२०८० मंसीर १६ गते , शनिबार

आज २० औं राष्ट्रिय धान दिवस, कोशी प्रदेशमा १६ .९६ प्रतिशत रोपाइँँ

sajilo news
पार्थ मण्डल
२०८० असार १५ गते , शुक्रबार
आज २० औं राष्ट्रिय धान दिवस, कोशी प्रदेशमा १६ .९६ प्रतिशत रोपाइँँ

झापा । आज (असार १५) २० औं राष्ट्रिय धान दिवस । यो वर्ष ‘‘जल वायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’’ भन्ने नाराका साथ देशभर राष्ट्रिय धान दिवस मनाइँदैछ । 
राष्ट्रिय धान दिवस मनाउन कोशी प्रदेशका १४ वटै जिल्लामा धान रोपाइँको तयारी लगभग पूरा भइसकेको कृषि विकास निर्देशनालय विराटनगरका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिए । 
असार १३ गतेसम्म कोशी प्रदेशमा १६ दशमलव ९६ प्रतिशत धान रोपाइँभएको छ । अघिल्लो वर्षको तुलनामा एक प्रतिशत कम रोपाइँ भएको जिल्लागत तथ्याङ्कले देखाएको प्रमुख डाँगीले बताए । ‘कृषि ज्ञान केन्द्रहरूबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म कुनै पनि जिल्लामा रोपाइँ गर्न समस्या देखिएको छैन, निर्देशनालय प्रमुख डाँगीले भने, ‘सुख्खा मौसमका कारण अघिल्लो वर्ष रोपार्इँमा समस्या देखिएको थियो, यस बर्ष बेलैमा पानी परेकोले उत्साहपूर्वक धान दिवस मनाउन सबै जिल्लामा तयारी पूरा भइसकेको छ ।’   
सबैभन्दा बढी रोपाइँ पहाडी जिल्ला सोलुखुम्बु र कम उदयपुरमा भएको छ । हालसम्मको रोपाइँ तथ्याङ्क अनुसार सोलुखुम्बुमा ३५ प्रतिशत, उदयपुरमा ३ प्रतिशत, धनकुटामा ५ प्रतिशत, ताप्लेजुङमा ३७ प्रतिशत, सङ्खुवासभामा १० प्रतिशत, पाँचथरमा २५ प्रतिशत, इलाममा २० प्रतिशत, भोजपुरमा ३४ दशमलव ३९ प्रतिशत, तेह्रथुममा ३० प्रतिशत, ओखलढुङ्गामा १० प्रतिशत, खोटाङमा १४ प्रतिशत, झापामा १८ प्रतिशत, मोरङमा १० प्रतिशत र सुनसरीमा २० प्रतिशत भएको कृषि प्रचार अधिकृत अभिमन्यु अधिकारीले जानकारी दिए । 
‘पहाडी क्षेत्रमा असार लागेदेखि नै रोपाइँ सुरु भएकोले पहाडी जिल्लाहरूमा रोपाइँ प्रतिशत बढेको हो,’ कृषि प्रचार अधिकृत अधिकारीले भने, ‘तराईका जिल्लाहरूमा ढिलो गरी पानी परेकोले रोपाइँ प्रतिशत कम भएको हो, असार १५ पछि प्रतिशत बढ्नेछ ।’ ‘अघिल्लो वर्ष जस्तो यस वर्ष कृषकलाई सहुलियत र अनुदानमा दिने रासायनिक मलको अभाव छैन,’ अधिकारीले भने । 
कोशी प्रदेशमा रासायनिक मल ६५ हजार मेट्रिक टन युरिया, २२ हजार मेट्रिक टन डिएपी र १७ हजार मेट्रिक टन पोटास माग रहेको छ । 
‘३२ हजार मेट्रिक टन युरिया, १६ हजार मेट्रिक टन डिएपी र १३ हजार मेट्रिक टन पोटास कोशी प्रदेशमा आए यहाँका कृषकहरूलाई पुग्छ,’ कृषि प्रचार अधिकृत अधिकारीले भने, ‘अहिलेसम्म ४३ हजार मेट्रिक टन युरिया, १४ हजार मेट्रिक टन डिएपी र १ हजार १७६ मेट्रिक टन पोटास कृषकलाई वितरण गरिसकेका छौँ ।’ 
रोपाईका लागि भर्खरै कृषि सामग्री कम्पनीमा ५ हजार ५४३ मेट्रिक टन र साल्ट टे«डिङमा ४ हजार ८४२ मेट्रिक टन डिएपी मल आएको छ । १० देखि १५ दिनभित्र कोशीमा थप मल आउने उनले बताए । 
धान उत्पादन बढाउन कृषि ज्ञान केन्द्र, स्थानीय सरकारमार्फत कृषकलाई विभिन्न प्रोत्साहनसहितको कार्यक्रम गर्दै आइरहेको उनको भनाई छ । यस प्रदेशमा आर्थिक वर्ष २०७८÷०७९ मा ३ लाख ३६ हजार १२३ हेक्टर जमिनमा १२ लाख ८२ हजार ५७३ मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । सबै भन्दा बढी धान उत्पादनमा झापा जिल्लामा ४ लाख २३ हजार ९६६ मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्कले देखाएको छ ।        

सम्बन्धित समाचार