२०८० मंसीर १६ गते , शनिबार

भद्रपुरमा हर्षोल्लासका साथ मनाइयो धान दिवस

sajilo news
झापा
२०८० असार १५ गते , शुक्रबार
भद्रपुरमा हर्षोल्लासका साथ मनाइयो धान दिवस

भद्रपुर । ‘जल वायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ भद्रपुरमा २० औं राष्ट्रिय धान दिवस हर्षोल्लासका साथ मनाइएको छ । 
यो वर्ष कृषि ज्ञान केन्द्र झापाले धान दिवस नमनाए पनि भद्रपुर नगरपालिकाको कृषि विकास राष्ट्रिय धान दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् । कृषि शाखाले भद्रपुर–१ स्थित दशरथपुर चोकमा राष्ट्रिय धान दिवस हर्षोल्लासका साथ मनाएका हुन् । 
भद्रपुर १ का वडा अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले संयुक्त रुपमा धान रोपेका थिए ।  साथै कार्यक्रममा सहभागीहरूले पञ्चे बाजा बजाउँदै नाच्दै समेत धान रोपेका थिए ।

 रोपाइँसँगै हिले दौड र हिले रस्सी तानातान कार्यक्रम पनि गरिएको थियो । हिले दौडमा महिलातर्फ मनिका राजवंशी प्रथम, पुरुषतर्फ रितेश भट्टराई प्रथम र हिले रस्सी तानातानमा सहभागी सबै महिलाहरूलाई पुरस्कृत गरिएको कृषि विकास शाखाका प्रमुख नवीन कुँवरले जानकारी दिए । 
कृषि विकास शाखाको सहकार्यमा धान बाली पकेट विकास कार्यक्रम अन्तरगत नमुना धान पकेट समन्वय सञ्चालन समितिले कार्यक्रम पारेको हो ।  ५ वटा कृषक समूहले सो कार्यक्रमका लागि २१ लाख ४१ हजार ८ सय कुल लागत राखेकोमा नगरपालिकाबाट १२ लाख ४ हजार ४ सय र कृषक समूहबाट ९ लाख ३७ हजार ४ सय रुपैयाँ बेहोरिएको समितिका अध्यक्ष तुलसा थापाले जानकारी दिइन् ।  यता कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार झापामा करिब २० प्रतिशत रोपाई भएको जानकारी दिए ।  ९८ हजार ७१६ हेक्टर जमिनमध्ये करिब १७ हजार हेक्टर जमिनमा धान रोपाई भइसकेको छ ।  १५ वटा पालिकामध्ये कचनकवल, गौराहद र कमलमा बढी रोपाई भएको उनले बताए । झापा अघिल्लो आर्थिक वर्षमा ४ लाख २३ हजार ९६६ मेट्रिक टन धान उत्पादन भएको जनाइएको छ ।       

सम्बन्धित समाचार