फ्री भिसा र फ्री टिकटका नाममा ब्रह्मलुट
काठमाडौँ । कोशी इन्टरनेसल प्रालिबाट रोजगारीका लागि युएई जान लागेका काभ्रेका भगिरथ सापकोटाले करिब दुई लाख रुपैयाँ तिरेको बताएका छन् । फ्री भिसा र फ्री टिकटका विषयमा कुरा गर्यो भने एजेन्ट र म्यानपावरले डिमाण्ड नै छैन भनेर तर्किने गरेको उनले बताए। ‘खोई २०७२ सालयता साउदी, कतार र ओमानको रोजगारीमा गएर आएँ । तर, सबै देश जाँदा दुई लाख रुपैयाँभन्दा बढी नै लागत खर्चका नाम पैसा तिरेको छु । पैसा एजेन्ट म्यानपावर लिन्छन् ।’ उनले भने, ‘सरकारले खाडीका देश र मलेसिया जाने कामदारका हकमा फ्री भिसा र फ्री टिकट लागू गरेको छ भन्छन् । तर, आफूले त्यो सुविधा लिन पाएको छैन । म्यानपावरले फ्री भिसा र फ्री टिकटको कुरा गर्दा विदेश नजानु भन्छन् ।’
देशभित्र रोजगारी पाइँदैन म्यानपावरले भनेजति पैसा लिएर युएई होटलमा काम गर्न जान लागेको उनले जानकारी दिए । यस्तै, फ्री भिसा र फ्री टिकटमा लागू भएको देश कतार एक लाख ९० हजार तिरेर जान लागेको काठमाडौंमा भेटिएका कैलालीका दिनेश चौधरी बताउछन् । सरकारले लागू गरेको फ्री भिसा र फ्री टिकट कामदारका हकमा लागू नभएको चौधरीको गुनासो छ ।
फ्री भिसा र टिकट सरकारी कागतमा मात्र सीमित रहेको उनले बताए । ‘कतार जान काठमाडौंसम्म आउँदा साढे दुई लाखभन्दा धेरै खर्च हुन्छ । म्यानपावरले लागत खर्च भनेर दुई लाख लिएको छ । अब नगए के नगर्नु देशमा रोजगारी छैन । विदेशिनुपर्ने बाध्यता छ ।’ उनले भने, ‘कतार जान फ्री भिसा फ्री टिकट रे त भनेर एजेन्टलाई सोधेको उसले जुन म्यानपावरले पठाउँछ त्यहीँबाट जाऊ भनेर हप्कायो । खोइ सर हाम्रो हकमा होइन होला फ्री भिसा र टिकट लागू भएन ।’ चौधरी जबपिलेसम्याट म्यानपावरबाट वैदेशिक रोजगारीका लागि कतार जाने लागेको बताउँछन् ।
सापकोटा र चौधरी त काठमाडौंमा भेटिएका प्रतिनिधि पात्र मात्र हुन उनी जस्ता वार्षिक १० हजार कामदार फ्री भिसा र टिकटका नाम ठगिने गरेको वैदेशिक रोजगार विभागले नै जनाएको छ । मलेसिया र खाडीका देश जाने कामदारलाई फ्री भिसा र फ्री टिकटका बारेमा जानकारी भए पनि उनीहरू धेरै पैसा तिरेर सरकारले फ्री भिसा र फ्री टिकट लागू गरेका देश जान्न बाध्य छन् । सरकारले वैदेशिक रोजगारीमा खाडीका देश र मलेसिया जाने कामदारका हकमा २०७२ सालदेखि फ्री भिसा र फ्री टिकट लागू गरेको थियो । श्रम मन्त्रालयले लागू गरेको फ्री भिसा र टिकटका विषयमा वैदेशिक रोजगारीमा ती देश जाने श्रमिक प्राय जानकार छन् । कतार, मलेसिया, साउदी, यूएई, कतार कुवेत, बहराइन र ओमान जाने कामदारका लागि भिसा र आतेजाते हवाई टिकटबापत लाग्ने खर्च कामदारले तिर्न नपर्ने नीति श्रम मन्त्रालयले आठ वर्षअघि लागू गरेको थियो ।
सरकारले लागू गरेका फ्रि भिसा र फ्रि टिकटका विषयमा सबै कामदार जानकारी भए पनि उनीहरू चर्को रकम तिरेर विदेशिने बाध्य रहेका छन् । वैदेशिक रोजगारीमा जान नपाउने डरले आफूले तिरेको पैशाका बारेमा कामदार नखुलाउने गरेको वैदेशिक रोजगार विभागका कर्मचारीहरू नै बताउँछन् । सरकारले फ्री भिसा र फ्री टिकटका विषयमा रोजगारदाता देशसँग पनि छलफल गरिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए। सरकारले तोकेभन्दा बढी पैसा लिने म्यानपावरसँग घटनाको प्रकृति हेरेर कानुनी कारबाही अघि बढाउने गरेको उनले बताए ।
‘रोजगारीको खोजीमा रहेका कामदारले विदेश जानुअघि लाखौँ तिर्न पनि तयार हुन्छ । समस्यामा परेपछि मात्र यति रकम एजेन्ट र म्यानपावरलाई तिरेको भन्दै विभागमा आउने गरेका छन् । समस्या रोजगारीको खोजीमा जाने कामदार पनि छ ।’ उनले भने, ‘विभागले फ्री भिसा र फ्री टिकटका नाममा धेरै पैसा लिने म्यानवार र एजेन्टलाई कारबाही गर्दै आएको छ । धेरै रकम म्यानपावरलाई बुझाए पनि सरकारले तोकेको रसिद मात्र कामदारले लिने भएका कारण कतिपय मुद्दामा कारबाही गर्न समस्या हुन्छ ।’ फ्री भिसा र फ्री टिकट नै लागू भएको देश जाने कामदार ठूलो रकम ठगिएको उजुरी लिएर दैनिक विभाग धाउने गरेको विभागले जनाएको छ । फ्री भिसा र फ्री टिकट नै लागू भएको देश कामदार पठाउने मासिक तीन सयभन्दा बढी म्यानपावरले बढी रकम लिएको उजुरी आउने गरेको विभागले जनाएको छ । उजुरी परेका म्यानपावरको काम कारबाही रोकेर छानविन हुने गरेको विभागको भनाइ छ । आजको हिमालय टाइम्समा यो खबर छ ।