२०८१ भाद्र २४ गते , सोमबार

वडाको कार्यक्रमले किसान उत्साहित

sajilo news
झापा
२०८० असार १८ गते , सोमबार
वडाको कार्यक्रमले किसान उत्साहित

शिवसताक्षी । वडाको कार्यक्रमले किसान उत्साहित शिवसताक्षीमा चौपाया पाल्ने किसान बिमा र अनुदानको कार्यक्रमले उत्साहित भएका छन् । नगरको वडा नम्बर ६ का किसान वडाले निःशुल्क पशु बिमा कार्यक्रम सञ्चालन गरेपछि उत्साहित देखिएका हुन् । वडाका जनप्रतिनिधि, पशु प्राविधिक, बिमा कम्पनीका कर्मचारी किसानका घरघरै पुगेर पशुको बिमा गरिदिएको वडा सचिव विमल बाँस्कोटाले बताए । उनका अनुसार पशु बिमा गर्ने इच्छुक किसानका लागि वडाले सार्वजनिक सूचना गरेको थियो ।

किसानले वडामा दिएको निवेदनका आधारमा वडापालिका पशुको बिमा गर्न घरघरै गएको उनले बताए । वडा अध्यक्ष मनोज खुलालले तीन वर्ष देखि पशु बिमा कार्यक्रम वडामा सञ्चालन भएको बताए । उनी अघिल्लो कार्यकाल पनि वडाका अध्यक्ष हुन् । ०७७ देखि सुरु भएको यो कार्यक्रममा पहिलो वर्ष १ लाख विनियोजन गरेर कार्यक्रम सञ्चालन भएको वडा अध्यक्षले बताए । वडा मा पशु बिमा कार्यक्रम प्रभावकारी र किसानले राहत महसुस गरेपछि ०७८ र ०७९ मा ५० हजार थप गरेर १ लाख ५० हजार बजेट छुट्ट्याएको उनले जानकारी दिएका छन् । ‘आगामी आर्थिक वर्षमा पनि वडा सिलिङ बजेट घटेपनि यो कार्यक्रमले निरन्तरता पाउने छ,’ उनले भने ।

वडाका ठग बस्ती, शिवगञ्ज बजार, हवल्दार चोक, किसान गाउँ, निपत्रिया, हल्दिबारी, श्रीलङ्का टोल, पुल चोक, सगरमाथा चोक लगायतका बस्तीमा पशु चौपाया पालन व्यवसाय फस्टाएको छ । पहिला एक दुई वटा मात्र पशु पाल्ने किसानका गोठमा यति बेला ५ वटा सम्म पशु देखिएका छन् । गाई, भौसी, कोरली, बङ्गुर, माउ बाख्राको बिमा गर्ने गरिएको वडा अध्यक्ष खुलालले बताए । अघिल्ला तीन वर्षमा बिमा गरिएका करिब ७५ पशु मरेका थिए । ती पशुको बिमा बापतको रकम किसानले पाएको वडा पालिकाले जनाएको छ । ठग बस्तीका कृष्ण बहादुर थापाले भने, वडाले ल्याएको कार्यक्रम प्रभावकारी र किसानलाई राहत हुने देखिएपछि पालिएका पशु मध्ये दुई वटा गाईको बिमा आइतबार गरेको छु ।

यो कार्यक्रमले किसानको लगानी बचाउने रहेछ ।’ पहिला बिमा कार्यक्रम वडाले ल्याउँदा किसानले कुतर्क गर्थे । कतिपयले खिसीट्युरी गर्थे । यति बेला किसान आफै कार्यक्रमबारे बुझ्न वडापालिका आउन थालेको वडाकी कर्मचारी अनिता चौधरीले बताइन् । वडाका २सय ५० किसानका कम्तीमा ४ सय पशुको बिमा गर्ने लक्ष्य राखिएको वडाले जानकारी दिएको छ । त्यसका लागि वडाले बिमा कम्पनीलाई एक मुष्ठ १ लाख पचास हजार भुक्तानी दिने छ । वडाकी महिला सदस्य गोमा रिजाल पनि कार्यक्रम बारे सन्तुष्ट छन् । उनले पशु बिमा कार्यक्रम नगरका अन्य वडा मध्ये ६ नम्बर वडामा अधिकतम प्रभावकारी भएको प्रतिक्रिया दिइन् । ‘यो कार्यक्रमले वडाका अधिकांश किसान निक्कै खुसी देखिएका छन । किसान नै हाम्रा मतदाता हुन् । उहाँहरू खुसी देखिएपछि हामी वडा पालिकाका टिम त त्यसै खुसी भइहाल्ने भयौ नी्,’ उनले भनिन् ।

सम्बन्धित समाचार