२०८० मंसीर १६ गते , शनिबार

इलामको सूर्योदय र रोङले कृषि एम्बुलेन्स सञ्चालन गर्ने

sajilo news
इलाम
२०८० श्रावण २१ गते , आईतबार
इलामको सूर्योदय र रोङले कृषि एम्बुलेन्स सञ्चालन गर्ने

गाउँमा उत्पादित कृषि उपजलाई बजारसम्म लग्न सहज गराउने उद्देश्यले इलामका दुई पालिकाले यो वर्षदेखि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।

इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाले चालु आर्थिक वर्षको कार्यक्रममा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरेका हुन् । सूर्योदय नगरपालिकाले कृषि एम्बुलेन्सका लागि यो वर्ष २० लाख रुपियाँ छुट्टाएको छ । विभिन्न सहकारी संस्था, निजी फार्म तथा कृषक समूहहरूसँग लागत साझेदारीमा काम गर्ने गरी कृषि एम्बुलेन्सको अवधारणा ल्याइएको नगरपालिकाको आर्थिक समिति संयोजक देवेन्द्र आचार्यले बताए।

गाउँमा व्यापारीहरू जाने र इस्कुस अथवा काँक्राजस्ता एक किसिमको मात्र तरकारी खरिद गरेर उठाउने गरेका छन् । 'त्यही किसानकोमा फलेको रुख टमाटर, कुरिलो, गोलभेँडाजस्ता अन्य तरकारी नलाने हुँदा नष्ट भएर गएको अवस्था छ,' आचार्यले भने  'टोल विकास संस्थाहरूलाई परिचालन गरेर नष्ट हुने त्यस्ता रैथाने जातका तरकारीहरू सङ्कलन गर्ने र बजार सम्म लग्न यो अवधारणा ल्याइएको छ ।'

सूर्योदयले यो कार्यक्रमलाई कुनै एक वडाबाट मोडेलको रुपमा सञ्चालन गर्ने तयारी गरेको छ । यो वर्ष मोडेलको रुपमा सञ्चालन गरेर त्यसको नतिजा हेरेपछि अर्को वर्ष कार्यक्रम विस्तार गर्ने योजना रहेको संयोजक आचार्यले बताए । ‘आयातित तरकारीभन्दा स्थानीय जातका रैथाने तरकारीलाई छुट्टै बजारको व्यवस्थापन गरेर अर्ग्यानिक तरकारी उपभोक्तासम्म पुगाउने र किसानलाई आर्थिक रुपमा सहयोग गर्ने योजना छ’ आचार्यले भने ।

रोङ गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि एम्बुलेन्सका लागि गाडी खरिदमा २५ लाख रुपियाँ विनियोजन गरेको जनाएको छ । रोङ गाउँपालिकाका सबै वडामा सहज ढङ्गले दैनिक रुपमा यातायात सञ्चालन हुन कठिनाइ भएकाले गाउँका किसानलाई सुविधा प्रदान गर्न कृषि एम्बुलेन्सको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए । 

सम्बन्धित समाचार