२०८३ बैशाख २४ गते , विहीबार

सशस्त्रको संगठनात्मक र दरबन्दी संरचनामा व्यापक परिवर्तन, छायो उत्साह

sajilo news
पत्रपत्रिका
२०८० श्रावण ११ गते , विहीबार
सशस्त्रको संगठनात्मक र दरबन्दी संरचनामा व्यापक परिवर्तन, छायो उत्साह

सरकारले सशस्त्र प्रहरी बल नेपालको संगठनात्मक र दरबन्दी संरचना परिवर्तन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय कितावखाना (प्रहरी) लैनचौरले सोमबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयलाई स्वीकृत दरबन्दी र संगठनात्मक संरचनाको ३५ पाने पत्रसमेत पठाएको छ । यसअघि ३ साउनको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी बलको संगठन तथा व्यवस्थापन तथा सर्वेक्षण (ओएण्डएम) प्रतिवेदन २०८० स्वीकृत गरेको थियो ।

सशस्त्र प्रहरी बलको नयाँ संगठनात्मक एवं दरबन्दी संरचना विशेषगरी संगठनले हाल जवानदेखि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सम्मले बढुवाका लागि भोग्दै आएको समस्या समाधानतर्फ केन्द्रित भएको देखिन्छ । सशस्त्र युद्धताका गठन भएको सशस्त्र प्रहरी बलमा त्यसबेलाको परिस्थितिअनुरुप स्थापनाकालदेखि ६/७ वर्षसम्म छोटो छोटो समयमा ठूलो संख्यामा जवान, सहायक निरीक्षक र सशस्त्र प्रहरी निरीक्षक भर्ना गरिएकोमा त्यसपछिका दिनमा माथिल्लो दरबन्दी संरचना पुनरावलोकन नहुँदा बढुवा प्रक्रिया लगभग ठप्पै थियो । एउटै पदमा १५/१६ वर्षसम्म अल्झिनु पर्दा उनीहरुमा चरम निराशा र संगठनप्रति नै वितृष्णा पैदा हुँदै गएको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले यही समस्या समाधान गर्न संगठन तथा व्यवस्थापन तथा सर्वेक्षण (ओएण्डएम) प्रतिवेदन २०८० सरकारबाट स्वीकृत गराउन सफल भएका हुन् ।

त्यसो त तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पनि संगठन तथा व्यवस्थापन तथा सर्वेक्षण (ओएण्डएम) प्रतिवेदन २०७८ मार्फत् यो समस्याको केही हदसम्म समाधान गरेका थिए । त्यसबेला उनले संगठनको कुल संख्या नै घटाएर दुई ओटा प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षकदेखि सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) सम्मको दरबन्दी वृद्धि गरेका थिए । अहिले भने आईजीपी अर्यालले थोरै नै सही, कुल संख्या भने बढाएका छन् ।

स्वीकृत ओएण्डएमअनुसार, संगठनको कुल संख्या केही बढेको देखिन्छ भने दर्जामा थपघट गरिएको छ । दर्जामा थपघट गर्ने क्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), उपरीक्षक (एसपी), नायव उपरीक्षक (डीएसपी)को सख्या बढाइएको छ । यस्तै, निरीक्षक (इन्सपेक्टर), वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई), हबल्दार र सहायक हबल्दारको संख्या बढाइएको छ ।

सशस्त्र प्रहरी नायव निरीक्षक (सई), सहायक निरीक्षक (असई) र जवानको संख्या घटाइएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), नायव महानिरीक्षक (डीआईजी) को संख्या यथावत राखिएको छ । यसैगरी, वरिष्ठ हबल्दार र परिचरको संख्या थपघट गरिएको छैन ।

नयाँ संगठनात्मक एवं दरबन्दी संरचनाअनुसार सशस्त्र प्रहरीको कुलसंख्या ३७ हजार ५५ बाट ९८ बढेर ३७ हजार एक सय ५३ पुगेको छ ।

दर्जागतरुपमा हेर्दा एसएसपीको संख्या ३१ बाट ११ बढाएर ४२, एसपीको १२६ बाट ४१ बढाएर १६७, डीएसपीको ४६० बाट २८ बढाएर ४८८ पु¥याइएको छ । यसबाट सिसं २ का इन्सपेक्टर बेसिकका एसपीहरु लाभान्वित हुनेछन् । त्यस्तै, २०६० सालमा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली हालसम्म पनि डीएसपी नै रहेकोमा अब बाँकी सबै जना एसपी हुनेछन् । सशस्त्रमा पहिलो व्याचका ९ जनामध्ये चार जना डीआईजी बनिसकेका छन् भने सिसं २ का केही एसएसपी बनिसकेका छन् । केही एसपीमै कार्यरत छन् । तर सिसं ३ का थोरै मात्र एसपी बनेका छन् । अहिले संख्या नबढेको भए सिसं ३ बेसिकका इन्सपेक्टरले एसपीमा बढुवा हुनका लागि अझै केही वर्ष कुर्नुपर्ने थियो । जबकि, सिसं १ र ३ मा इन्सपेक्टरमा भर्ना भएकाहरुबीचको अवधि जम्मा १५ महिना मात्रै छ । आजको राजधानी दैनिकमा खबर छ । 

सम्बन्धित समाचार