२०८३ बैशाख ३ गते , विहीबार

झापाका डिलरहरूले घटेको दाममा ग्यास बेच्न नमानेको जनगुनासो

sajilo news
झापा
२०८० श्रावण २० गते , शनिबार
झापाका डिलरहरूले घटेको दाममा ग्यास बेच्न नमानेको जनगुनासो

नेपाल आयल निगमले घटाएको नयाँ मूल्यमा खाना पकाउने ग्यास बेच्न डिलरहरूले आनाकानी गरेको जनगुनासो आउन थालेको छ । मेचीनगर–७ इटाभट्टाको रेजिना हार्डवेयर (कोशी ग्यास डिलर)बाट त्यस्तै आनाकानी गरेको उपभोक्ताले गुनासो गरेपछि उपभोक्ता जागरण अभियान झापाको पहलमा शुक्रवार साँझ पसलेलाई घटेको नयाँ मूल्यमै ग्यास विक्री गर्न लगाइएको छ । निगमले साउन १६ गते मध्यरातदेखि लागू हुने गरी ग्यासको मूल्य घटाएर रु १,६६० तोकेको छ । पुरानो मूल्य रु १,७९० थियो ।

मेचीनगर–७ निवासी ८० वर्षीय चन्द्रकान्त साहले बिहीबार उक्त हार्डवेयरमा जाँदा ग्यासको पुरानो दाम मागिएको बताए । त्यसपछि उनी ग्यास नकिनी घर फर्किएका थिए ।  साहले उपभोक्ता जागरण अभियान झापालाई गुहारेपछि अभियानका जिल्ला अध्यक्ष मोहन काजी स्थानीय उपभोक्ता, सञ्चारकर्मी र पीडित व्यक्तिलाई लिएर रेजिना हार्डवेयर गएका थिए ।  नेपाल आयल निगमले जारी गरेको नयाँ मूल्यमै ग्यास विक्री गर्नुपर्ने विषयमा अभियानका अध्यक्ष काजीले पसल सञ्चालकहरूको ध्यानाकर्षण गराउँदै विक्रेताले नयाँ मूल्यमै साहलाई ग्यास दिएका थिए । 

उक्त अवसरमा मेचीनगर- ७ का मेलमिलापकर्ता पीताम्बर पौडेल, ज्येष्ठ नागरिक वडा समितिका सचिव अम्बर परियार र स्थानीय पत्रकारहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार