गीत गाइरहेकी अभिनेत्रीमाथि अचानक बम खसेपछि...

काठमाडौँ । रुस–युक्रेन युद्ध करिब पछिल्लो दुई वर्षदेखि जारी रहेको छ । यो युद्ध कहिले समाप्त हुन्छ भन्ने कुराको जवाफ कोहीसँग पनि छैन । यसैबीच रुसी अभिनेत्री पोलिना मेनशिख मारिएको खबर आएको छ ।
रुसले जुन जमिनमा कब्जा गरेको छ, त्यहाँ पोलिना प्रस्तुति दिइरहेकी थिइन् । त्यही समयमा आकाशबाट खसेको बमले सबै स्वाहा बनाइदिएको छ । उक्त हवाई हमलामा ४० वर्षीया रुसी अभिनेत्री पोलिनाको मृत्यु भएको हो ।
नोभेम्बर १९ मा भएको आक्रमणमा युक्रेनले गरेको आक्रमणमा अभिनेत्री पोलिना मारिएको कुरा युक्रेन तथा रुस दुवैले निश्चित गरेका छन् । रुसी सैनिक अधिकृतले डोनेस्कको एउटा गाउँको स्कुल र कल्चरल सेन्टरमा हिमरास मिसाइलले आक्रमण भएको बताएका छन् । यो फ्रन्टलाइनबाट करिब ६० किलोमिटर टाढा थियो ।
युक्रेन हवाई आक्रमणमा कुनै पनि सैनिकको मृत्यु नभएको रुसी अधिकारी बताएका छन् । एक नागरिक मारिएका छन् । त्यस्तै युक्रेन कमान्डर रोबर्ट ब्रोवडीले पनि आफूहरूले हमला गरेको कुरा दाबी गरेका छन् ।
युक्रेनी कमान्डर भन्छन् – ‘हाम्रो हवाई आक्रमणमा २५ जना मानिस मारिएका छन् ।’ यति बेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा रुसी सैनिक बसिरहेका देखिन्छन् । अगाडि स्टेजमा पोलिना गिटार हातमा लिएर गीत गाइरहेकी थिइन् । त्यसपछि हवाई आक्रमण हुन्छ र सबै स्वाहा हुन्छ । यद्यपि उक्त भिडियोको बारेमा कसैले पुष्टि गरेको छैन । (एजेन्सीको सहयोगमा)