२०८२ बैशाख १६ गते , मंगलबार

कचनकवलमा लोप हुँदै सनपाट खेती

sajilo news
आर.के. काजी
२०८० भाद्र ३ गते , आईतबार
कचनकवलमा लोप हुँदै सनपाट खेती

कचनकवल । साना-ठुला सबै किसानले गर्ने सनपाट खेती अहिले हराएको छ । घरायसी प्रयोजनमा नाम्ला/दाम्ला, डोरी र ठूलो लट्ठा बनाइने र सनपाट बेचेर नगद जोहो गर्ने यो खेती कचनकवलमा अब देखिन छाडेको छ ।

कचनकवल गाउँपालिका–५ का ६५ वर्षीय सब्बीर आलमका हातमा अन्य कामबाट फुर्सद मिल्नासाथ अहिले पनि सुत्ली कात्ने ढेडुवा (काठको तीन मुख भएको फिरफिरे ) हुन्छ । यो काम सनपाटको खेती हुन छाडेपछि केही दशक पहिलेभन्दा केही फरक भएको छ । पहिले आफैँले उत्पादन गरेको सनपाटको सुत्ली कात्ने सब्बीर अझै पनि नगदेवाली भएकोले थोरै भएपनि सकी नसकी लगाई रहेका छन् ।

“पहिले उमेर छँदा टन्न सनपाट खेती गरिन्थ्यो, आफूलाई वर्षभरि चाहिने नाम्ला, दाम्ला, डोरी र लट्ठा बनाएर बाँकी बेचिन्थ्यो”, सब्बीरले भने, “अब सनपाट लगाउने आफ्नो हुति (तागत) छैन, गरिआएको काम के गरौँ ? बच्चालाई कपडा किन्न त सकिन्छ भनेर थोरै भएको सनपाट बनियानी बजार ल्याएको व्यापारीले मूल्य नै दिँदैनन् ।”

सब्बीर मात्र नभएर कचनकवलमा पाका उमेरका आम किसान अन्य कामबाट फुर्सत भएको समय डोरी, दाम्लो र मोटो लट्ठा बनाउन फुर्सतको समयमा ढेडुवा नचाउँदै सुत्ली कात्नु उखरमाउलो गर्मीबीच छिमेकीसँग कुराकानी गर्दै आरामका बेलामा गरिने पाका किसानहरूको आम कुरा थियो ।

करिब दुई दशक अघिसम्म कचनकवलका सबैजसो वडामा धेरथोर सनपाट खेती गरिन्थ्यो । कुत्रुङ्, कश्मिरा र पटुवा जातका सनपाटको खेतीबाट आफूलाई आवश्यक पर्ने सुत्ली कातेर अरु बेचेर घर खर्चका लागि नगदको जोहो गरिन्थ्यो ।“आफ्ना नाडी गले, गर्न सकिँदैन, छोराहरूले यो खेतीमा ध्यान दिँदैनन्”, सब्बीर भन्छन्, “तैपनि घरका पशु वस्तुलाई चाहिने दाम्ला आफैँ पुर्याउँ भनेर अझै लगाउदैछु । पछिल्ला केही दशकयता हाटबजारमा प्लास्टिकका दाम्ला, नाम्ला र डोरी प्रचुर आउन थालेपछि पछिल्लो पुस्ताका किसानले सनपाट सम्झन नै छाडेका सब्बीरको भनाइ छ ।

सनपाट घरायसी प्रयोजनका डोरी, नाम्ला, दाम्ला र लट्ठाका लागि मात्र नभई कागज, बोरा, झोला, कपडा बुन्न उद्योगले किन्ने गर्दथ्यो। यसबाहेक असारमा धान रोपाइँ गर्नुअघि खेत हिल्याउँदा सनपाटसहित जोतेर सम्म्याएपछि मलको आवश्यकता समेत पूरा हुने गरेको किसान सम्झन्छन् । “ खेतमा लहलहाएको सनपाटसहितै जोतेर हिल्याएपछि पाँच देखि सात दिनमा गलेर मल बन्थ्यो । सनपाट खेतीले जग्गाको उर्वरा शक्ति बढाउने किसान बताउँछन् । “डाँठ र पात कुहाएर प्राङ्गारिक मल हुने र जराका गिर्खाहरूले नाइट्रोजन मल बनाउने हुँदा यो जग्गाको उर्वरा शक्ति बढाउन उपयोगी भएको हो ।

सनपाट खेतीका लागि बोट छिप्पिएपछि काटेर गहिरो पानीमा डुबाएर केही दिन राख्नुपर्छ । कचनकवलमा लगाइने गरिएका सनपाटमध्ये कुत्रुङ् २२ दिन, कश्मिरा तीन दिन र पटुवा १० देखि १२ दिन पानीमा गलाएपछि चुटेर सफा पार्दै रेसा निकालिन्छ । बर्सातको बाढीले बगाएर ल्याउने सनपाट पछिल्ला केही दशकयता पोखरी, दह र नदीमा पानी सुक्दै गएपछि यो खेतीको सम्भावना पनि सुक्दै गएको छ।

सनपाटको रेसा (धागो) सुत्ली कात्न र उद्योगलाई बेच्न सकिने र सन्ठी (डाँठ) दाउरामा प्रयोग गर्ने गरिन्छ । सनपाटको सन्ठी अत्यन्त प्रज्वलनशील हुने हुँदा गाउँघरमा आगो सल्काउन गृहिणीले बचाएर राख्ने पुरानो चलन गृहिणीमा थियो । सन्ठी दीपावली पर्वमा राजवंशी समुदायले ‘हुकाहुकी’ खेल्न प्रयोग गर्ने चलन छ । भूतप्रेत र दुष्ट आत्माहरूको बस्ती र बालीनालीमा आँखा नलागोस् भनेर सन्ठी बालेर ‘हुकाहुकी’ भन्दै नचाइने यो परम्परा कचनकवलमा अझै कायम छ ।

राजवंशी जातीको परम्परासँग जोडिएको सन्ठी जोगाएर राख्नुपर्ने भएपनि सनपाट खेती नगर्ने हो भने सन्ठी कहाँबाट ल्याउनु ? सनपाट खेतीलाई प्रोत्साहन नगर्ने हो भने राजवंशीको यो संस्कृति लोप भई बनियानी चौकमा रहेको हुकाहुकी स्तम्भ मात्र देख्न सकिएला कि भन्न सकिन्छ ।

यो बहुउपयोगी खेती अब कचनकवलमा हराउँदै गएको छ । कतैकतै मात्र पुराना किसानले थोरै जग्गामा लगाएको देखिन्छ । पशुपालन किसानलाई दाम्ला, डोरी चाहिरहने सामग्री हुन् । त्यस्तै पाटको रेसा राम्रो मूल्यमा बिक्री हुन्छ । यो खेतीको अर्को महत्त्वपूर्ण पाटो खेतबारीलाई उर्वर बनाइराख्न मलको आवश्यकता पूरा गर्ने हुँदा मल पाइएन भनेर छटपटिनु नपर्ने बाली हराउँदै छ । जमिनको सामान्य चिस्यानमा हुनसक्ने सनपाट खेतीमा किसानलाई उत्प्रेरित गर्नुपर्ने देखिन्छ । सनपाट खेती गर्मी हावापानीमा हुने गर्छ । छरेको ठिक ४५ दिनमा काट्न तयार हुने यो खेतीका लागि कचनकवलको माटो र वातावरण अनुकूल भएको कृषकहरूको भोगाइले बताउँछन् ।

सम्बन्धित समाचार