झापामा लागू औषधको कारोबार : प्रदेश सांसदका छोरासहित तीन पक्राउ
झापामा लागु औषधको कारोबार गरिरहेको आरोपमा प्रहरीले प्रदेश सांसदका छोरासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी प्रदेश सांसद सविना बजगाईँ छोरा मेचीनगर- १० बस्ने २५ वर्षीय हिमाल बजगाईँ, सोही ठाउँका ३४ वर्षीय नवी मिया चुरौटे र २५ वर्षीया स्मृति लिम्बू रहेको प्रहरीले जनाएको छ ।
लागू औषध गाँजाको कारोबार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएका प्रहरी टोलीले नवी मियाको घरमा छापा मार्दा १ केजी ७०० ग्राम गाँजा फेला परेको थियो । गाँजालाई प्याकेटमा हालेर बिक्री गर्नका लागि राखिएको थियो । प्रहरी स्रोतका अनुसार लागू औषध राखिएको कोठामा तीनै जना फेला परेका थिए ।
त्यसपछि उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलाबारी लगिएको थियो । मिया लागू औषधको कारोबारी भएकाले उसलाई मुद्दा चलाउने र सांसदका छोरासहित दुई जनासँग लागू औषध नभेटिएकोले मनोपरामर्श गरी छाडिदिएको प्रहरीले जनाएको छ ।