२०८० मंसीर १८ गते , सोमबार

भद्रपुरको पृथ्वीनगरमा व्यवसायिक ड्रागन खेती

sajilo news
आर.के. काजी
२०८० श्रावण २२ गते , सोमबार
भद्रपुरको पृथ्वीनगरमा व्यवसायिक ड्रागन खेती

भद्रपुर । झापाको भद्रपुर नगरपालिका–१ स्थित कुलेचोकमा व्यावसायिक रूपमा  ‘ड्रागन फल’ खेती शुरु गरिएको छ । स्थानीय ६३ वर्षीय कृषक खड्गप्रसाद शिवाकोटीले ‘जरामुना एग्रो प्रालि।कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन खेती सुरु गरेका हुन् । 

मेची राजमार्ग नजिकै रहेको एक बिघा क्षेत्रफलको जग्गा विगत ८ वर्षदेखि बाझिएपछि छोराछोरी साथमा लिएर व्यावसायिक रूपमा ड्रागन खेती थालेको कृषक शिवाकोटीले बताए।  ‘गत वर्ष ड्रागनका बिरुवा ल्याएर निजी जमिनमा लगाएका ड्रागनका बिरुवाले यस वर्षदेखि उत्पादन दिन शुरु गरेको छ’, उनले भने।

फार्ममा सिमेन्ट पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाइएको छ । एउटा पोलमा करिब रु दश हजारका दरले खर्च भएको उनको भनाइ छ ।  बिरुवा रोपेको ११ महिनाको अवधिमा केही बोटमा फल लागेको अनुभव सुनाउँदै कृषक शिवाकोटीले बिक्री भने गर्न नपाएको बताए । उक्त फार्मको व्यावसायिक कृषि व्यवसायलाई नगरपालिकाले अहिलेसम्म कुनै प्राथमिकतामा राखेर काम नगरेको बताए ।

यस वर्ष ३० प्रतिशत बिरुवामा लपक्कै फूल फुलेका छन् । कृषक शिवाकोटीले भने, ‘फूल फुलेअनुसार फल लाग्ने हो भने राम्रै उत्पादन हुन्छ भन्ने विश्वास लिएको छु’। सानो उमेरबाट कृषि पेसा गर्दै आएका शिवाकोटी अहिले ड्रागन खेतीतर्फ आकर्षित भएका हुन् । स्थानीयस्तरमा उत्पादित अर्ग्यानिक ड्रागन फल अहिले बटुवा र स्थानीयले कोसेलीका रुपमा घरमा लैजाने गरेकाले प्रति केजी रु ५०० का दरले बिक्री गरिएको उनले बताए । 

सम्बन्धित समाचार