२०८३ बैशाख ३ गते , विहीबार

मधेसबाट कोशी प्रदेशमा तस्करी : विनाजाँच पशुपंक्षीको ओसारपसार, सशस्त्रले समात्यो भारतीय कुखुरा र बोलेरो जिप 

sajilo news
झापा
२०८० श्रावण ९ गते , मंगलबार
मधेसबाट कोशी प्रदेशमा तस्करी : विनाजाँच पशुपंक्षीको ओसारपसार, सशस्त्रले समात्यो भारतीय कुखुरा र बोलेरो जिप 

झापा । सशस्त्र प्रहरीले सुनसरीको इनरुवाबाट भारतीय प्रतिबन्धित बोइलर कुखुरासहित एउटा जिप नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी इनरुवास्थित ४ नम्बर गणका डिएसपी प्रेम सिग्देल नेतृत्वमा खटिएको टोलीले मङ्गलवार बिहान साढे ४ बजे  बोलेरो जिपसहित जिउँदो कुखुरा बरामद गरेको हो ।

मधेस प्रदेशको सिराहाबाट झापाको दमकतर्फ ल्याउँदै गरेको बोइलर कुखुरासहितको गाडी पूर्व पश्चिम राजमार्गको इनरुवा सडक खण्डबाट बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराहा बाहिनीका डीआइजी अन्जनीकुमार पोख्रेलले बताए । उनका अनुसार स १ च १६८४ नम्बरको ‘बोलेरो’ र त्यसमा रहेको ४०० भारतीय जिउँदो बोइलर कुखुरा बरामद गरिएको हो । 

भारतीय प्रतिबन्धित कुखुरा र माछा आयातमा कोशी प्रदेशमा प्रहरीले कडाइ गरेपछि तस्करले मधेस प्रदेशका नाकाबाट भारतीय प्रतिबन्धित कुखुरा नेपाल भित्राउने गरेका छन् । मधेसमा भारतबाट भित्र्याइएका कुखुरा कोशी प्रदेशमा अवैध ढङ्गबाट तस्करले ल्याउने गरेका छन् । 

जिल्ला कुखुरा व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष डाक्टर राजकुमार यादवले तस्करले नेपालका बिचौलियासँगको मिलेमतोमा सुनसरीको कोशी ब्यारेज र चतराको कोशी पुलबाट प्रहरीको आँखा छलेर कोशी प्रदेशका विभिन्न सहरमा पुर्‍याउने गरेको बताए । 

‘दैनिक १० देखि १५ वटा सम्मका गाडीले भारतीय प्रतिबन्धित जिउँदो कुखुरा कोशीका दुई वटा पुल प्रयोग गरेर सुनसरी, मोरङ र झापासम्म लैजाने गरेका छन्,’ अध्यक्ष यादवले भने ।

सशस्त्र प्रहरीका डिएसपी सिग्देलले सिराहाका पशु चिकित्सक जगत् नारायण यादवले बरामद गरिएका कुखुराको निरोगिताको प्रमाणपत्र जारी गरेको बताए । डा. यादवले नेपाल भेटेरिनरी काउन्सिलबाट २८४ नम्बरको सदस्यता लिएको भेटेरिनरी पेपरमा उल्लेख भएको पनि उनले जानकारी दिए । 

चिकित्सकले खोरमा गएर कुखुराको स्वास्थ्य र जात छुट्टाएर बस्तुको प्रमाणित गर्नुपर्छ । तर, भारतीय कुखुरालाई नेपालमा वैधता दिन डा यादवले फिल्डमै नपुगी बरामद भएको कुखुराको भेटेरिनरी प्रमाण पत्र जारी गरेका छन् । उनले जारी गरेको प्रमाण पत्रमा  ‘कव ५००’ उल्लेख छ । तर, इनरुवा नगरपालिकाका पशु चिकित्सक डा. राजकुमार यादवले बरामद भएको कुखुरा भारतीय जात  ‘कव ४००’ भएको पुष्टि गरेका छन् । उनले भने,‘ बरामद भएको कुखुरा नेपालमा नपाइने जात हो, यो भारतीय जात हो ।’

यता, डा जगत् नारायण यादवले फिल्डमा नपुगी कुखुराको भेटेरिनरी प्रमाण पत्र भुलवश जारी भएको स्वीकार गरेका छन् । 

बरामद गरिएका कुखुराको झुटो विवरण दिने डा जगत् नारायण यादवले भने, ‘मैले कुखुराको स्थलगत जाँच गरेको होइन ।' सिराहाको जय कृष्ण ट्रेडर्सले मेरा नाममा काउन्सिलबाट जारी भएको भेटेरिनरी प्रमाण पत्रको दुरुपयोग गरेका रहेछन् । 'प्रतिबन्धित भारतीय कुखुरा दमकका कुखुरा व्यवसायी कुलबहादुर तामाङलाई पठाएको थाहा पाए,’ उनले भने, 'भेटेरिनरी प्रमाणमा अगाडी मैले हस्ताक्षर गरेको थिए । त्यही हस्ताक्षरलाई दुरुपयोग गरेर जय कृष्ण ट्रेडर्सले दमकका व्यवसायीलाई विक्री गरेका रहेछन्, उनले भने ।

यता पशु क्वारेनटाइन सुनसरीका प्रमुख डा. सरिलाल चौधरीले कुखुराको जाँच नगरी भेटेरिनरी कागज दिने डा. जगत् नारायण यादवलाई कारबाहीका लागि भेटेरिनरी काउन्सिलमा सिफारिस गर्ने बताए । 

बरामद गरिएका कुखुरा पशु क्वारेनटाइन र  ‘बोलेरो’ जिप भने भन्सार कार्यालय बुझाउने तयारी भइरहेको सशस्त्रले जनाएको  छ । बजारमा ५ लाख मुल्य पर्ने बरामद गरिएका कुखुरा क्वारेनटाइनले नष्ट गर्ने जानकारी दिएको छ ।

सम्बन्धित समाचार