२०८३ बैशाख ३० गते , बुधबार

काँकडभिट्टामा स्रोत नखुलेको भारतीय रकमसहित एक पक्राउ, भद्रपुरमा पक्राउ परेका दुई जना त्यत्तिकै छुटे

sajilo news
झापा
२०८० कार्तिक २३ गते , विहीबार
काँकडभिट्टामा स्रोत नखुलेको भारतीय रकमसहित एक पक्राउ, भद्रपुरमा पक्राउ परेका दुई जना त्यत्तिकै छुटे

झापाको काँकडभिट्टामा स्रोत नखुलेको भारतीय रकम सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत ठानाचौक केबुल टोल बस्ने ६२ वर्षीय जैनुल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजना अनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार मेचीनगर– ६ स्थित भन्सार गेटबाट पक्राउ गरेको हो । 
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीमाथि शङ्का लागेर प्रहरीले चेकजाँच गर्दा भारतीय रकम ५ सय दरको नोट ५ सय थान, २ सय दरको नोट २ सय थान र १ सय दरको नोट ३ सय थान गरी जम्मा ३ लाख २० हजार रुपैयाँ फेला परेको थियो । पक्राउ परेका उनलाई रकमसहित आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी बुझाइसकेको प्रहरीले जनाएको छ ।

यता मेची पुलमा खटिएका सुरक्षाकर्मीले मंगलबार बेलुका ७ बजेको नेपालमा प्रतिबन्धित पाँच सय दरका भारतीय रकमसहित दुई जनालाई पक्राउ परेका  थिए । पक्राउ परेका दुई जनालाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याएको थियो । उनीहरूको साथबाट स्रोत नखुलेको एक लाख रुपैयाँ भारतीय रकम फेला परेको थियो । तर, प्रहरीले उनीहरूलाई कुनै कारबाही नगरी त्यतिकै बरामद गरिएको रकमसहित छाडिदिएको घटना बाहिर आएको छ । प्रहरीले किन र के स्वार्थमा उनीहरूलाई छाडेको बारेमा अहिले जनमासमा व्यापक आलोचना भइरहेको छ ।  

सम्बन्धित समाचार