झापाका चार पालिकामा श्रीकृष्ण रथयात्रा निकाल्ने तयारी

झापा । आज झापाका चार पालिकामा श्रीकृष्ण रथयात्रा हर्सोउल्लासका साथ निकाल्ने तयारी गरिएको छ । धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट आज श्रीकृष्ण रथयात्रा निकाल्ने चलन छ ।
सोही बमोजिम जिल्लाको भद्रपुर, बिर्तामोड, दमक र गौरीगञ्जमा श्रीकृष्ण रथयात्रा निकाल्ने तयारी रहेको छ । भद्रपुरमा २०औं पटक निकाल्ने तयारी गरिएकोमा बिर्तामोडमा पहिलो पटक रथ निकालिँदैछ ।
जिल्लाको सदरमुकाम भद्रपुरमा २०औँ भगवान् श्री कृष्ण रथयात्रा भव्य उत्सवको रूपमा मनाउने सम्पूर्ण तयारी पूरा भइसकेको श्रीकृष्ण रथयात्रा उत्सव समारोह समितिका अध्यक्ष किरण भारतीले जानकारी दिए । जिल्लाकै सबैभन्दा पुरानो रथयात्रा नगरको पहिचान र गौरव बन्दै गएको उनले बताए । विं.स.२०५९ सालमा काठको पाङ्ग्राले बनाइएको रथ जीर्ण भएपछि भद्रपुर नगरपालिकाले ८ लाख रुपैयाँ बजेट छुट्टाएर टायरको पाङ्ग्रासहित फलामले रथ बनाइदिएको छ । त्यही रथलाई पुनः रंगरोगण र फुलमालाले सजावट गरिएको समितिका सचिव सञ्जय घोषले जानकारी दिए ।
भद्रपुर- ५ स्थित लक्ष्मीनारायण मन्दिर अगाडिबाट ११ बजे शुभारम्भ हुने रथयात्रा आपगाँछी, ज्ञानेचोक, झापाचोक, संगमचोक, सगरमाथा चोक, किरात कोलोनी, लेखनाथ चोक, चन्द्रगढी बजार, एसपी मोड हुँदै क्याम्पस मोड, अस्पताल चोक, जनता चोक, भद्रपुर बजारबाट पुनः लक्ष्मीनारायण मन्दिरमा गएर समापन हुने छ । रथयात्रामा विभिन्न झाँकी, लाखे नाच प्रदर्शन गर्नुका साथै बालबालिकाहरू विभिन्न देवीदेवतामा भेसभुसामा सजाइने छ । त्यस्तै बिर्तामोडमा पहिलो पटक एक साथ दुई वटा रथ निकाल्ने तयारी गरिएको छ । श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा दुई वटा रथ निकाल्न लागिएको र त्यसको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको ।
बिहान १० बजे विशेष पूजाअर्चाना गरिने र बिहान ११ बजे रथयात्रा बालाजी मन्दिरबाट प्रारम्भ हुने जनाइएको । उता सतगुरु श्री देवचन्द्र सदनबाट पनि रथयात्रा सुरु भई दुवै रथयात्रा बालाजी मन्दिर अगाडि शनिश्चरे रोडमा भेट हुने र त्यस पश्चात् बिर्तामोड बजार परिक्रममा गर्ने श्री बालाजी मन्दिर समितिका अध्यक्ष नवीन गोयलले जानकारी दिए ।
दुवै रथयात्रा बिर्तामोडस्थित मुक्तिचोक–इलाका प्रहरी कार्यालय छेउबाट फर्किएर मुक्तिचोक–भद्रपुर बस स्टेण्ड–मुक्तिचोक र अधुवाखोला पुल हुँदै फेरी मुक्तिचोक भएर मन्दिरमा आएर समापन हुने सतगुरु श्री देवचन्द्र सदन युवा परिषद् प्रा.स अध्यक्ष विदुर खनालले जानकारी दिए ।
त्यसैगरी दमक नगरपालिकामा सातौँ श्रीकृष्ण रथयात्रा निकाल्ने सम्पूर्ण तयारी पूरा भइसकेको मूल आयोजक समितिका संयोजक रोहित आचार्यले जानकारी दिए । रथ यात्रालाई भव्य बनाउन विभिन्न ३४ वटा उपसमिति गठन गरी ती समितिहरूले आआफ्नो जिम्मेवारी निर्वाह गरी रथ यात्रा निकाल्न लागेको उनको भनाई छ । दमकको राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा नगर परिक्रममा गरी पुनः सोही मन्दिरमा पुगेर समापन गर्ने कार्यक्रम रहेको छ । रथयात्रामा विभिन्न झाँकी समेत प्रदर्शन गरिनेछ । विभिन्न सडकहरू निर्माण भइरहेकोले यस वर्ष रथको रुट पनि परिवर्तन गरिएको समितिले जनाएको छ ।
उता गौरीगञ्ज गाउँपालिकामा तेस्रो पटक रथयात्रा निकाल्ने तयारी गरिएको छ । गौरीगञ्जको पहिचान र गौरवलाई मध्य नगर गरी श्रीकृष्ण रथयात्रा समारोह समितिले रथयात्रा निकाल्न लागेको हो । २०७५ सालमा पहिलो पटक गाडामा भगवान् श्री कृष्णको मूर्ति राखेर रथयात्रा निकालिएको थियो । समितिले दुई वर्ष अघि नै नयाँ रथ बनाइसकेको छ । खजुरगाछीको राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा नगर परिक्रममा गरी पुनः सोही मन्दिरमा आएर समापन हुने समितिका अध्यक्ष डा. तिलक खनालले जानकारी दिए ।