भद्रपुरमा खुल्ला यूथ मिनी म्याराथन: पुरुषतर्फ राजन र महिलातर्फ सुस्मिता प्रथम
भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा खुल्ला यूथ मिनी म्याराथन (महिला र पुरुष दौड) प्रतियोगिता शनिबार सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर भद्रपुर नगर युवा परिषद्ले दिगो विकास लक्ष्य, प्राप्तिमा युवाको साथ : नवपर्वतन र उद्यमशीलतामा हरित सीप विकास भन्ने मूल नाराका साथ यूथ मिनी म्याराथन प्रतियोगिता सम्पन्न गरेको हो ।
भद्रपुर नगरपालिका– २ स्थित सगरमाथा चोकबाट शनिबार बिहान ८ बजे सुरु भएको दौड प्रतियोगिता ज्ञानेचोक, आपगाँछी, झापाचोक, भानुचोक हुँदै नगरपालिका कार्यालयको मुख्य प्रवेशद्वार आएर टुङ्गिएको थियो । करिब ८ किलोमिटरको दौडमा महिला र पुरुष गरी एक सय जनाको सहभागिता रहेको थियो ।
जसमध्ये पुरुष तर्फबाट राजन म्याङ्वो प्रथम, दीपेश तामाङ द्वितीय, सुदिप लुम्बा तृतीय र चौथो स्थानमा सन्तोष साउद भएका थिए । त्यस्तै महिला तर्फबाट सुस्मिता राई प्रथम, गीता श्रेष्ठ द्वितीय, जुनु राई तृतीय र मुना पोखरेल चौथो भएका थिए । विजेताहुनेहरू मध्ये प्रथमलाई नगद १० हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वनालाई नगद ३ हजार नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै गर्दै नगर प्रमुख गणेश पोखरेलले सम्पूर्ण युवाहरूलाई ऊर्जाशील बनाउनका लागि एकै ठाउँमा गोलबद्ध बनाउन अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा खुल्ला यूथ मिनी म्याराथन आयोजना गरिएको बताए ।
सोही अवसरमा नगर युवा परिषद्ले गत जेठ १८ र १९ गते आयोजना गरेको दुई दिने यूथ समिटबाट तयार पारिएको युवा घोषणापत्र समेत सार्वजनिक गरिएको थियो ।
सार्वजनिक गरिएको घोषणा पत्रलाई भद्रपुर युवा परिषद् समितिका सदस्य योगेन्द्र पौडेलले वाचन गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, वडा अध्यक्ष अभिषेक ढुङ्गाना, कार्यपालिका सदस्य सीता गुरागाईँ, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सरोज ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
.png)
.png)
.png)