झापामा ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
झापा । चन्द्रगढी विमानस्थलमा ठुलो मात्रामा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित तीन भारतीय कारोबारी पक्राउ परेको केही दिनपछि अर्का भारतीय पनि पक्राउ परेका छन् ।
भारतबाट ब्राउन सुगर ल्याएर नेपालमा बिक्री वितरण गर्न खोज्ने एक भारतीय झापा गाउँपालिकामा पक्राउ परेका हुन् । सोमबार दिउँसो ४ बजेको समयमा झापा गाउँपालिका २ झापा बजारस्थित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले साईकलयात्री भारत किसनगञ्ज महमारी धनतोला पञ्चायत बस्ने २६ वर्षीय असरफुल हकलाई शङ्का लागेर चेकजाँच गर्दा भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको ८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै झापाको दमक नगरपालिका–८ चक्रपथ चोकबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दमक–८ मा कोठा भाडामा बस्दै आएका २९ वर्षीय किसन राजवंशीको डेरामा प्रतिबन्धित लागू औषध ब्राउन सुगर बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कोठामा लुकाई छिपाई राखेको अवस्थामा एक ग्राम एक सय मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । ब्राउन सुगरसहित राजवंशीलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।