बिर्तामोडको 'गिरीबन्धु टी–स्टेट' का शेयरधनीबीच विवाद, १०२ बिगाहा जमिनको सहमति कार्यान्वयन गर्न माग (विज्ञप्तिसहित)

बिर्तामोड । झापाको बिर्तामोड- ६ स्थित ‘गिरीबन्धु टी–स्टेट’ भित्रको पारिवारिक विवाद उत्कर्षमा पुगेको छ । कम्पनीका एक शेयरधनी छत्रबहादुर गिरीले आफूखुसी गर्न थालेपछि अन्य शेयरधनीले आफ्नो हिस्साबारे अधिकार खोजेका छन् । छत्रबहादुरको हालीमुहालीले सीमा नाघेको भन्दै अन्य शेयर सदस्य न्यायका लागि अदालत धाइरहेका छन् ।
अन्य शेयरधनीका अनुसार छत्रबहादुरले बगानभित्र आफूखुसी जमिन बेचिरहेका छन् । जमिन बेच्दै करोडौँ रकम उठाएकोमा साझेदारहरूले आपत्ति जनाएका छन् । २०२० सालमा स्थापित गिरीबन्धु टी–स्टेटमा छत्रबहादुर गिरी २५ प्रतिशत साझेदार हुन् । त्यतिबेला देखि नै अन्य साझेदारको कम्पनीमा ७५ प्रतिशत हिस्सा छ । छत्रबहादुरले अन्य साझेदारले पाउने हिस्सा नदिई एकलौटी रुपमा जमिन दिने भन्दै झापादेखि काठमाडौँसम्मका व्यवसायीसँग करोडौँ रकम उठाएको आरोप उनीहरूले लगाएका छन् ।
झापाको पृथ्वीनगरमा चिया बगान स्थानान्तरण गर्ने भन्दै जमिन विक्री गर्न थालिएको थियो, अन्य शेयर सदस्य भन्छन्, – अन्य शेयर सदस्यहरूको सहमति बेगर जमिन बेच्न पाइँदैन । छत्रबहादुर गिरीले व्यवसायीसँग करोडौँ रकम उठाएको अर्का साझेदार कृष्णकुमार गिरीका छोरा नवीन गिरीले बताएका छन् । छत्रबहादुरले २५ देखि ३० करोडको हाराहारीमा रकम उठाएको उनको अनुमान छ । जग्गा खरिदबाट उठाइएको करोडौँ रुपैयाँको कम्पनी जबाफदेही नहुने र उक्त रकमको जिम्मेवारी छत्रबहादुर गिरी र किनबेचमा संलग्न एजेन्टहरू नै हुने नवीन गिरीको भनाई छ । ‘हामीलाई थाहा नै छैन, छत्र काकाले बजारमा करोडौँ रकम उठाउँदै हुनुहुन्छ अरे, गिरीले भने, ‘२५ देखि २७ प्रतिशत शेयर भएको कम्पनीको शेयर होल्डरले १०० प्रतिशत नै मेरो हो भनेर भ्रम छरिरहनु भएको छ । तर, हामीले त्यो जमिन खरिद गर्ने नाममा कोही पनि नफसुन् भनेर सत्य कुरा सार्वजनिक गरेका हौँ ।
गिरीबन्धु टी–स्टेटको २०४० सालमा भएको विशेष साधारण सभाले भगवान् गिरी, प्रेमकुमार गिरी र कृष्णकुमार गिरीलाई कम्पनीको हिस्साका रुपमा राजमार्गको उत्तरपटी १०२ बिगाहा जमिन दिने निर्णय गरेको थियो । त्यसबेला चल अचल सम्पत्तिको मूल्याङ्कन गरेर २३ लाख ५१ हजार रुपैयाँ छत्रबहादुर गिरीले भगवान्, प्रेमकुमार र कृष्णकुमार गिरीलाई दिने सहमति भएको थियो । सो सहमति अनुसार छत्रबहादुरले १० लाख रुपैयाँ मात्र दिएको नवीन गिरीले उपलब्ध गराएको कागजपत्रमा उल्लेख छ ।
बाँकी रकम १३ लाख ५१ हजार रुपैयाँ र कम्पनीको हिस्सा १०२ बिगाहा जमिन आफूले पाउनुपर्ने मागसहित असन्तुष्ट गिरी परिवारले छत्रबहादुरलाई प्रतिवादी बनाउँदै २०७८ सालमा ‘किर्ते जालसाँझ’ र ‘दूषित कित्ता नक्सा एकीकृत निर्णय, दर्ता बदर, दर्ता कायम, चलन’ मुद्दा दर्ता गराएको थियो । सो मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ । यसैगरी २०७९ साल असोजमा कम्पनी रजिस्ट्रारको कार्यालयमा ‘आवश्यक छानबिन गरी कम्पनीको हिसाब किताब गरी शेयर समेत अद्यावधिक गरी पाउँ’ भन्दै पीडित पक्षले निवेदन गरेको थियो ।
छत्रबहादुरले २०७८ चैतमा पीडितको माग दाबी अनुसारको जमिन छुट्याउन बाँकी रहेको प्रतिउत्तर अदालतमा फर्काएका थिए । सो प्रतिउत्तरमा उनले विशेष साधारण सभाले गिरीबन्धु टी–स्टेट प्रालीको नाममा दर्ता कायम रहेको राजमार्ग उत्तर–पूर्वतर्फबाट १०२ बिगाहा जमिन फिर्ता गर्न तयार नै रहेको स्वीकारेका छन् । सो जमिनमा भएको चिया बगान बादीसमेतका हिस्सेदारहरूले भोग गरिरहेको कुरा छत्रबहादुरले स्वीकार गरी रितपूर्वक आएमा जमिन राजीनामा पास गरिदिने अदालतलाई जानकारी गराएका थिए ।
‘हामीले छत्र काकालाई व्यवहार मिलाउन धेरै पटक अनुरोध गरेऔँ, उहाँ केही न केही बहाना बनाएर हामीसँग सम्पर्कमा आउनु हुन्न, पीडित मध्येका नवीनले भने, ‘घरमा गएर भेट्यो भने पनि उहाँ केही न केही बहाना बनाएर काठमाडौँतिर जानुहुन्छ । उहाँसँगको सहमतिमा व्यवहार नमिल्ने देखेर हामीले कानुनी बाटो रोजेका हौँ ।’ हामीले अदालतदेखि कम्पनी रजिस्टारको कार्यालयसमेतमा सो जमिनमा रहेको हाम्रो हिस्सा दिलाइ पाउन निवेदन गरेका छौँ । हाम्रो मागको उचित सुनुवाइ हुनु पर्छ ।’‘कम्पनी स्थापना हुँदाका समयमा छत्र काका ९ वर्षको हुनुहुन्थ्यो, यतिबेला उहाँ ७० वर्ष पुग्नुभयो, नवीनले भने, ‘यतिबेला आएर उहाँ कम्पनीको स्वामित्व एकलौटी बनाउने योजनामा हुनुहुन्छ, त्यसका विरुद्ध हामी कानुनी लडाइँमा छौँ ।’
पीडितहरूको निवेदन उपर कारबाही गर्दै कम्पनी रजिस्टारको कार्यालयले २०७९ फागुनमा ६ बुँदै आदेश गरेको थियो । त्यो निर्देशनलाई पनि छत्रबहादुरले पालना नगरेको पीडितहरूको आरोप छ । २०४० साल कार्तिक १७ को विशेष साधारण सभाको निर्णय सम्बन्धी सक्कल कागजात, साधारण सभाको निर्णय बमोजिम भगवान्, प्रेमकुमार र कृष्णकुमार गिरीले आफ्नो स्वामित्वको शेयर बिक्री हस्तान्तरण गरेको भए सो सम्बन्धी लिखत कागजातहरू उजुरकर्ताहरूको नाममा जग्गा हक हस्तान्तरण भए नभएको जवाफ सहित सो सम्बन्धी लिखत कागजात, उजुरकर्ताहरूको नामको शेयर के कुन आधारबाट राइट अफ शेयर भएको हो ? सो सम्बन्धी कानुनी आधार प्रमाण सहितका कागजातहरू र कम्पनी दर्ता हुँदाका बखतको सुरु शेयर लागतको विवरण र सञ्चालक समितिको निर्णय र कम्पनीका कागजातहरू हालसम्मको अद्यावधिक विवरण, लेखा परीक्षण प्रतिवेदन तथा कम्पनीबाट भएका हालसम्मका निर्णयहरूको लिखत कागजात बुझाउन कम्पनी रजिस्टारको कार्यालयले आदेश गरेको थियो । छत्रबहादुरले कम्पनी घाटामा गएको भन्दै विगत ८ वर्षदेखि चालु अवस्थामा रहेको उद्योग बन्द गराएका थिए । त्यस स्थानमा उत्पादित हरियो पत्ती आफ्नो छोराको स्वामित्वमा रहेको ‘शमशेर एन्ड गङ्गादेवी टी कम्पनी’ मा लगेर प्रशोधन गर्दै एकलौटी बिक्री गरिरहेको आरोप पीडित पक्षको छ ।
गिरीबन्धु टी–स्टेटमा छत्रबहादुरसहित प्रेमकुमार, कृष्णकुमार, त्रिलोचन (नन्दकिशोर), श्याम, प्रशान्त, राजेश, भरतलाल र रमेश गिरी शेयर होल्डर छन् । तर, सामाजिक रुपमा छत्रबहादुरले गिरीबन्धु टी–स्टेटलाई एकलौटी जस्तै बनाएका छन् । पीडितले २०४० सालदेखि कम्पनीको आम्दानी समेत खोजी गरेका छन् । उनीहरूले छत्रबहादुरले एकलौटी रुपमा आम्दानी चलाइरहेको बताएका छन् । पीडित परिवारले २०४० सालदेखि हालसम्म छत्रबहादुर गिरीले कम्पनीलाई पुर्याएको आर्थिक क्षति, हानी नोक्सानी र अन्य गैर कानुनी, अवैध निर्णयहरूका साथै कम्पनीको हित विपरीत गरेका सम्पूर्ण निर्णयहरू छानबिन गरी कानुनी उपचार अवलम्बन गर्न माग गरेको छ । हालसम्म भएको सम्पूर्ण क्षतिको क्षतिपूर्ति छत्रबहादुरको निजी सम्पत्ति, घर घरानाबाट असुल उपर गरिनुपर्ने माग उनीहरूले राखेका छन् ।
यस्तो छ प्रेस विज्ञप्ति :
हामी गिरीबन्धु टी इस्टेट प्रा.लि. (कम्पनी) का संस्थापक शेयरधनी हौँ । यो कम्पनी झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नं. ६ मा मिति २०२०।०४।२७ मा दर्ता भएको र कम्पनीको स्थापना हुँदाका बखत हामी (कृष्णकुमार गिरी, प्रेमकुमार गिरी) र त्रिलोचन गिरी गरी ३ जना मात्र संस्थापक शेयरधनी रही कम्पनी स्थापनाकाल देखि नै चिया बगान सञ्चालन गर्दै आइरहेका थियौँ ।
हाम्रो हजुरबुबा शमशेर गिरीका मूल अंशियारहरू सबैको हिस्सा रहने गरी पटक पटक शेयर पुँजी वृद्धि र बाँडफाँड हुँदै जाँदा २०४० सालमा कम्पनीको कुल ८५२ कित्ता शेयर मध्ये हामी समेतको नाममा २२० कित्ता शेयर भएकोमा हाम्रो २२० कित्ता शेयरको मूल्याङ्कन बापत रु २३,५१,०००।– नगद र राजमार्ग उत्तरबाट नरमकरम मिलाई १०२ बिगाहा जग्गा समेत हामीले चिया उत्पादन गर्ने उद्देश्य राखी दर्ता गर्ने कम्पनीको नाममा नामसारी गरिदिने गरी अलग हुने मिति २०४०।०७।१७ को विशेष साधारण सभाबाट निर्णयसम्म भएको हो । सो निर्णय हालसम्म कार्यान्वयन नभएको र आजका मितिसम्म हाम्रो नाममा रहेको यस कम्पनीको शेयर कुनै पनि ब्यहोराले कसै उपर पनि हक हस्तान्तरण, विक्री, दाखेल खारेज, नामसारी नगरेको अवस्था छ ।
गिरीबन्धु टी इस्टेटमा हाम्रो शेयर २०४०।०७।१७ पूर्वको स्थितिमा कायमै रहेको र कम्पनीमा हाम्रो समेत अधिकार अन्य शेयर होल्डरहरू सरह रहेको अवस्था छ ।
यस स्थितिमा गिरीबन्धु टी इस्टेटका सञ्चालक छत्रबहादुर गिरी समेत अन्य शेयर धनीहरूले २०४० सालदेखि आ–आफूm संलग्न भई एकलौटी रुपमा अवैध र गैर कानुनी ढङ्गबाट कम्पनी सञ्चालन गरिरहनुभएको छ । कम्पनीको हिसाब किताबका साथै मुनाफा, लाभांश समेत हामीलाई नदिएको स्थिति छ । मिति २०४०।०७।१७ गतेको विशेष साधारण सभाको निर्णय कार्यान्वयन नगरी उल्टै हाम्रो जानकारी र सहमति बेगर एकलौटी र मनोगत रुपमा ती जग्गाहरूको नापनक्शा एकीकरण, दाखेल खारेज, दर्ता कित्ता मिलान लगायतका काम कारबाही समेत गरेकोमा हाम्रो तर्पmबाट झापा जिल्ला अदालत समक्ष निजहरू समेत उपर “किर्ते जालसाँज” (मुद्दा नं. ०७८–C४–१४५) र “दूषित कित्ता नक्सा एकीकृत निर्णय, दर्ता बदर, दर्ता कायम, चलन” (मुद्दा नं. ०७८–CP–१०७४) मुद्दा दायर गरिएको छ । ती मुद्दाहरू सम्मानित अदालतमा विचाराधीन अवस्थामा छन् ।
यसै गरी गैर कानुनी रुपमा गिरीबन्धु टी इस्टेट कम्पनी सञ्चालन भइरहेको हुनाले कम्पनी कानुन बमोजिम आवश्यक छानबिन गरी “कम्पनीको हिसाब किताब गरी शेयर लागत समेत अद्यावधिक गरी पाउँ” भनी हामीहरूको तर्पmबाट कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा मिति २०७९।०६।०७ गते (द.नं. ६२०) मा उजुरी दर्ता गराई कारबाहीको अवस्थामा छ र उक्त कार्यालयबाट २०७९।११।२९ गते कम्पनीमा हाम्रो शेयर कायम रहेको र जग्गा समेत हाम्रो नाममा नामसारी नगरिदिएको वास्तविक कुरालाई आधार लिएर कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाडौँले कम्पनी सञ्चालन र हिसाब किताब समेतको विषयलाई लिएर ६ बुँदे आदेश समेत जारी गरेको अवस्था छ ।
यसरी लगातार पूर्ण सञ्चालनमा रहिरहेको गिरीबन्धु टी इस्टेटको फ्याक्ट्री विगत ७–८ वर्षदेखि बन्द गराई छत्रबहादुर गिरीले कम्पनीबाट उत्पादन भएको कच्चा पदार्थ (हरियो पत्ती) आफ्नो र आफ्ना छोराहरूको मात्र स्वामित्वमा रहेको शमशेर एन्ड गङ्गादेवी टी कम्पनीमा प्रशोधन गराई आफ्नो व्यक्तिगत लाभको लागि गिरीबन्धु टी इस्टेट कम्पनी र सोका अन्य सम्पूर्ण शेयर धनीहरूलाई ठुलो आर्थिक क्षति पु¥याई हिसाब किताब, मुनाफा, लाभांश समेत नदिएको अवस्था छ । यसरी २०४० सालदेखि नै कम्पनीमा आप्mनो मनोमानी गरी कम्पनीको साधन, स्रोत र सम्पत्ति दुरुपयोग गरी, रकम अपचलन गरी आफ्ना भाइबन्धुहरूलाई नोक्सान पारी छत्रबहादुर गिरीले निजी फाइदा उठाइरहेको कुरा समेत जानकारी गराउन चाहन्छौँ ।
विगत ३–४ वर्षदेखि छत्रबहादुर गिरीले यस गिरीबन्धु टी इस्टेटको सम्पूर्ण जग्गा विक्री गर्ने भनी बिर्तामोडका ३–४ जना जग्गा एजेन्ट (दलाल) हरू लगाई सो जग्गामा लगानी गरेमा करोडौँ फाइदा हुने भनी सोझा साधा सर्वसाधारण मानिसहरूका साथै व्यापारीहरूबाट समेत करोडौँको रकम बैना समेत गरी ठुलो रकम करिब २५-३० करोड रुपैयाँ उठाएको बुझिएको छ । यसरी उठाएको रकमको जिम्मेवार छात्रबहादुर गिरी स्वयं र निजका जग्गा एजेन्टहरू नै हुनेछन् ।
यदि गिरीबन्धु टी इस्टेटको नामबाट यसरी रकम उठाएको भएमा यसको दायित्व कम्पनीमा नरहने र निज छत्रबहादुर गिरीले अनधिकृत र गैर कानुनी रुपमा उठाएको रकम र गरेको खर्च तथा घाटा भएको रकमको समेत जिम्मेवार छत्रबहादुर गिरी नै हुने कुराको जानकारी गराउँछौँ । साथै छत्रबहादुर गिरी र निजका जग्गा एजेन्ट (दलाल) हरुको प्रलोभनमा परि जग्गाको बैना बापतको रकम बुझाउनुहुने सम्पूर्ण महानुभावहरू तथा व्यवसायीहरू समेत आफूले बुझाएको रकमको जबाफदेही आफू स्वयं हुनुपर्नेछ । कम्पनीको यस लेनदेनप्रति कुनै उत्तरदायित्व रहने छैन ।
यसरी कम्पनीको शेयर तथा चल अचल सम्पत्तिको विषयलाई लिएर मुद्दा परिरहेको र उक्त मुद्दामा भएको आदेश बमोजिम कार्य गर्नुपर्नेमा यस कम्पनीको विषयमा थप कलुषित भावना लिई हाम्रो समेत हक रहेको कम्पनी एकलौटी पार्ने कलुषित मनसायले हामीहरू तथा कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाडौँ समेत उपर झूटा अफवाह फैलाउने, अनर्गल आरोप लगाउने, विभिन्न निकायमा उजुरी दिने जस्ता कार्य गरेको तथा कम्पनीमा भइरहेको अवैध र अनधिकृत कार्य लुकाई छिपाई हामीलाई हाम्रो कानुनी अधिकार तथा आर्थिक अधिकारबाट वञ्चित गराउने नियतका साथ निज छत्रबहादुर गिरी अगाडि बढेको साथै सर्वसाधारणबाट रकम उठाएको तथा कम्पनीको सम्पत्ति हिनामिना गरेको कारण सर्वसाधारण सबैमा जानकारी होस् भनी यो प्रेस विज्ञप्ति जारी गर्नुपरेको अवस्था रहेको छ ।
मिति २०४० सालदेखि हालसम्म छत्रबहादुर गिरीले कम्पनीलाई पु¥याएको आर्थिक क्षति, हानी नोक्सानी र अन्य गैर कानुनी, अवैध निर्णयहरूका साथै कम्पनीको हित विपरीत गरेका सम्पूर्ण निर्णयहरू छानबिन गरी कानुनी उपचार अवलम्बन गरी हालसम्म भएको सम्पूर्ण क्षतिको क्षतिपूर्ति निजको निजी सम्पत्ति, घर घरानाबाट असुल उपर गरिने व्योहोरा जानकारी गराइन्छ । यस विषयमा सर्वसाधारण सबैलाई सचेत रहन समेत अनुरोध गर्दछौँ ।
प्रेम कुमार गिरी/ कृष्ण कुमार गिरी
शेयरधनी सदस्यहरूगिरीबन्धु टी इस्टेट प्रा.लि.
बिर्तामोड–६, झापा