पशुपतिनगर नाकामा भारतीय रुपैयाँ सटहीका लागि काउन्टर सञ्चालनमा आउँदै
फिक्कल । भारतीय रुपैयाँ सटहीका लागि इलामको पशुपतिनगरमा सटही काउन्टर खोल्न अनुमति प्राप्त भएको छ । आइतबार पशुपतिनगरमा सटही काउन्टर राख्न गभर्नर महाप्रसाद अधिकारीले निर्देशन दिएका हुन् ।
गभर्नर अधिकारीले भारतीय पचास र एक सय रुपैयाँका साना नोट साटेर नेपाली बनाउन निर्देशन दिएको बताइएको छ । सोही अनुसार पशुपतिनगरमा राष्ट्रिय वाणिज्य बैंकले सटही काउन्टरको लागि प्रक्रिया शुरु गरेको छ ।
वाणिज्य बैंकको विभागबाट भारतीय रुपियाँ सटही गर्न निर्देशन सहितको पत्र नै आएपछि बैंकले प्रक्रिया थालेको हो । सटही काउन्टर शुरु गर्न केही विधि र नियमहरू रहेकाले अबको एक सातामा प्रक्रिया पुरा गरेर सटही शुरु गरिने पशुपतिनगर स्थित राष्ट्रिय वाणिज्य बैंकका प्रमुख राजन चम्लागाईंले बताए ।
‘ सटही थाल्न आज पत्र आएको छ । हामीले प्रक्रिया पनि थाल्यौँ, तर अझै कतिको कारोबार हुने, यहाँको भारतीय रुपियाँको अवस्था र स्थानीयको आवश्यकता सबै कुरा बुझेर त्यसको अवस्था विश्लेषण गरिन्छ ।’ चम्लागाईंले भने ‘माथिबाट पनि यहाँको अवस्था अनुसार थप कार्यनीतिहरू आउँछन् अनि करिब सात दिन भित्र सटही शुरु गर्नेछौँ ।’
पशुपतिनगरमा बर्सौँ देखि भारतीय रुपैयाँ सटही बन्द हुँदा पूर्वी सीमावर्ती क्षेत्रका सर्वसाधारणले नेपाली रुपैयाँको अभाव झेल्दै आएका थिए । यो क्षेत्रमा उत्पादित कृषि उपज, दुग्ध जन्य पदार्थ बिक्री गर्नुपर्दा व्यापारीबाट किसानहरूले भारतीय रुपैयाँ नै लिनुपर्ने बाध्यता थियो ।
सूर्योदय नगर उद्योग वाणिज्य संघले गत भदौ ४ गते राष्ट्र बैंकलाई सटही काउन्टर स्थापनाका लागि पत्राचार गरेको थियो । उद्योग वाणिज्य संघका सचिव सुजन तिम्सिनाले राष्ट्र बैंक सहायक प्रवक्ता डिल्लीराम पोखरेलसँग भारतीय सटहीको समस्याको बारेमा कुरा गरेका थिए ।
पशुपतिनगरमा सटही काउन्टर स्थापना भएपछि सीमावर्ती पशुपतिनगर सहित दुवै देशको व्यावसायिक क्षेत्रमा सहजता आउने वाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए । उनले भारतीय नोट सटही काउन्टर नहुँदा समस्या भोग्दै आएका ग्राहक र व्यपारीहरुलाई सहजता हुने बताए । त्यसैगरी भारतीय नोट सटहीकै बारेमा सूर्योदय नगर प्रमुख रणबहादुर राईले समेत गभर्नरसँग भेटेर छलफल गरेका थिए ।