इलामको रोङ गाउँपालिका : जहाँ हुँदैछ स्थानीय उत्पादनको धमाधम 'ब्राण्डिङ'
इलामको रोङ गाउँपालिकाले गुन्द्रुकको ब्राण्डिङ गरी बजार पठाउन सफल भए पछि यस वर्ष सिस्नोको ब्राण्डिङ गर्ने भएको छ । स्थानीय खोला खोल्सामा पाइने सिस्नो बजारमा पु¥याउँदा राम्रो मूल्य पाउने भएपछि गाउँपालिकाले गाउँ सभाबाट पारित गर्दै सिस्नोको ब्राण्डिङ गर्ने भएको हो । गाउँपालिकाले ६ महिना अघिदेखि सहकारी मार्फत किसानका बारीको साग सङ्कलन गरी प्रशोधन गरेर ब्रान्डिङ गरेको गुन्द्रुकको प्याकेट तयार गरेको छ । ‘रोङ गुन्द्रुक’ नामले ब्राण्डिङ गरेको गुन्द्रुकको अहिले नेपालका चलेका सुपर मार्केट र अमेरिकामा माग उच्च रहेको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए ।
उनले भने– ‘गुन्द्रुकमा सफल भएपछि प्रत्यक्ष किसानको समृद्धिसँग जोडिएको सिस्नोको ब्राण्डिङ गरेर बजारीकरणको तयारी हो ।’ गुन्द्रुकलाई गुणकारी खाद्य बस्तुको रुपमा समेत चिनिने गरेको उनले जानकारी दिए । रोङ गुन्द्रुक प्याकेजिङ्ग गरिएकै उद्योगमा प्रशोधन गर्न सकिने भएको हुनाले पूर्वाधारको एउटै लगानीमा दुवै बस्तुको उत्पादन हुने गरी सिस्नु ब्राण्डिङ योजना अघि बढाइएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवासले जानकारी दिइन् ।
किसानलाई बाँदरले अत्यधिक दुःख दिएको अवस्थामा सिस्नु रोपिएको स्थानमा बाँदरले दुःख नदिने भएकोले पनि उक्त कार्यक्रम प्रभावकारी बन्ने उनले बताए । सिस्नोले पोलेपछि बाँदर भाग्छ । कच्चापदार्थको सहज उपलब्धता र उच्च माग सिस्नो ब्राण्डिङ कार्यक्रम सफल हुने आधार भएको अध्यक्ष स्याङ्बोले बताए ।