२०८३ बैशाख ९ गते , बुधबार

झापा एफसी फाइनलमा

sajilo news
झापा
२०८० आश्विन ३० गते , मंगलबार
झापा एफसी फाइनलमा

दोस्रो संस्करणको नेपाल सुपर लिग खेल्ने तयारीमा रहेको झापा एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक एकता स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा हराउँदै झापा एफसी उपाधिनजिक पुगेको हो ।
झापा एफसीले उपाधिका लागि कात्तिक ३ गते मोफसलको अर्को चर्चित टिम झापा ११ एफसीको सामना गर्नेछ । झापा ११ ले सैनिक यूथ क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।
आजको खेल अवधिभर दुवै टिमले उत्कृष्ट मुभ बनाउँदै प्रहार गरे पनि गोल हुन सकेन । निर्धारित ६० मिनेटमा दुवै टिम शून्यको अवस्था रहेपछि खेल सिधै टाइब्रेकरतर्फ धकेलिएको थियो ।
टाइब्रेकरमा झापाका लागि पाँचै जना खेलाडी तारानाथ राजवंशी, अनीश पोमु लिम्बू, सञ्जय धिमाल, पारस कार्की र आयुष श्रेष्ठले गोल गरे भने एकताका खमिर गिल्सन कन्दङवा, आशिष् चापागाईँ, विशाल बस्नेत र निशान तामाङले गोल गरे । एकताका मिलन राईको प्रहार झापाका गोल किपर योगेश धिमालले विफल बनाइदिएका थिए । आजको खेलको प्लेयर अफ द म्याच झापाका गोल किपर योगेश धिमाल भए । उनलाई आजका प्रमुख अतिथि देवी सङ्ग्रौलाले नगद तीन हजार प्रदान गरे ।

प्रतियोगितामा झापाका आठ वटा क्लबहरूले सहभागिता रहेको छ ।  प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने सचिवालय सदस्य गोविन्द गिरीले बताए ।

सम्बन्धित समाचार