भद्रपुर नगरको ३ करोड ८७ लाख बजेट फ्रिज, ल्याण्डफिल्ड साइड र सडकको बजेट फिर्ता
भद्रपुर । भद्रपुर नगरपालिकाको ३ करोड ८७ लाख रुपैयाँ भन्दा बढी रकम फ्रिज भएर फिर्ता गएको छ । नगरपालिकालाई गत आर्थिक वर्ष ०७९/०८० मा सङ्घीय र प्रदेश सरकारबाट प्राप्त सशर्त÷विशेष÷समपूरक अनुदानतर्फको ३९ करोड २० लाख ७३ हजारमध्ये ३ करोड ८७ लाख १८ हजार २५१ रुपैयाँ ९७ पैसा फ्रिज भएर फिर्ता गएको नगरपालिकाको आर्थिक प्रशासन शाखाले जनाएको छ ।
त्यसमध्ये सङ्घीय सरकारबाट प्राप्त विशेष अनुदान पुँजीगततर्फ मेची किनारमा ल्याण्डफिल्ड साइड निर्माण (फोहोर मैला व्यवस्थापन) को दुई करोड ५० लाख बजेट पूरै फ्रिज भएर फिर्ता गएको छ ।
प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान पुँजीगत तर्फ संगम चोकदेखि भन्सार सडक निर्माणको एक करोड बजेटमध्ये २ लाख ३२ हजार ७६० रुपैयाँ खर्च भई बाँकी रकम ९७ लाख ६७ हजार २४० रुपैयाँ फ्रिज भई फिर्ताको गएको छ ।
त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ३३ लाखमध्ये १२ लाख ६२ हजार २६० रुपैयाँ, उन्नत बिउँ वितरण अनुदान कार्यक्रम/कृषि स्नातक करार/बीउ विजन उत्पादन आपूर्ति तथा व्यवस्थापनको १८ लाखमध्ये ७ लाख ३८ हजार ८५८ रुपैयाँ, कृत्रिम गर्भधारण/पशु आहारा मिसन कार्यक्रम/हरियो घाँस विस्तार कार्यक्रमको १९ लाखमध्ये ८ लाख ५२ हजार ४५९ रुपैयाँ, गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमको पूरै २ लाख रुपैयाँ फिर्ता गएको आर्थिक प्रशासन शाखाले जनाएको छ ।
त्यसैगरी रोजगार प्रवर्द्धन कार्यक्रम÷ सामी परियोजनाको ६१ लाखमध्ये १७ लाख ८८ हजार २६१ रुपैयाँ, विद्यालय क्षेत्र विकास कार्यक्रम एसएसडीपी कार्यक्रमको ५ करोड १२ लाख ४ हजारमध्ये ३५ लाख ३ हजार ९६२ रुपैयाँ, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको २७ लाखमध्ये २१ लाख १५ हजार २८३ रुपैयाँ, खानेपानी सेवा विस्तार तथा पुनर्स्थापना कार्यक्रमको ३ लाख ३५ हजार रुपैयाँ पूरै फिर्ता गएको जनाइएको छ ।
भद्रपुर– ५ स्थित मेची किनारमा ल्याण्डफिल्ड साइड निर्माणका लागि बजेट निकासा भए पनि नेपाल–भारत सीमामा पर्ने दशगजा क्षेत्रमा सो निर्माण कार्य गर्न असम्भव देखिएकोले सो बजेट फिर्ता गएको योजना तथा प्राविधिक शाखाका इन्जिनियर योगेन्द्र रंजितकारले जानकारी दिए । ‘भारतले तटबन्ध गर्न त दिएन, त्यहाँ कसरी ल्याण्डफिल्ड साइड बनाउन सकिन्छ त ?, उनले भने ।
अब छिमेकी पालिकाहरू कचनकवल र हल्दिबारीसँग समन्वय गरी तीन वटै पालिकाको एउटै ल्याण्डफिल्ड साइड बनाउने योजना बारेमा छिट्टै छलफल गरी पुनः बजेट माग गरिने उनको भनाई छ ।