गोदकले उचाल्यो राँके फुटबलको उपाधि
राँके स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि गोदक एफसीले जितेको छ । सन्दकपुर गाउँपालिका—४ माबुमा भएको प्रतियोगिताको फाइनल खेलमा युनाइटेड इलामलाई टाइब्रकेरमा हराउँदै गोदकले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो ।
टाइब्रेकरमा ४—३ अन्तरले जित निकाल्दै गोदकले उपाधिसँगै ५१ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र सुरक्षित गरेको हो । इलामका कप्तान पुष्कर दाहाल र नितेश गुरुङको प्रहार गोलरक्षक विवेक मगरले रोक्दै गोदकलाई उपाधि दिलाए । उपविजेता इलामले नगद २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगिताको सर्वाधिक गोलकर्ता सन्दकपुर खेल संघका रजिम बुर्जा मगर घोषित भए ।
उनीसँगै गोदकका शेखर राईले समेत ७ गोल गरेका थिए । बुर्जाले एकै खेलमा ७ गोल गरेका कारण उनले सर्वाधिक गोलकर्ताको उपाधि पाए । उत्कृष्ट गोलरक्षक गोदकका कप्तान विवेक मगर घोषित भए । उत्कृष्ट डिफेन्डर इलामका नितेश गुरुङ, उत्कृष्ट स्ट्राइकर गोदकका शेखर राई, मिडफिल्डर गोदककै सचिन वाइबा, उदीयमान खेलाडी सन्दकपुर खेल संघका दिपेन गुरुङ घोषित भए । उनीहरूले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । गत असार २४ गतेबाट सुरु भएको प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको थियो ।