प्रथम ढडुवा गलाउ मेचे कप : भद्रपुरको विजयी सुरुवात
हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका- ३ स्थित ढडुवामा आजदेखि सुरु प्रथम ढडुवा गलाउ मेचे स्मृति कप फुटबलमा भद्रपुरको विशालपुर एफसीले विजयी सुरुवात गरेको छ । आयोजक ढडुवा एफसीविरुद्ध २-१ गोल अन्तरले पराजित गर्दै भद्रपुर क्वाटर फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।
सुरुवाती गोल आयोजक ढडुवाले गरे पनि त्यो अग्रता भने जोगाउन सकेन । खेलको १२औँ मिनेटमा आयोजकका रोमन तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । तर, भद्रपुरका लागि सुशील मगरले खेलको २९औँ मिनेटमा गोल गर्दै बराबरी गरेका हुन् । भद्रपुरको जितका लागि अमल लिम्बू नायक साबित भए । खेलको ५३औँ मिनेटमा आकर्षक गोल गरेका अमल लिम्बू खेलको म्यान अफ दी म्याच पनि बने । उनलाई आयोजकले नगद पुरस्कार प्रदान गरेको छ ।
ढडुवा एफसी हल्दिबारीले आयोजना गरेको प्रतियोगितामा १० टिम सहभागी छन् । भोलि शुक्रबार चन्द्रगढीको ब्रदर्स युनाइटेडले हल्दिबारीको गोलधाप एफसीसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक क्लबका अध्यक्ष टंक लिङदेनको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङदेनले गरेका थिए ।