किलोकै ७० पुग्यो २ रुपैयाँमा नबिकेको गोलभेंडा

झापा । २ रुपैयाँ प्रतिकिलो पनि नबिकेपछि कालीमाटी तरकारी बजार र मूल सडकमा किसान र व्यापारीले गोलभेडा फ्याँकेको १ महिना बित्दै छ। त्यतिबेला कालीमाटी तरकारी बजारमा थोक गोलभेडाको मूल्य न्यूनतम ६ रुपैयाँ र अधिकतम १० रुपैयाँ थियो। बजारमा अत्यधिक मात्रामा मूल्य ६ रुपैयाँ तोके पनि किसानबाट २ रुपैयाँमा किन्ने थोक बिक्रेता पाइएको थिएन। सोही गोलभेंडाको भाउ एक महिनाको अन्तरमा ९ गुणाले बढिसकेको छ।
त्यतिबेला ५ हजार क्रेट अर्थात १२ टन गोलभेडा बाटोमा फालिएको थियो। कालीमाटी घटनाको अघिल्लो सातामात्रै काभ्रेका किसानले पनि खोलामै बगाइदिएका थिए। त्यतिबेला २ रुपैयाँमा पनि नबिक्ने गोलभेडाको थोक मूल्य अहिले ७० रुपैयाँदेखि ११० रुपैयाँसम्म पर्न थालेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको साउन १० गतेको तथ्यांकअनुसार ठूलो नेपाली गोलभेंडा प्रतिकिलो अधिकतम १ सय १० रुपैयाँ छ। गत असार पहिलो साता औसत ३३ रुपैयाँ थियो। यस्तै, टनेलको सानो गोलभेडा प्रतिकिलो औसत ८ रुपैयाँ थियो अहिले बढेर औसत ६३.४० रुपैयाँ छ। यो तरकारी बजारको थोक मूल्य हो। खुद्रा पसलमा अझै महँगो छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ अघिल्लो महिना गोलभेंडाको आपूर्ति उच्च रहेकाले मूल्य नपाएको र अहिले आपूर्ति घटेकाले मूल्य बढेको बताउँछन्। ‘त्यो बेला सबैको टनेलबाट एकैचोटी बजारमा आए, त्यतिबेला आपूर्ति अनुसार माग भएन,’ श्रेष्ठले भने। उनका अनुसार भारतमा गोलभेंडा झनै महँगो छ। ‘स्थानीय उत्पादनले माग धान्न नसक्दा गोलभेंडाको मूल्य अत्यधिक बढेको हो।’
अहिले काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट मात्रै गोलभेंडा आएका छन्। समितिको तथ्यांकअनुसार असार सुरु भएपछि सानो गोलभेंडा बढी भित्रिएको थियो तर अहिले आधाले घटेको छ। गत असार २ गते कालीमाटीमा ९५ हजार ५५० केजी गोलभेंडा भित्रिएको थियो तर साउन ९ गते साढे ५८ हजार मात्रै भित्रिएको छ। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।