२०८० मंसीर २० गते , बुधबार

बिर्तामोडमा २ हजार ५०० भन्दा बढी पशुमा ‘लम्की स्किन’, खोप लगाउन सुरु

sajilo news
झापा
२०८० श्रावण २१ गते , आईतबार
बिर्तामोडमा २ हजार ५०० भन्दा बढी पशुमा ‘लम्की स्किन’, खोप लगाउन सुरु

बिर्तामोड । बिर्तामोड नगरपालिकाले पशुमा लाग्ने सङ्क्रामक रोग ‘लम्की स्किन’ विरुद्धको खोप लगाउन सुरु गरेको छ । आज आइतबार वडा नम्बर १० मा रहेको सफल गाई फर्मबाट यो रोग विरुद्धको खोप लगाउन सुरु गरेको हो । ‘लम्की स्किन’ असार अन्तिम साता देखि बिर्तामोडमा पनि धेरै देखिन थालेपछि रोग नलागेका स्वस्थ पशुहरूमा खोप लगाउन सुरु गरिएको पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिए ।

सबै वडाका कृषकहरूको घर घरमा पुगेर पशु प्राविधिकिहरुले  खोप लगाउने छन् । यसका लागि नगरपालिकाले १० जना प्राविधिक खटाएको छ । खोप लगाए बापत कृषकहरूले प्रति गाई १ सय ३० रुपैयाँ तिर्नु पर्ने छ । त्यसमा प्रयोग हुने सिरिन्ज, निडिल, प्राविधिकहरूको चार्ज, खाना, यातायात लगायतको खर्च नगरपालिकाले व्यहोर्ने छ  ।१५ हजार गाईमा यो खोप लगाइने कार्यक्रम रहेकोले नगरपालिकाको मात्रै १७ लाख रुपैयाँ भन्दा बढी खर्च हुने पशुपन्छी तथा मत्स्य विकाश शाखाले जनाएको छ । 

लम्की स्किन रोग विरुद्ध खोप सञ्चालन उद्घाटन कार्यक्रममा बोल्दै वडा नम्बर १० का वडाअध्यक्ष दुर्योधन गुरुङले ‘लम्की स्किन’ सरुवा रोग भएकोले भ्याक्सिन छुटाउन नहुने बताए । असहज अवस्था आए वडा तथा नगरपालिकालाई खबर गर्न आग्रह गर्दै उनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । वडाअध्यक्ष गुरुङले आफूले नै ५ सय ६५ रुपैयाँ खर्च गरेर गाईलाई भ्याक्सिन लगाएको उदाहरण दिँदै यस कार्यक्रमले कृषकलाई सहज भएको बताए ।

बिर्तामोडमा ‘लम्की स्किन’ कारण २ हजार ५ सय भन्दा बढी पशु संक्रमित भएका छन् भने ६ वटा मरेका छन् । यो रोग लागिसकेपछि गाईमा ज्वरो आउने, शरीरमा फोका देखा पर्ने, झोक्राउने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेको छ ।

 

 

सम्बन्धित समाचार