२०८१ बैशाख ३ गते , सोमबार

२ करोड लगानीमा बनाइएको बिर्तामोडको शहिद नेत्र पार्क अलपत्र

sajilo news
झापा
२०८० श्रावण १० गते , बुधबार
२ करोड लगानीमा बनाइएको बिर्तामोडको शहिद नेत्र पार्क अलपत्र

(प्रदीप परियार) बिर्तामोड । झापाको बिर्तामोड –७ मा अवस्थित शहिद नेत्रलाल पार्क नेपाल सरकारको सय गन्तव्यमध्येको एक पर्यटकीय गन्तव्य हो । सय गन्तव्यमा सूचिकृत भएपछि नेत्रलाल पार्कले करोडौँ रुपैयाँ प्राप्त गर्न सफल भयो । तर, पार्कमा गरिएको करोडौँ लगानी अहिले बालुवामा पानी सरह भएको छ ।

बिर्तामोडस्थित गरामनिबाट पूर्वोत्तर (२.५ किमी) भागमा रहेको नेत्रलाल पार्क सुन्दर निचाझोडा सामुदायिक वनभित्र निर्माण गरिएको छ । सय गन्तव्यको सूचिमा परेपछि पार्कले नयाँ स्वरूप हासिल गरेको थियो । तर, पार्कमा करोडौँ लगानी गरेर निर्माण गरिएका संरचना अहिले झाडीले ढाकेको छ, पुरेको छ । संरचना निर्माणपछि सञ्चालन नै नभई पार्क बेवारिसे अवस्थामा पुगेको हो ।

नेत्रलाल पार्कमा बोटिङका लागि पोखरी निर्माण गरिएको थियो । सँगै, स्वीमिङसहित चिल्ड्रेन पार्क निर्माण गरिएको छ । पार्कभित्र डाइनोसर समेत राखिएको छ । पोखरी पातपतिङगरले पुरिन लागेको छ भने स्वीमिङ पुल प्रयोग विहीन बनेको छ । स्वीमिङ पुल र बालबालिका खेल्ने संरचनाहरू बिग्रिसकेका छन् भने डाइनोसर प्रयोग गर्नै नमिल्ने गरी बिग्रिसकेको छ ।

आर्थिक वर्ष ०७५-७६ को बजेट व्यक्तव्यको बुँदा नं. ११४ मा नेपालको पर्यटन प्रवर्द्धनका लागि नयाँ गन्तव्यको पहिचान तथा विकास गर्ने उल्लेख थियो । सो बमोजिम मन्त्रीपरिषद्ले झापाको शहिद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन र अर्जुनधारा पर्यटकीय गन्तव्यलाई सय गन्तव्यमा अटाएको थियो ।

तत्कालीन एमाले नेता नरेश खरेलको अध्यक्षतामा पार्क निर्माण गरिएको हो । खरेलका राजनीतिक सहयात्री शहिद नेत्रलाल घिमिरेको स्मृतिमा निर्माण गरिएको पार्क अहिलेसम्म सञ्चालन हुन सकेको छैन । सो समितिको उपाध्यक्षमा माओवादीका नेता सिपी कडरिया र सचिवमा खरेलका भतिज टिका खरेल रहेका थिए ।

स्विमिङमा मात्रै ५० लाख लगानी : टिका खरेल, सचिव
पार्क निर्माण समितिका अन्तिम सचिव टिका खरेलले नेत्रलाल पार्कमा २ करोड बढी लगानी भइसकेको जानकारी दिए । उनले आन्तरिक पर्यटनका लागि असाध्यै अनुकूल स्थल भए पनि सञ्चालन हुन नसकेको बताए । तीन जना अध्यक्षसँग बसेर सचिवको काम गरेका खरेलले पार्कमा पिकनिक स्थल, चिल्ड्रेन पार्क, स्वीमिङ, चेन्जिङ रुम र शीतल घरहरू निर्माण सम्पन्न गरिएको जानकारी दिए । अहिले धेरै संरचनाहरूको सामान नै चोरी भइसकेको छ ।

सचिव खरेलका अनुसार तत्कालीन एमाले नेता नरेश खरेलले निर्वाचन क्षेत्र विकास कोषबाट दिएको पहिलो पाँच लाखबाट काम सुरु गरिएको बताए । त्यस पछि संस्कृति पर्यटन मन्त्रालय, प्रदेश सरकार, झापाका सांसदहरूले पार्क निर्माणमा बजेट उपलब्ध गराएका थिए । झापा २ को सांसद रहँदा सुधीर शिवाकोटीको संयोजकत्वमा तत्कालीन सांसद मोहन टुडु, नरेश खरेल, सिपी मैनाली, मनकुमार गौतम लगायतले पार्कमा एकमुष्ट ८ लाख लगानी गरेका थिए ।

संस्कृति पर्यटन मन्त्रालय, प्रदेश सरकारबाट ५०/५० लाख, नगरपालिकाबाट २५ लाख, सांसदहरू, पर्यटन कार्यालयहरूबाट २ करोड बढी लगानी लगानी गरिसकेको सचिव खरेलको भनाई छ । उनले राजनीतिक द्वन्द्वका कारण नेत्रलाल पार्क अघि नबढेको जिकिर गरे । उनका अनुसार ७५ प्रतिशत काम सकिएको छ । सञ्चालन गर्न पहल गरे सञ्चालन गर्न सकिन्छ ।

नेत्रलाल पार्कमा स्वीमिङ र चेन्जिङ रुम ५० लाख, डाइनोसर र बालबालिका खेल्ने दुई थान सामग्रीमा मात्रै २५ लाख गरेर ७५ लाख लगानी भएको उनको भनाई छ । बिर्तामोड नगरपालिकाले प्रवेशद्वार, टिकट काउन्टर र केही टहरा निर्माणमा २५ लाख खर्च गरिसकेको सचिव टिका खरेलले जानकारी दिए । उनले अन्य बजेट पोखरी निर्माण, बोट खरिदसँगै विभिन्न संरचना निर्माणमा खर्च भएको बताए ।

राज्यको ठुलो लगानी खेर गयो : पहिलो अध्यक्ष
उक्त पार्कको पहिलो अध्यक्ष हुन्, खडानन्द निरौला । उनले आफ्नो कार्यकालको बेला पोखरी खन्ने काम गरे । पोखरी खन्ने, पोखरीको बिच भागमा बगैँचा निर्माणका लागि ढुङ्गाको बेरा लगाए । आफ्नो कार्यकालको काम सम्झँदै निरौलाले भने, मैले बजेट अभावले पोखरी पनि पुरा खन्न सकिन । करिब १५ लाखको बजेटबाट कामको थालनी गरेको उनको भनाई छ । पार्कले पछिल्लो पटक उच्च तहको नेतृत्व पाए पनि सञ्चालन हुन नसकेकोमा दुख व्यक्त गरेका छन् । उनले भने, करोडौँ लगानी गरेर पनि सञ्चालन नहुँदा राज्यको ठुलो लगानी खेर गएको छ ।

पार्क सञ्चालन हुनुपर्छ : वडाध्यक्ष खरेल
बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले कुनै पनि हालतमा नेत्रलाल पार्क सञ्चालन हुनुपर्ने बताउँछन् । राज्यको करोडौँ लगानी गरेर बेवारिसे बनाउन नहुने उनको तर्क छ । वडाध्यक्ष खरेल पनि पार्क निर्माण समितिका सदस्य हुन् । उनले भने, हामी भित्तामा फोटो झुन्ड्याउने सदस्यमा मात्र बन्न सक्यौँ । बजेट आएको मात्रै थाहा छ, कहाँ के मा कसरी खर्च गरियो अहिलेसम्म थाहा छैन । वडाध्यक्ष खरेलले पार्क निर्माणको सबै हरहिसाब सार्वजनिक गरेर वन वा स्थानीय तहलाई जिम्मा लगाउनुपर्ने बताएका छन् । ‘बिर्तामोड नगरपालिकाभित्रको पर्यटकीय गन्तव्य झाडीले पुरिएको छ भन्नुपर्दा दुख लाग्छ’ वडाध्यक्ष खरेलले भने ।

नेताले पार्क सञ्चालन गर्न सकेनन् : प्याकुरेल
सुन्दर निचाझोडा सामुदायिक वनका अध्यक्ष बद्री प्याकुरेलका अनुसार पर्यटकीय स्थल बनाउन ८/१० वर्ष अघि देखि पहल प्रयत्न भएको थियो । प्रदेश सांसद एकराज कार्की वन समितिको अध्यक्ष हुँदै पर्यटकीय स्थल निर्माणका लागि पोखरी निर्माण लगायतको काम थालिएको थियो । पछि झापा क्षेत्र नं. २ बाट निर्वाचित सांसद पवित्रा निरौला खरेलको कार्यकालमा अलि धेरै काम भएको बुझाई छ ।

खरेलको कार्यकालमा पार्क निर्माणका लागि पटक–पटक बजेट प्राप्त भएको थियो । श्रीमती सांसद भएको बेला पार्क निर्माण समितिको अध्यक्ष नरेश खरेल बनेका थिए । वनका अध्यक्ष प्याकुरेलले एमालेको नेतृत्वमा पार्क निर्माण कार्य थालिएको जानकारी दिए । उनले पार्कमा प्रदेश र सङ्घीय सरकारले लगानी गरेको बताए । बिर्तामोड नगरपालिकाले पनि २५ लाख लगानी गरिसकेको छ । गत आ.व. मा अन्तिम पटक प्रदेशले घेरावारिका लागि २० लाख उपलब्ध गराएको बुझिएको छ ।

वन समितिका अध्यक्ष प्याकुरेलले निर्माण समितिमा रहेका माथिल्लो तहका नेताहरूले पार्क सञ्चालनमा ख्याल नगरेको गुनासो गरे । पार्क समितिसँगै स्थानीय तहले पनि सञ्चालनका लागि चासो दिनुपर्ने उनको माग छ । ३२ हेक्टरमा फैलिएको पार्कमा हालसम्म करिब अढाई करोड लगानी भइसकेको प्याकुरेलको भनाई छ । वन समितिले रेखदेख बाहेक पार्कको अन्य केही काम गर्न नसकेको उनले स्वीकार गरेका छन् ।

मुख्य समस्या जङ्गली हात्ती : सांसद कार्की
कोशी प्रदेशका सांसद एकराज कार्कीले जङ्गली हात्तीको समस्याका कारण पार्कलाई सञ्चालनमा ल्याउन नसकेको बताएका छन् । उनले पार्क सञ्चालन नहुनुको मुख्य कारण नै हात्ती भएको दाबी गरे ।
उक्त पार्क निर्माण भएको सामुदायिक वनको १८ वर्ष नेतृत्व गरेका कार्कीले हात्ती नियन्त्रणका लागि सोलार फेन्सिङको निर्माण र सरसफाइको काम गरे सञ्चालन गर्न सहज हुने बताए । हालसम्म २ करोड लगानी भइसकेको पार्कमा अहिले पनि घेराबाराको काम चलिरहेको सांसद कार्कीको भनाई छ । २० हेक्टरमा घेरावारिको काम भएको र अन्य ठाउँ घेराबारा गर्न बाँकी रहेको बताएका छन् ।

पार्क निर्माण गर्नुभन्दा पहिले हात्ती महिनामा एक-दुई पटक मात्रै आउँथ्यो । अहिले दिनहुँ आउने गरेका छन्, कार्कीले भने – हात्ती नियन्त्रण नभएसम्म पार्क सञ्चालन गर्न गाह्रो छ । हात्ती आउँछ भन्ने जानकारी हुँदाहुँदै किन करोडौँ लगानी गर्नुभयो भन्ने जिज्ञासामा उनले थपे– पहिले अहिले जस्तो धेरै हात्ती आउँदैन थिए ।

पार्क सञ्चालनमा नरेश खरेल र एकराज कार्की बीचको द्वन्द्वले अवरोध भएको धेरैको बुझाई छ । यस बारे कार्की भन्छन्, हामीबीच द्वन्द्व छैन । हाम्रो द्वन्द्वले पार्कमा समस्या आएको होइन । तर, कार्कीले नरेश खरेललाई निर्माण समितिको अध्यक्षमा नबस्न भने सुझाव दिएका थिए ।

नेता नै समितिको अध्यक्ष बन्नु हुँदैन, पछि समस्या आएमा समाधान गर्ने व्यक्ति चाहिन्छ भन्दा खरेलले अस्वीकार गरेर अध्यक्ष बसेका थिए । श्रीमती प्रतिनिधिसभाको माननीय, श्रीमान् निर्माण समितिको अध्यक्ष अलि मिल्दोजुल्दो नभएको भन्दै कार्कीले अध्यक्ष नबन्न आग्रह गरेको कुरा सत्य भएको स्वीकार गरे ।

सम्बन्धित समाचार