आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दै
काठमाडौं । आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन्। आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहले बजेट आज सार्वजनिक गर्न लागेका हुन्।
७ सय ५३ पालिका मध्ये केहीले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ।
स्थानीय तहको आगामी आव २०८०/८१ का लागि शनिबारसम्म १२ स्थानीय तहले बजेट पेस गरिसकेका छन्। अब सात सय ४१ स्थानीय तहले बजेट पेस गर्न बाँकी छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहको बजेटको अद्यावधिक अनुसार कोशी प्रदेशका दुई, मधेश प्रदेशका एक, बागमती प्रदेशका दुई, गण्डकी प्रदेशका पाँच सुदूरपश्चिम प्रदेशमा दुई स्थानीय तहले बजेट पेस गरेका छन्।
असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ। चालु आव २०७९/८० का लागि ५२ पालिकाले समयमा बजेट पेस गर्न सकेका थिएनन्।