बैङ्कको कर्मचारी हुँ भन्दै अनलाइन मार्फत ठगी गर्ने व्यक्ति पक्राउ
झापा । विभिन्न बैङ्कको कर्मचारी हुँ भन्दै अनलाइन मार्फत ठगी गरेको अभियोगमा मोरङ धनपालथान गाउँपालिका- १ घर भएका २१ वर्षीय महमद जोजाहीद मियालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पीडितहरूसँग फोन सम्पर्क गरी विभिन्न बैङ्कको आधिकारिक कर्मचारी हुँ भन्दै बैक खातासँग वालेट आइडी लिङकअप गरी खाता नवीकरण, केवाइसी फर्म अपडेट, सेक्यूर ट्रान्सफर चार्ज नलाग्ने, राम्रो बोनस प्राप्त हुने जस्ता कार्य गरिदिने भन्दै पीडितहरूकै बैक खाता लगायत ओटिपी कोडसमेत मागी खातामा पहुँच पुर्याई अन्यत्र बैङ्क खाता तथा वालेटहरूमा ११ लाख १२ हजार ८ सय ४० रुपैयाँ रकम रकमान्तर गरी ठगी गर्ने कार्यमा उनी संलग्न देखिएको प्रहरीले जनाएको छ ।
उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागी जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको छ ।