२०८३ बैशाख ३ गते , विहीबार

मेचीनगरको बजेटमा बेथिति : गाडी राख्ने टहरा बनाउन ४० लाख, इन्धन खर्चमा ७६ लाख

sajilo news
झापा
२०८० असार १४ गते , विहीबार
मेचीनगरको बजेटमा बेथिति : गाडी राख्ने टहरा बनाउन ४० लाख, इन्धन खर्चमा ७६ लाख

मेचीनगर । मेचीनगर नगरपालिकाले फजुल खर्चमा ठुलो बजेट खन्याएको पाइएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को प्रस्तावित बजेटमा नगरपालिका कार्यपालिकाको कार्यालय चिया, नास्ता र अतिथि सत्कार शीर्षकमा १५ लाख रुपैयाँ छुट्टाइएको छ । हरेक त्रैमासिकमा ३ लाख ७५ हजार रुपैयाँ निकासा हुने गरी वार्षिक १५ लाख रकम छुट्टाइएको हो ।

यसैगरी, नगरपालिकाभित्र गाडी व्यवस्थापनका लागि सैड (टहरा) तथा अपुग कोठा निर्माणका लागि बजेटमा ४० लाख रुपैयाँ छुट्टाइएको छ । नगरपालिकासँग नगरप्रमुख र उपप्रमुखको बेग्लाबेग्लै सवारी साधन छ भने अन्य सवारी तथा मेशिनरी गाडीहरू छन् । दमकल लगायतका अधिकांश साधनको राख्ने ठाउँ पहिल्यैदेखि छ ।

स्रोतका अनुसार नगर प्रमुख र उपप्रमुखको गाडी राख्न यो टहरा बनाउन लागिएको हो । तर, टहरो बनाउनै पर्थ्यो भने बजेट घटेको अहिलेको बेला ४० लाखकै बनाउन उपयुक्त थिएन । नाम उल्लेख नगर्ने सर्तमा एक वडाध्यक्षले यस्ता फजुल खर्च नगरौँ भन्ने आवाज कार्यपालिका र नगर सभा भित्र सुनुवाइ नभएको बताए । सवारी साधनको इन्धन र मर्मत खर्चमा समेत नगरपालिकाको बजेट धेरै खर्च भएको देखिएको छ । प्रस्तावित बजेटमा इन्धन खर्च ७६ लाख रुपैयाँ छुट्टाइएको छ ।

\बजेटमा नगर प्रमुख, उपप्रमुख र कार्यपालिका सदस्यका लागि इन्धनको बेग्लै शीर्षकमा ३० लाख रुपैयाँ, कार्यालय प्रयोजनको बेग्लै इन्धनमा ४० लाख रुपैयाँ र अन्य प्रयोजनको इन्धनमा ६ लाख रुपैयाँ विनियोजन गरिएको पाइएको छ । मेचीनगर नगरपालिकाले सङ्घीय र प्रदेश सरकारबाट नै घटेर अनुदान आएको, आन्तरिक श्रोतबाट कम राजस्व उठेको र बजेट नै विगतको तुलनामा घटाउनु परेको तर्क दिँदै मितव्ययिता अपनाउने भन्दै आएको छ । बजेटमा यस्ता कैयन विषय छन्, जसले नगरपालिकाको मितव्ययिताको नारा व्यवहारमा उत्रिने सम्भावना देखिँदैन ।

सम्बन्धित समाचार