निताई आयुर्वेदिकमा उपचार गराएका श्रेष्ठको हात काटियो

झापा । उपचारका लागि निताई आयुर्वेदिक उपचार केन्द्रमा आएका एक व्यक्तिको सही उपचार हुन नसक्दा बायाँ हात गुमाउनु परेको तथ्य फेला परेको छ ।
बिर्तामोड नगरपालिका–४मा सञ्चालनमा रहेको निताई आयुर्वेदिक उपचार केन्द्रमा उपचार गराएका दीपेश श्रेष्ठले सही उपचार नपाएर बायाँ हात गुमाउनु परेको हो । उनको हात काटिएसँगै निताई आयुर्वेदिक उपचार केन्द्रका सञ्चालक अजय राजवंशीले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने सहमति गरेका छन् ।
हिलिहाङ गाउँपालिका–७ निवासी १६ वर्षीय श्रेष्ठ हाल बिर्तामोड बसोबास गर्दै आएका छन् । गत फागुनमा ढोकामा हात ठोक्किएपछि एक्स–रे गर्न उनी न्यू हिमालय एक्स–रे र मेडिकल सञ्चालकको सल्लाह अनुसार उपचारका लागि श्रेष्ठ निताई आयुर्वेदिक उपचार केन्द्र गएको बताइएको छ ।
उपचारका लागि भाइलाई फागुन २४ गते निताई आयुर्वेदिक उपचार केन्द्र लगियो– दीपेशका दाजु सन्दीप श्रेष्ठले भने– निताई आयुर्वेदिक उपचार केन्द्रमा औषधि उपचार गरेर घर फर्किएपछि भाइको हातमा झन् समस्या आयो र उपचारका लागि पुनः आयुर्वेद केन्द्र नै लगियो तर त्यहाँ उपचार सम्भव नभएपछि बीएण्डसी अस्पताल पु¥यायौं । बीएण्डसीका डाक्टरले समेत भाइको उपचारमा समस्या देखिएपछि काठमाडौँस्थित कीर्तिपुर अस्पताल पु¥याएपछि थाहा भयो, भाइको हात कुइनाभन्दा तल काम नलाग्ने भएको रहेछ र काट्नुपर्ने भयो ।
हाल दीपेशलाई काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा राखेर उपचार गराइरहेको सन्दीपको भनाइ छ । भाइको उपचारमा समस्या देखिएपछि निताई आयुर्वेदिक उपचार केन्द्रका सञ्चालकलाई भन्यौँ र बाँकी सबै उपचार आफैँ गरिदिने सहमतिसहितको कागज गरिएको छ– श्रेष्ठले भने । सहमतिमा राजवंशीले बिरामीको सबै उपचार खर्च र बिरामी कुरुवाको खाँदा बस्ता लाग्ने खर्च समेत व्यहोर्ने भनेका छन् ।
यता निताई आयुर्वेदिक उपचार केन्द्रका सञ्चालक राजवंशीले आफूले श्रेष्ठको उपचार गरेको र उपचारका क्रममा त्रुटि भएको स्वीकारेका छन् । उनले बिरामीको उपचारका लागि आफूले सहयोग गरिरहेको समेत बताए । उनले श्रेष्ठको उपचारमा समस्या देखिएपछि मिलापत्र गरेको समेत बताए । तर, राजवंशीले जिल्ला अदालत झापामा श्रेष्ठलाई मुद्दा हालेको बताइएको छ । आफूलाई करकापमा पारेको भन्दै राजवंशीले श्रेष्ठलाई मुद्दा हालेका थिए । तर, अदालतमा दुवै पक्षबीच आइतबार मिलापत्र भएको छ ।
यता राजवंशी र श्रेष्ठ बीचको विवाद मिलाउन न्यूहिमालय एक्स–रेका सञ्चालकले पहल गरिरहेको बुझिएको छ । उनले आफ्नै सिफारिसमा श्रेष्ठ निताई आयुर्वेदिक उपचार केन्द्र लगिएको र उनको उपचार सफल नभएपछि विवाद मिलाउन पहल गरिरहेको बताए । मेडिकल सञ्चालकले अन्य धेरै बिरामी निताई आयुर्वेदिक उपचार केन्द्र पठाउने गरेको र धेरैको यस्तै समस्या आए पनि भित्रभित्रै मिलाउँदै आएको बताइएको छ । बिर्तामोडमा सञ्चालित निताई आयुर्वेदिक उपचार केन्द्रमा धेरै बिरामीले हैरानी खेप्दै आएको स्थानीयको भनाइ छ ।