२०८१ कार्तिक २८ गते , बुधबार

पूर्वका नाकाबाट भारतीय कुखुराको तस्करी, १३९ कुखुरा जीपसहित नियन्त्रणमा

sajilo news
झापा
२०८० असार २५ गते , सोमबार
पूर्वका नाकाबाट भारतीय कुखुराको तस्करी, १३९ कुखुरा जीपसहित नियन्त्रणमा

नेपाली बजारमा कुखुराजन्य बस्तुको मूल्य बढेपछि भारतीय प्रतिबन्धित अवैध कुखुराको तस्करी बढेको छ । रोग परीक्षणबिना भारतबाट दिनहुँ ब्रोइलर कुखुरा भित्रिँदा मानव स्वास्थ्यमा असर पर्ने सम्भावना उच्च रहेको सरोकार राख्ने निकायले बताएका छन् ।

भारतसँग सिमाना जोडिएका झापा, मोरङ र सुनसरीका विभिन्न नाका हुँदै कोशी प्रदेशका साना तथा ठुला सहरहरुमा प्रतिबन्धित भारतीय कुखुराको अवैध आयात हुँदै आएको जिल्ला कुखुरा व्यवसायी संघ झापाले जनाएको छ । संघका झापा सदस्य घनश्याम निरौलाका अनुसार ब्रोइलर कुखुराको तयारी मासु, जिउँदो कुखुरा र अण्डा नेपालमा अवैध रुपमा भित्रिँदै आएको छ ।

नेपाली बजारमा कुखुराको मूल्य बढेको मौका छोपेर बिचौलियाहरूले भारतबाट अवैध रूपमा कुखुरा भित्र्याउने गरेका छन् । तस्करहरूले नेपालकै कुखुरा भएको दाबी गर्छन् । यद्धपी झापा, मोरङ र सुनसरी हुँदै यी जिल्लाका नाकाबाट अवैध रुपमा निकासी हुने ब्रोइलर कुखुरालाई वैधानिकता प्रदान गर्न बिचौलियाले फर्जी विल नियमनकारी निकायलाई देखाउने गरेका छन् ।

भारतबाट नेपाल भित्र्याउँदा साईकल र मोटर साइकलमा उभिन्डो पारेर अवैध आयात गरिएका कुखुरा नेपाल सम्म आइपुग्दा शिथिल र घाइते अवस्थाको हुने गरेको पशु क्वारेनटाइन विराटनगरले जनाएको छ । क्वारेन्टाईनका सूचना अधिकारी समेत रहेका पशु चिकित्सक अरविन्द कुमार राजधोवीले दुर्गन्धित, घाइते र शिथिल अवस्थाका कुखुरा जन्य बस्तुको उपभोग मानव स्वास्थ्यका लागि हानिकारक हुने बताए । भारतसँग सिमाना जोडिएका झापा, मोरङ र सुनसरीका दक्षिणी इलाकाबाट तस्करहरूले ल्याएका कुखुरा पनि नेपालकै कुखुरा भएको दाबी गर्ने गरेका छन् । तस्करले अवैध बस्तुलाई वैधानिकता दिन हरतरहको कागजी विल भरपाई मिलान गर्ने गरेका छन् ।

नेपालको तुलनामा भारतीय सरकारले दिएको सुविधाका कारणले सस्तोमा उत्पादन भएका भारतीय उत्पादन सँग नेपाली उत्पादनले मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने व्यवसायीले बताउँदै आएका छन् ।स्थानीय व्यवसायीहरूले पालेका कुखुरा बिक्री गर्दा भारतबाट अवैध रूपमा भित्र्याउने तस्करहरूले सस्तो मूल्यमा बिक्री गरिदिँदा नेपाली व्यवसायी मर्कामा परेको जिल्ला कुखुरा उत्पादक व्यवसायीक संघ झापाका अध्यक्ष विवेक निरौलाले बताए ।

भारतबाट अवैध रूपमा आयात हुने कुखुरामा बर्डफ्लूको सम्भावना बढी हुने भएकाले नेपाली कुखुराको मासु नै सेवन गर्न चिकित्सकले सल्लाह दिएका छन् । भारतबाट बिना परीक्षण अवैध आयात गरिने भारतीय कुखुराको मासु नखान दमक नगरपालिकाका प्रमुख राम थापाले नगरवासीमा आग्रह गरेका छन् ।

भारतीय र नेपाली उत्पादनका कुखुरामा प्रस्ट भिन्नता हुने नेपाली व्यवसायीले बताए । भारतीय कुखुरा ‘कब’—४०० जातको हुन्छ । यो जात भारतीय नै हो । भारतीय ब्रोइलरको पहेँलो खुट्टा हुने, छातीमा मासु कम र अग्लो प्रकृतिको हुने हुन्छ । यता नेपालमा उत्पादन हुने कुखुरा अमेरिकी नस्लको ‘कब’ ५०० जातको हुन्छ । नेपालका उत्पादन भएका कुखुराको छातीमा मासु धेरै हुने र चेप्टो प्रकृतिको हुन्छ । यो कुखुराको कुट्टा सेतो र छोटो हुने गरेको नेपाली पोलट्री व्यवसायीहरूले बताएका छन् ।

यसैबिच भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको प्रतिबन्धित कुखुरा मोरङको रतुवा माईमा बरामद भएको छ । इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीको कमान्डमा परिचालन भएको प्रहरी टोलीले मे १ च १९८१ नम्बरको टाटा पिकअप र १३९ साथ जिउँदो भारतीय कुखुरा बरामद गरेको हो । बरामद गरिएको कुखुरालाई स्थानीय जनप्रतिनिधि, कुखुरा व्यवसायी, प्रहरी र पत्रकारको रोहवरमा नष्ट गरिएको प्रहरी निरीक्षक ढुण्डी गिरीले बताए । बरामद भएका कुखुरा मोरङको डायनिया स्थित सिक्टी नाकाबाट ल्याइएको त्यसमा संलग्न अवैध कारोबारी रमेश भट्टराईले बताए । भट्टराई केही दिन यता भारतीय प्रतिबन्धित कुखुराको अवैध आयात गर्ने र झापा दमकका व्यवसायीलाई नेपालकै ब्रोइलर कुखुरा भएको बताउँदै बिक्री गर्ने गरेका थिए ।

प्रहरीलाई भट्टराईले दिएको बयानका आधारमा स्थानीय सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय रँगेलिबाट खटिएको प्रहरी टोलीले विश्वकर्मा गाउँमा लुकाई छिपाई भारतीय कुखुराको भण्डारण गरेको फेला पारेको थियो । रहमान पोलट्री फार्मका सञ्चालक नविहसन मियाले ती कुखुरा भारतबाट साईकल र मोटर साइकलमा अवैध तस्करी गरी ल्याएका तस्कर सँग खरिद गरेर झापा, मोरङ र सुनसरीका बजार होटेल सम्म पुर्‍याउने गरेको भट्टराईले प्रहरी सँग बयान दिए। उनका अनुसार प्रतिदिन कम्तीमा १५ वटा पिकअपमा कुखुरा नेपाली बजारमा भित्रिने गरेको छ ।

डायनिया क्षेत्रबाट निकासी हुने अधिकांश कुखुरा भारतीय भएको स्थानीयले बताए । ती कुखुरा रङेली सुनवर्सी हुँदै मोरङको पथरी, उर्लाबारी, मधुमल्ला, दमक सम्म आउने गरेको उनले जानकारी दिए । यता झापाका व्यवसायीले दमक नगर प्रमुख राम थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै स्थानीय स्तरमा भारतीय अस्वास्थ्यकर मासुको बिक्री वितरणमा तत्काल रोक लगाउन माग गरेका छन् । व्यवसायीले त्यसको नियमित अनुगमन गर्न पनि माग गरेका छन् ।

व्यवसायीको ध्यानाकर्षण पत्र बुझ्दै सरोकारबाल निकायका प्रतिनिधि सँगको आकस्मिक बैठकमा नगर प्रमुख थापाले बजारको नियमित अनुगमन र सार्वजनिक सूचना समेत गर्ने निर्णय भएको बताए । नगरको पशु विकास शाखा, खाद्य तथा गुणस्तर शाखा, इलाका प्रशासन कार्यालय दमक, इलाका प्रहरी कार्यालय, स्थानीय पत्रकार सहितको टोलीले दमक बजारको आकस्मिक अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा दमक ७ स्थित नासिर स्टोरमा पुगेको टोलीले भण्डारण गरिएका करिब ४५० ब्रोइलर कुखुरा फेला पारेको थियो । ती कुखुरा आफूले सप्तरीको कठौनाबाट खरिद गरेको उनले दाबी गरे । तर, उनको साथमा खरिद विल र क्वारेनटाइन प्रमाण पत्र नरहेको पशु सेवा कार्यालय दमकका प्राविधिक विपु अधिकारीले बताए । व्यवसायीले भने नासिर स्टोर का प्रोप्राइटर इदिृस सिद्धिकीले भारतीय कुखुराको अवैध कारोबार गर्ने गरेको दाबी गरेका छन् । ‘उनको स्टोरमा भएका कुखुरा घाइते, अशक्त, दुर्गन्धित र ‘कब’ ४०० सँग मिल्ने भएकाले भारतीय नै भएको पुष्टि हुन्छ,’ व्यवसायी जिया मियाँले भने ।

‘उनको स्टोरमा भएका कुखुरा ‘कब’—४०० जातको हो,उर्लाबारीका विके बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक खगेन्द्र लिम्बुले भने ‘यो जात भारतीय नै हो । भारतीय ब्रोइलरको पहेँलो खुट्टा हुने, छातीमा मासु कम र अग्लो प्रकृतिको हुन्छ ।’ यसैबिच आन्तरिक राजश्व कार्यालय दमकले नासिर स्टोरको खरिद र बिक्री विल जफत गरेर अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित समाचार