२०८२ बैशाख १२ गते , शुक्रबार

अर्जुनधाराका कृषकलाई कृषि औजार वितरण

sajilo news
झापा
२०८० असार ९ गते , शनिबार
अर्जुनधाराका कृषकलाई कृषि औजार वितरण

अर्जुनधारा । कृषिमा यन्त्रको प्रयोगबाट आधुनिकीकरण गरी उत्पादनमा वृद्धि गर्ने उद्देश्यले अर्जुनधारा नगरपालिकाले शुक्रबार एक कार्यक्रमका बिच कृषकहरूलाई साना कृषि औजार वितरण गरेको छ ।

अर्जुनधारा नगरपालिकाको प्राङ्गणमा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा उनीहरूलाई उक्त कृषि औजार वितरण गरिएको हो ।

कृषि विकास शाखाका अनुसार चालु आर्थिक वर्ष ०७९/०८०को स्वीकृत योजना अनुसार साना फार्म मेसिनरी साझेदारी कार्यक्रम अन्तर्गत कृषक समूह, सहकारी र कृषि फार्मसहित जम्मा ४४ वटा संस्थालाई ५० प्रतिशत अनुदानमा उक्त औजारहरू वितरण गरिएको हो ।

वितरण गरिएका औजारहरूमा मकै छोडाउने मेसिन (कर्न थ्रेसर) ३२ थान, कुटानी पिसानी मिल (कम्बाइन राइस मिल) ११ थान, मिनी टिलर नौ थान, ब्रस कटर एक थान, पावर टिलर एक थान र हाते धान रोप्ने मेसिन एक थान रहेका छन् । उक्त औजारहरूको कुल लागत १४ लाख सात हजार पाँच सय रुपैयाँ रहेको छ ।

कार्यक्रममा नगर प्रमुख तामाङ, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, शिक्षा, खेलकुद तथा युवा विकास शाखा प्रमुख तोयानाथ रेग्मीलगायतले कृषकहरूलाई औजार वितरण गरेका थिए ।

वितरण गरिएका औजारहरूको कृषकहरूले उपयुक्त किसिमले प्रयोग गरे नगरेको विषयमा नगरपालिकाले अनुगमन गर्ने र दुरुपयोग गरेको भेटिएमा आगामी दिनमा औजार वितरणको कार्यक्रमलाई स्थगित गर्ने प्रमुख तामाङले दाबी गरे । उक्त कार्यक्रमको सञ्चालन शाखाकी प्राविधिक उर्मिला राजवंशीले गरेकी थिइन् ।

 

 

 

सम्बन्धित समाचार