झापामा आत्महत्या भयावह बन्दै
झापा । उमेर छँदै मृत्युवरण गर्ने आत्महत्याका घटनालाई सामान्य मान्न सकिँदैन । त्यसमा पनि केही वर्षदेखि झापामा आत्महत्याका अस्वाभाविक घटना हुन थालेका छन् ।
पासो लगाई सामूहिक आत्महत्या गर्ने ,छोराछोरीलाई सँगै लिएर आत्महत्या गर्ने , अरूको हत्या गरेर आत्महत्या गर्ने , कम उमेरका बालबालिका र पाको उमेरका वृद्धवृद्धाले आत्महत्या गर्नेजस्ता अस्वाभाविक घटना बढ्दै गएका हुन् । यसबाट आत्महत्याको दर बृद्धिसंगै आत्महत्या गर्ने डरलाग्दो शैलीले समाजमा भयावह सिर्जना गरेको छ ।
गत वर्षको साउन ८ गते झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरीले एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरे ।
कचनकवल गाउँपालिका–५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको बयरको रुखमा झुन्डिएर कचनकवल–५ निवासी पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पनाले सामूहिक आत्महत्या गरेका हुन् । दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
त्यस्तै गत माघ १० गते कचनकवलमा एउटै रुखमा झुन्डिएर दुई प्रेमीप्रेमिकाले आत्महत्या गरे । कचनकवल गाउँपालिका वडा नं ४ केचनाको खुट्टामुनिमा रहेको एभरेस्ट चिया बगानमा सिरिसको रुखमा पासो लगाई स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीले आत्महत्या गरे । उनीहरूले माछा मार्ने नाइलनको जालको डोरी बनाई पासो लागेका थिए ।
त्यस्तै २०७८ भदौ ७ मा कनकाई नगरपालिका–१ दुर्गापुरमा ८ महिने शिशुलाई समेत झुन्ड्याएर एक दम्पतीले सामूहिक आत्महत्या गरे ।
कनकाई नगरपालिका–१ दुर्गापुर निवासी ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना विक र ८ महिनाको छोरा आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका थिए।
त्यस्तै गत वर्षको भदौ २ गते भद्रपुरका एक १४ वर्षीय बालकले टाइको पासो लगाई आत्महत्या गरे । भद्रपुर ४ झापा चोकका १४ वर्षीय करण गिरीले घरको ढोकाको ह्यान्डलमा टाईको पासो लगाई झुन्डिएर आत्महत्या गरे ।
धेरैजसो युवा युवती र वयस्कले आत्महत्या गर्ने गरेकोमा कम उमेरका बालबालिका र पाको उमेरका वृद्धवृद्धाहरूले पनि आत्महत्यालाई रोजेको पाइएको छ । आर्थिक वर्ष २०७७–०७८ मा झापामा जम्मा ३३४ जनाले आत्महत्या गरेकोमा १६ वर्षमुनिका २४ र ६० वर्षमाथिका ३९ जनाले आत्महत्या गरेका थिए ।
त्यस्तै आर्थिक वर्ष २०७८–०७९ मा आत्महत्या गर्ने ३१४ जनामध्ये १६ वर्षमुनिका १५ र ६० वर्षमाथिका ४५ जना रहेका थिए । त्यस्तै आर्थिक वर्ष २०७९–०८० मा जम्मा ३१७ जनाले आत्महत्या गरेकोमा १६ वर्षमुनिका बालबालिका २५ र ६० वर्षमाथिका वृद्धवृद्धा ४४ जना रहेका थिए ।
त्यस्तै चालु आर्थिक वर्षको करिब दुई महिनामा ३४ जनाले आत्महत्या गरेकोमा १६ वर्षमुनिका एक जना र ६० वर्षमाथिका ४ जना बृद्धबृद्धा रहेका थिए । धेरैले झुन्डिएर आत्महत्या गर्ने गरेका छन् भने त्यसपछि विष सेवन गर्ने गरेको पाइएको छ । त्यसबाहेक आफैले आगो लगाई , धारिलो हतियार प्रहार गरी , घाटी रेटी , आफैलाई गोली हानी र आफैलाई सिसा प्रहार गरी आत्महत्या गरेको घटना झापामा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।