अफगानिस्तानलाई हराउँदै न्युजील्यान्ड विश्वकप क्रिकेटको शीर्ष स्थानमा
भारतमा जारी आइसिसी विश्वकपमा न्युजील्यान्डले लगातार चौथो जित हात पारेको छ। बुधबार चेन्नईमा भएको खेलमा अफगानिस्तानलाई १४९ रनले हराउँदै न्युजील्यान्ड शीर्ष स्थानमा उक्लिएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले अफगानिस्तानलाई जितको लागि २८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर जवाफी ब्याटिङ गरेको अफगानिस्तान ३४.४ ओभरमा अलआउट हुँदै १३९ रनमात्र बनाउनसक्यो।
अफगानिस्तानका लागि रहमत साहले सर्वाधिक ३६ रन बनाए। त्यस्तै इक्रम अलिखीले १९, अजमतुल्लाह ओमरजाईले २७, इब्राहिम जद्रनले १४ र रहमुल्लाह गुर्बाजले ११ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
यसअघि न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ रनको योगदान दिएका थिए। उनले ८० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए।
त्यस्तै कप्तान टम लाथमले ६८ रन जोडे । उनले ७४ बलमा ३ चौका र २ छक्कासहित ६८ रन बनाए भने विल योगले ५४ रन बनाए। उनले ६४ बलमा ४ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए। रचिन रवीन्द्रले ४१ बलमा २ चौका र १ छक्कासहित ३२ रन जोडे।