२०८३ बैशाख ५ गते , शनिबार

वेस्ट इन्डिजसँग १०१ रनले हार्‍यो नेपाल

sajilo news
एजेन्सी
२०८० असार ८ गते , शुक्रबार
वेस्ट इन्डिजसँग १०१ रनले हार्‍यो नेपाल

हरारे । जसोन होल्डरको तीन विकेटप्रेरित वेस्ट इन्डिजले आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह एमा नेपाललाई एक सय एक रनले पराजित गरेको छ। 

हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले ६ विकेट गुमाएर तीन सय ३९ रनको योगफल तयार गरेको थियो। जितका लागि कीर्तिमानी योगफल बनाउनुपर्ने लक्ष्यसहित ब्याटिङमा उत्रिएको नेपालले अपेक्षित प्रदर्शन गर्न सकेन।

ओपनरद्वय कुशल भुर्तेल पाँच तथा आसिफ शेख २८ रनमा पभिलियन फर्के। वान् डाउनमा क्रिजमा उत्रिएका भीम सार्की दुई रनमा सीमित हुँदा कप्तान रोहित पौडेलले ३० रनको योगदान गरे।

पाँचौं नम्बरमा क्रिजमा उत्रिएका आरिफले संयमित ब्याटिङ गर्दै अर्धशतकीय इनिङ खेलेका थिए। नेपालका लागि ९३ बलको सामना गरेका आरिफले चार चौका र एक छक्कासहित ६३ रनको इनिङ खलेका थिए।

तर, अर्को एन्डबाट लगातार विकेट जाँदा नेपालले फराकिलो पराजय टार्न सकेन। आरिफसँग सातौं विकेटका लागि ६८ रनको साझेदारी गरेका गुल्शन झा ४२ रन जोडेर आउट भए। नेपालका लागि २७ बलको सामना गरेका करण केसीले चार चौका र एक छक्कासहित २८ रन जोडे।

त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन। दुई पटकको विश्वकप च्याम्पियन वेस्ट इन्डिजका लागि होल्डरले १० ओभरमा ३४ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै, किमो पौल, अकिल होसेनले दुई–दुई तथा अल्जारी जोसेफले एक विकेट लिए।

वेस्ट इन्डिजका लागि जसोन होल्डर र अकिल होसेन, र अल्जारी जोसेफले दुई–दुई तथा किमो पौल र काइल मेयरले एक–एक विकेट लिए।

पहिलो इनिङमा टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले ६ विकेट गुमाएर तीन सय ३९ रनको योगफल तयार गरेको थियो। बलिङमा राम्रो सुरुआत गरेको नेपालले १६औं ओभरमा वेस्ट इन्डिजका तीन ब्याटरलाई पभिलियन फर्काउँदा ५५ रन मात्रै दिएको थियो।

तर, १७औं ओभरको अन्तिम बलमा विकेटकिपर आसिफ शेखले पुरनको क्याच छोडेपछि वेस्ट इन्डिजले ब्याटिङमा उत्कृष्ट पुनरागमन गर्यो। नेपाली बलिङसामू संघर्षरत वेस्ट इन्डिजका कप्तान होप र पुरनले चौथो विकेटका लागि दुई सय १६ रनको साझेदारी गर्दै वेस्ट इन्डिजको इनिङ्स उकासेका थिए।

ओपनर ब्रान्डोन किङ्ग ३२ रन बनाएर पभिलियन फर्किँदा अर्को ओपनर काइल मेयर एक तथा वान् डाउनमा क्रिजमा उत्रिएका जोन्सोन चार्ल्स शून्यमा आउट भए। क्यारेबियन टिमका लागि शानदार इनिङ्स खेलेका होपले एक सय २९ बलमा १० चौका र तीन छक्का प्रहार गर्दै एक सय ३२ रन जोडे। 

यस्तै, पुरन ९४ बलमा १० चौका र चार छक्कासहित एक सय १५ रन जोडेर आउट भए। रोभ्मन पावेल १४ बलमा तीन चौका र एक छक्कासहित २९ रन जोडेर आउट हुँदा अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन। नेपालका लागि ललित राजवंशीले तीन तथा करण केसी, सन्दीप लामिछाने, गुल्शन झा, दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिएका थिए।

पहिलो खेलमा घरेलु टिम जिम्बाब्वेसँग आठ विकेटले हारेको नेपालले दोस्रो खेलमा अमेरिकाविरुद्ध ६ विकेटको जित निकालेको थियो। सुपर सिक्समा रहँदै विश्वकप छनोटको अर्को चरणमा पुग्न नेपालका लागि शनिबार हुने नेदरल्यान्ड्सविरुद्धको खेल निर्णायक हुनेछ।

जितसँगै वेस्ट इन्डिजल दुई खेलबाट चार अंक जोडेको छ। शनिबार घरेलु टिम जिम्बाब्वे र वेस्ट इन्डिज आमनेसामने हुनेछन्। दश टिम सहभागी प्रतियोगिताका दुई समूहबाट शीर्ष दुई टिम सुपर सिक्समा पुग्ने छन्।
 

सम्बन्धित समाचार