२०८१ पौष २९ गते , सोमबार

अनुदानको मल बिक्री गर्ने एग्रिकल्चरलाई दुई लाख जरिवाना

sajilo news
इलाम
२०८० भाद्र ३ गते , आईतबार
अनुदानको मल बिक्री गर्ने एग्रिकल्चरलाई दुई लाख जरिवाना

सरकारले किसानलाई अनुदानमा दिएको रासायनिक मल विनाअनुमति बिक्री गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय इलामले सदरमुकाममा रहेको एक पसललाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

सदरमुकामस्थित इलाम नगरपालिका –७ मा सञ्चालित माँ दुर्गा एग्रिकल्चर एन्ड सप्लायर्सलाई उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम कसुर गरेको ठहर गर्दै सो जरिवाना गरिएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले बताए ।

कोइरालाले उक्त पसल सञ्चालकलाई आजको मितिले सात दिन भित्र बैंकमा जरिवानाबापतको रकम जम्मा गरी भौचरको प्रतिलिपि जिल्ला प्रशासन कार्यालयमा बुझाउन आदेश दिइएको बताए । कोइरालाका अनुसार सो पसलबाट १४ बोरा युरिया, २६ बोरा डीएपी र दुई बोरा पोटास बरामद गरिएको छ ।

यसअघि पनि प्रशासन कार्यालयले सदरमुकामकै सुनभागा चोकमा रहेको कृषिबिज भण्डारबाट बिक्री गर्न राखिएको अनुदानको मल बरामद गरेको थियो । बरामदपछि छानबिन गरी प्रशासनले सहकारीमार्फत किसानलाई बाँड्नुपर्ने रासायनिक मल किनेर बेच्ने उक्त बीज भण्डारलाई पनि दुई लाख रुपैयाँ जरिवाना गरेको थियो ।

सम्बन्धित समाचार