्राङ्गारिक मल उनी प्रयोग गर्छन् । आफ्नो वनमा उत्पादित प्राङ्गारिक मलमध्ये ७५ प्रतिशत मल आफूले नै प्रयोग गर्ने गरेको उनले बताए ।

फरेष्टएक्सन नेपालको सहयोगमा कालिका पाथीभरा सामुदायिक वनमा तालिम लिएपछि दियालोका उपभोक्ताहरूले प्राङ्गारिक मल बनाउन थालेका थिए । प्राङ्गारिक मल उत्पादनले आयआर्जनमार्फत गरिबी न्यूनीकरणमा टेवा पुग्नुका साथै रासायनिक मलका कारण बिग्रिएको माटोमा ऊर्जा दिने गरेको बताए । ‘मिचाहा प्रजातिको झोडी फाँड्दै मल बनाउँदा राम्रो रोजगारीको सिर्जना भएको छ’उनले भने,‘ यसबाट धेरै फाइदा मिलेको छ ।’ वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले मिचाहा प्रजातिलाई समस्याको रुपमा मात्र नलिई आम्दानी र रोजगारको अवसरको रुपमा लिनुपर्ने बताए । वनको झाडी सफाइ गरी प्राङ्गारिक मल उत्पादन गर्दा बिरुवा पुनरुत्पादन सहयोग पुगेको उनले बताए । उनले प्राङ्गारिक मल उत्पादनमा लगानी र बजारीकरणको समस्या रहेको बताउँदै यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सके जैविक विविधता व्यवस्थापनमा ठुलो सहयोग पुग्ने धारणा राखे ।

जैविक विविधताले भरिपूर्ण जलथल वन हाल आएर बाह्य मिचाहा प्रजाति प्याङ्ग्री लहरा र बनमारालगायतको अतिक्रमणमा परेको छ। यसले एकातिर वनको वृद्धि विकास र पुनः उत्पादन घटाएको छ भने अर्कातिर बनको जैविक विविधतामा ठुलो असर पु¥याएको छ । यसको नियन्त्रण एउटा दीर्घकालीन प्रक्रिया हो र यसका लागि ठुलो श्रम र निरन्तरको प्रयासको आवश्यकता पर्दछ । मिचाहा प्रजाति नियन्त्रणको प्रयासलाई दिगो बनाउने उद्देश्यले मिचाहा प्रजाति समेतको बायोमास (जैविक पिण्ड) प्रयोग गरी प्राङ्गारिक मल बनाउन जलथलका सामुदायिक वन उपभोक्ता समितिहरूमा सुरुवात गरिएको हो ।
कृषिको आधुनिकीकरण र व्यावसायिकताको होडबाजीले रासायनिक विषादी र रासायनिक मलको अन्धाधुन्ध प्रयोगले माटोको जैविक, भौतिक र रासायनिक गुण दिनानुदिन क्षय हुँदै गइरहेको छ । हरेक वर्ष कृषिमा लागत मूल्य बढिरहेको छ । नेपालजस्तो निर्वाहमुखी देशमा कृषि प्रणालीको अत्यधिक कृषि लागत धान्न सक्ने स्थिति कम छ । जसले गर्दा साना तथा गरिब किसान पलायन हुँदैछन् ।

रासायनिक मल र विषादीले मानव स्वास्थ्य एवम् वातावरणलाई समेत नराम्रो असर पु¥याइरहेको छ । मानव अस्तित्व र वातावरणको रक्षार्थका लागि जैविक खेती र प्राङ्गारिक मलको महत्त्व बढ्दै गइरहेको छ ।
प्राङ्गारिक मल यस्तो जैविक तत्त्व हो जसले माटोको जैविक, भौतिक एवम् रासायनिक गुणको वृद्धि गर्दछ । यो सूक्ष्म जीवाणुद्वारा उत्पादित मल हो । यस मलमा रहेको लाखौँ करोडौँ सङ्ख्याको जीवाणुहरूले बिरुवालाई आवश्यक खाद्य तत्त्व बिरुवासम्म पु¥याउने कार्यमा सहजीकरण गर्दछन् । प्राङ्गारिक मलले माटोको उर्वराशक्ति र बालीनालीको उत्पादनमा निरन्तर वृद्धि गराउँदछ । यसले माटोमा गँड्यौला र सूक्ष्म जीवाणुहरूको वृद्धिमा मद्दत गर्दछ। बालीनालीमा रोग तथा किराको प्रकोप पनि कम गर्दै कृषिको लागत समेत कम गर्न मद्दत गर्दछ। यसले माटीमा कार्बनको मात्रा पनि बढाउँदछ। यो मल वातावरणमैत्री कृषि कर्मको स्वनिर्भरता र निरन्तरताका लागि पनि अपरिहार्य छ।

यस कार्यमा प्राकृतिक पुनरुत्पादन भएका र हुन सक्ने क्षेत्रमा रहेको मिचाहा प्रजातिको सफाइ गर्ने र सो सफाइबाट निस्किएको झाडीलाई प्राङ्गारिक मलको उत्पादनका लागि प्रयोग गर्ने गरिन्छ। मिचाहा प्रजाति फडानीमा उपभोक्तालाई प्रत्यक्ष रोजगारीमा जोड्न सकिएको छ भने प्राङ्गारिक मलको उत्पादनले थप व्यावसायिकतातर्फ उन्मुख गराएको छ। प्राङ्गारिक मलको विक्री वितरण गर्ने, आय आर्जनको बाटो सिर्जना भएको छ। गाउँघर, सहरमा प्राङ्गारिक मलको माग दिनप्रतिदिन बढिरहेको परम्परागत गोठे मल बनाउने तरिकालाई नै परिमार्जित गरी आधुनिक ढङ्गबाट प्राङ्गारिक मल बनाइएको हो । छोटो समयमा तयार हुनुका साथै बिरुवालाई चाहिने खाद्य तत्त्व गोठेमलको तुलनामा बढी रहने धेरै उपभोक्ताहरूले जनाएका छन्। जलथलका सामुदायिक वनहरूले उत्पादन गरेका प्राङ्गारिक मलमा सरकारले तोकेको मापदण्डभन्दा बढी खाद्य तत्त्व भेटिएको छ ।

हरेक सालको तालिम र अनुभवपश्चात् प्राङ्गारिक मल बनाउने कार्य अगाडि बढेको छ । झाडी सफाइबाट संकलित झारपातलाई मेसिनको सहायताले मसिनो गरी काटी, गोवर, गहुँत, खरानी र इएमलाई जोरनको रूपमा मिसाएर तहगत रूपमा मिलाएर राखी खाल्डो वा सतहमै थुप्रो बनाएर मल तयार गर्न सकिने दियालो वनका प्राङ्गारिक मल संयोजक पदमबहादुर तामाङ बताउँछन् । उनका अनुसार मल तयार हुन दुईदेखि तीन महिनासम्म लाग्न सक्छ। ‘हिउँद याममा बढी समय लाग्ने गर्दछ भने गर्मी याममा थोरै समयमा नै तयार हुन सक्दछ’ उनले भने,‘खाल्डो वा सतहको थुप्रोमा राखिएको मल एकदेखि डेढ महिनाको अन्तरालमा एक चोटि पल्टाउनु पर्दछ र पुनः एक महिनामा पल्टाइसकेपछि मल तयार हुन्छ ।’ यसरी पल्टाउनुको मुख्य उद्देश्य भनेको मलमा तापक्रम नियन्त्रण गर्नु अक्सिजनको मात्रा बढाउनु र कुहिन बाँकी रहेका बस्तु छिटो कुहाउन मद्दत गर्नु हो। यो प्रक्रियाबाट प्राङ्गारिक मल दुईदेखि तीन महिनासम्ममा तयार गर्न सकिन्छ । जलथलका सामुदायिक वनमा उत्पादन भएको जैविक मलको माग बढिरहेको छ । समूह तथा उपभोक्ताहरू यसबाट लाभान्वित भएका छन् ।

सम्बन्धित समाचार