बिर्तामोडमा शृङ्खलाबद्ध चोरीका घटना, व्यवसायी आतंकित
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका क्षेत्रभित्र चोरीका घटना दिनहुँ बढिरहेको छ । केही समययता बिर्तामोडका व्यापारीहरूलाई चोरले हदैसम्म दुख दिइरहेका छन् ।
शनिवार बिहान बिर्ताबजार प्रहरी चौकी नजिकै रहेको खनाल स्टोरबाट ८ वटा ग्यास सिलिन्डर चोरी भएको छ । बिहान ३ः४२ देखि ४ः२० सम्मको समयमा ८ वटा ग्याससहितको मेची र पाथीभरा कम्पनीका सिलिन्डर चोरी भएको सञ्चालक श्री खनालले जानकारी दिए । उनका अनुसार सीसी क्यामेरामा दुई जना व्यक्ति देखिएका छन् । खनाल स्टोर नजिकै अटोमा ग्यास सिलिन्डर राखेर लगेको क्यामेराबाट देखिएको उनले जानकारी दिए । ग्यास सिलिन्डर चोरी भएको घटना बारे इप्रका अनारमनीमा उजुरी गरिएको छ । चोरीमा संलग्नहरूले सेतो वस्त्र लगाएको क्यामेरामा कैद भएको छ ।
यस्तै, दृष्टि आँखा अगाडि रहेको पसलबाट पनि सिलिन्डर चोरी भएको थियो । सुमन राजवंशीको पसलबाट सिलिन्डर चोरी भएको बताइएको छ ।
बिर्तामोडको पुरानो भद्रपुर रोडमा रहेको लक्ष्मी नारायण स्टोरबाट असार १४ गते १० वटा सिलिन्डर चोरी भयो । सञ्चालक खगेन्द्र चापागाईँको स्टोरबाट फलामे साङ्ली काटेर ग्यास लगिएको थियो । ११ बजे पछि रातीको समयमा अटोमा राखेर ग्यास सिलिन्डर लगिएको क्यामेरामा कैद भएको छ । उनले प्रहरी चनाखो भए चोरीको घटना न्यूनीकरण हुने बताएका छन् । प्रहरीले ९ बजेपछि पसल बन्द गराउन साइरन बजाउँछ, त्यसपछिको काम सकियो जस्तो गर्न हुँदैन, उनले भने – राती प्रभावकारी गस्ती गर्नुपर्छ । उनले पनि प्रहरीमा चोरी कार्यमा संलग्नहरूको खोजी गरी कारबाही गर्न प्रहरीमा उजुरी दिएका छन् ।
एक महिनाअघि शनिश्चरे रोडमा रहेको विष्णुलक्ष्मी इन्टरप्राइजेजबाट ६ वटा सिलिन्डर चोरी भयो । कोशी कम्पनीको ग्यास त्यसैगरी फलामे साङ्लो काटेर चोरी भएको चापागाईँले जानकारी दिए । ग्यास भरिएका सिलिन्डर श्रृंखलाबद्ध रुपमा चोरी भइरहेको व्यवसायीहरूले जानकारी दिएका छन् ।
बिर्तामोडका पुराना ग्यास व्यवसायी देवेन्द्र आचार्यले ४-५ महिनादेखि बिर्तामोड क्षेत्रमा ग्यास सिलिन्डर चोरी भइरहेको बताउँछन् । उनका अनुसार यहाँ चोरी गरिएका ग्यास अन्यत्र लगेर विक्री गर्ने सम्भावना धेरै छ । कञ्चनजंगा बोर्डिङ , मातामन्दिर क्षेत्रबाट पनि ग्यास सिलिन्डर चोरी भएका छन् । उनले कोही कसैले ग्यास विक्री गर्दै आएमा प्रहरीलाई खबर गर्न आग्रह समेत गरेका छन् । चोरीका घटना भएपछि प्रहरीमा निवेदन दिने काम भइरहेको आचार्यको भनाई छ । उनले भने – प्रमाण नभेटिए पछि प्रहरीले पनि केही गर्न सकिरहेको छैन ।
बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईँले ढलको ढकन पनि चोरी भइरहेको जानकारी दिए । बिर्तामोडको कृष्ण हल क्षेत्रको ३ वटा र बुधबारे बजार, कृषि थोक आसपासबाट ५ वटा फलामे ढकन चोरी भएको बताए । उनले ढकन उक्काइएको ठाउँमा राती सवारी दुर्घटना हुन सक्ने भएकाले रड लगाइएको बताए । ‘ढकन खोलेर चोरी गर्ने काम भइरहेको छ, उक्त स्थानहरूमा दुर्घटनाको जोखिम पनि छ’ प्रसाईँले भने – फलामको ढकन विक्रीका लागि खोलिएको हुन सक्छ । त्यसको पहिचानका लागि प्रहरीलाई खबर गरिएको छ ।
बिर्तामोडका डिएसपी सुरज कार्कीले सिलिन्डर चोरीमा संलग्न भएको आशङ्का तीन जना युवालाई नियन्त्रणमा लिएको जानकारी दिए । उनीहरूलाई अतिथि सदन रोड क्षेत्रबाट सिलिन्डर बोकेर विक्रीका हिँड्दै गर्दा नियन्त्रणमा लिएको बताए । व्यापारीबाट खबर आएपछि प्रहरीले उनीहरूलाई सिलिन्डरसहित नियन्त्रणमा लिएको छ । डिएसपी कार्कीका अनुसार तीन युवालाई सोधपुछको काम भइरहेको छ । सबै पसलको ग्यास चोरीमा संलग्नहरूको खोजी कार्य जारी रहेको उनले बताए ।